प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिर्तामोडमा अभिमुखीकरण

November 24, 2021 3:50 pm

बिर्तामोड । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिर्तामोडमा एक दिनको अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

बिर्तामोड नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा आर्थिक वर्ष २०७८–७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत वडागत रुपमा छनोट भएका आयोजनाहरु सञ्चालन सम्बन्धी अभिमुखीकरण गरिएको हो ।

सो अवसरमा बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले नगरभित्रका उद्योग तथा कल कारखानाहरुमा स्थानीय कामदारहरुले काम पाउनुपर्ने धारणा राखेका थिए । भारतबाट आएका मजदुरहरुले काम गरिरहेको भन्दै उनले स्थानीय क्षेत्रमा स्थानीय कामदारहरुले काम पाउनु पर्ने बताए ।

स्थानीयलाई रोजगारी प्रदान गर्न उद्योग तथा कलकारखानासँग समन्वय गर्न सम्बन्धित शाखालाई नगरप्रमुखले निर्देशन पनि दिए । कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले सबै बेरोजगारहरुलाई राज्यले सकेसम्म धेरै रोजगारको व्यवस्था गर्नुपर्ने बताइन् । उनले रोजगारदाताले दिएको काममा सबैले ध्यान दिएर गर्न पनि सहभागीहरुलाई आग्रह गरेकी छन् ।

सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले नेपाल सरकारबाट सञ्चालित योजना तथा कार्यक्रमहरुमा बेरोजगारहरुलाई वर्षमा १०० दिन रोजगारी दिने नीति रहेकोले सोही प्रयोजन अन्तरगत रोजगारसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु नगरका १० वटै वडामा छनोट भइसकेको जानकारी दिए ।

          November 24, 2021 3:50 pm | अर्थतन्त्र,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: