कर सप्ताह सुरुः दमकमा प्रभातफेरी पछि प्रवचन

November 17, 2021 4:10 pm

दमक । आन्तरिक राजश्व कार्यालय दमकले आज दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह अन्तर्गत दमक नगरमा प्रभातफेरी गरेको छ ।

मंसिर १ गतेदेखि ७ गतेसम्म चल्ने कर सप्ताहको अवसरमा आन्तरिक राजश्व कार्यालय दमकले आज बिहान प्रभातफेरी गरेको हो । दमक ५ स्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट शुरु भएको प्रभातफेरी दमक गणतन्त्र चोक, फर्निचर लाइन, शंखधर शाख्वा चोक, सुर्तीलाइन हुँदै नमूना बजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

राजश्व कार्यालय दमकका निमित्त कार्यालय प्रमुख कर अधिकृत तिलक आलेको अध्यक्षतामा भएको कार्यक्रमका सहभागी वक्ताहरुले सरकारलाई कर तिर्नु संस्था, हरेक कर्मचारी, नेता नागरिक, ब्यापारी, ब्यवसायी सबैको कर्तब्य र जिम्मेवारी भएकोमा जोड दिइएको थियो । आफ्नो मन्तब्यमा दमक उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजु खड्काले प्रविधि मैत्री कर प्रणालीलाई सबैले प्रयोगमा ल्याउनु पर्ने सुझाव दिए ।

कार्यक्रममा शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष भोलानाथ मैनाली र कमल उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ भण्डारीले स्वेच्छिक कर सहभागितामा अभिवृद्धि, सुशासन, विकास र समृद्धि भन्ने नारालाई ब्यवहारमा प्रयोग गर्नुपर्ने औंल्याएका थिए ।

पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालले प्रविधि मैत्री कर प्रणालीमा रहेर कुनै सानोभन्दा सानो सामान खरिद बिक्री गर्दा क्रेतालाई पान या भ्याट बिल दिनुपर्छ तर ब्यवसायीहरुले पान या भ्याट बिल दिन आनाकानी गर्दै इस्टिमेट बील थमाएर झारा टार्ने गरेको प्रति प्रशासनको ध्यान नपुग्नु दुखद् भएको गुनासो गरेका थिए ।

सो कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी नवराज कार्कीले कर स्वेच्छिकभन्दा पनि अनिवार्य रुपमा राज्यलाई नागरिकले तिर्नुपर्ने बताए । सरकार कडा रुपमा कर संकलनमा लाग्नु पर्ने उनको सुझाव छ ।

कर सप्ताह अन्तर्गत सप्ताहब्यापी करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिने आन्तरिक राजश्व कार्यालय दमकका कर्मचारी प्रदिप बरालले जानकारी दिएका छन् ।

          November 17, 2021 4:10 pm | अर्थतन्त्र,मुख्य समाचार,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: