मेचीका चार सर्वोत्कृष्ट करदाता बिर्तामोडमा सम्मानित

November 17, 2021 4:29 pm

झापा । १०औं राष्ट्रिय कर दिवसको अवसरमा झापामा पनि कर सप्ताहको शुभारम्भ गरिएको छ । आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजना र बिर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा आज बुधबार बिर्तामोडमा विशेष समारोह सम्पन्न गरिएको हो ।

बिर्तामोडको मुक्तिचोक परिसरमा आयोजित १०औं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । सो अवसरमा साविक मेची अञ्चलको चारवटा जिल्लाका एक–एक सर्वाधिक करदातालाई सम्मान गरिएको छ । झापाबाट सर्वाधिक करदाताका रुपमा भद्रपुरको साहेवाला ट्रेडिङ प्रालि, इलामबाट फिक्कल उत्तम स्टोर, पाँचथरबाट जय अम्बे ट्रेडर्स एण्ड सप्लायर्स र ताप्लेजुङबाट सलिना सप्लायर्स सम्मानित भएका हुन् ।

ती प्रतिष्ठानका सञ्चालकहरुलाई प्रमुख अतिथि ढकालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । साहेवाला ट्रेडिङका तर्फबाट सञ्चालक अजय साहेवाला, फिक्कल उत्तम स्टोरका तर्फबाट सञ्चालक उत्तम श्रेष्ठ, जय अम्बेका तर्फबाट राजन काफ्ले र सलिना सप्लायर्सका तर्फबाट तीलमाया भट्टराईले सम्मान ग्रहण गरेका थिए । आन्तरिक राजश्व कार्यालय भद्रपुरको सेवाक्षेत्र साविक मेची अञ्चलका चार जिल्ला रहेका छन् ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजालको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले नेपालको राजश्व आयातमा निर्भर रहेकोले आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई बढाउन र आन्तरिक करको दायरा बढाउनुपर्ने आवश्यकता रहेको बताए । उनले राज्य र निजी क्षेत्रबीच सुमधुर सम्बन्धले मात्र देशले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताउँदै राज्यले करको दर र क्षेत्र बढाउनेभन्दा पनि प्रविधिको भरपुर उपयोग गर्दै करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

सञ्चारकर्मी स्वस्तिका आचार्यले सञ्चालन र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले स्वागत गरेको समारोहमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकाल, केन्द्रीय सदस्य हेमराज ढकाल, १ नं. प्रदेश सदस्य कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रममा क्षितिज नाट्य समूहसम्बद्ध क्षितिज संगीत साधना प्रतिष्ठानका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेको थिए ।

सो समारोहमा चारवटै जिल्लाका उद्योग–व्यवसाय सम्बद्ध संघ–संस्थाका पदाधिकारीलगायत उद्योगी–व्यवासयीको उल्लेख्य सहभागिता थियो । समारोह अघि उद्योगी–व्यवसायीहरुको संलग्नतामा बिर्तामोडमा प्रभातफेरी निकालिएको थियो ।

          November 17, 2021 4:29 pm | अर्थतन्त्र,मुख्य समाचार,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: