नेपाली कांग्रेस प्रदेश १ को १६ गते हुने अधिवेशनको तयारी तीब्र

November 24, 2021 7:59 pm

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को महाधिवेशनको तयारी थालिएको छ । यस विषयमा अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिले प्रदेश अधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला संयोजक रहेको आयोजक समिति गठन गरेको हो । समितिका सदस्यहरुमा प्रदेश १ भित्रका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, प्रदेशसभा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहने व्यवस्था छ ।

बैठकले पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ । प्रचार समितिका संयोजक तथा कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजिव कोइरालाले पत्रकार सम्मेलन आयोजना गरी अधिवेशन तयारीको विषयमा जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशनको उद्घाटन विराटनगर महानगरपालिका वडा नम्बर २ शंकरपुरस्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको खाली जमिनमा हुनेछ ।

अधिवेशनको उद्घाटन मंसिर १६ गते बिहीबार विराटनगरमा हुने बताउँदै संयोजक कोइरालाले भने, “संघीयतासँगै अब कांग्रेस राजनीतिको नयाँ अभ्यासमा जानेछ । हामीले अधिवेशनको तयारी थालिसकेका छौं ।” अधिवेशन सम्पन्न गर्न आवासलगायत सबै व्यवस्थापनको जिम्मा नेपाली कांग्रेस मोरड जिल्ला समितिको रहने कोइरालाले बताए ।

अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस मोरडका सभापति डिगबहादुर लिम्बू संयोजक र भीम पराजुली सह–संयोजकका साथै केन्द्रीय सदस्यहरु अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ संकलन समिति गठन भएको छ ।

कोइराला संयोजक रहेको प्रचार समितिमा नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिला वल्लभ घिमिरे सदस्य सचिव छन् । यसैगरी सदस्यमा प्रेस युनियन प्रदेश १ का सचिव धनबहादुर पुरी, युनियन मोरङ अध्यक्ष भोजराज बस्नेत, निवर्तमान अध्यक्ष कुमार लुइँटेल र अजित झा छन् ।

व्यवस्थापनको जिम्मा पाएको मोरङ कांग्रेसका सभापति लिम्बूले अधिवेशन सम्पन्न गर्न कम्तिमा एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउँदै भने, “प्रतिनिधिहरुको आवास, खानपानदेखि अन्य खर्चसमेत गर्दा त्यति हुने देखिन्छ । प्रतिनिधिहरुको दर्ता शुल्कबाट ३२ लाखसम्म उठ्न सक्छ ।”

नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश १ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष र संघीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दारले ७०० जना महाधिवेशन प्रतिनिधि मतदाता हुनेछन् ।

यस्तै, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र सो प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्यहरुका साथै भातृ संस्था र शुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका लागि मतदाता रहनेछन् । अधिवेशनमा १७ सय प्रतिनिधिसहित दुई हजार जना सहभागी हुने कोइरालाको भनाई छ ।

          November 24, 2021 7:59 pm | प्रदेश तह,राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: