चन्द्रागिरीमा पहिलो पाइला टेकेको त्यो क्षण


आमासँग प्रत्यक्ष भेट नभएको दुई वर्ष भइसकेको थियो । यसपल्ट दसैँमा आमाको हातको टीका ग्रहण गरी आशीर्वाद लिने उद्देश्यले काठमाडौं जाने निधो गरें । नवरात्रको सप्तमी तिथीको दिन आमाको दर्शनको तीव्र अभिलाषा बोकेर वायुयानबाट राजधानी गएँ । काठमाडौँमा दसैँ मनाउनु मेरो निम्ति विशेष रह्यो । दशमी पछि दाजु भाउजूले चन्द्रागिरी डाँडाको अवलोकन गर्ने प्रस्ताव गर्नु भयो । चन्द्रागिरी जाने इच्छा गरे पनि अनुकुलता भइरहेको थिएन । अत. द्वादशीका दिन बिहान साढे ८ बजेतिर चन्द्रागिरीका निम्ति दाजुको निजी गाडीमा भाउजू, दाजु, भतिज अनुज र म बाटो लाग्यौँ ।

काठमाडौँ वरिपरीका अग्ला पहाडबाट उपत्यका हेर्नु अति मनमोहक हुन्छ । शिवपुरी, नागार्जुन, ककनी, चोभारका साथै चन्द्रागिरी यस्तै रमणीय स्थान मानिन्छन् । शिवपुरी डाँडामा नपुगे पनि सुन्दरीजल हुँदै पवित्र बागमती नदीको मुहान वागद्वारसम्म म पहिले गएको थिएँ । निजी गाडीमा बसेर झ्यालबाट रमाइलो हेर्दै पश्चिमतर्फ हामी हुइँकियौं । छिट्टै चन्द्रागिरीको फेदीमा हामी पुगेका थियौं ।

             राजेन्द्र प्रसाई

दसैँ भएर होला त्यति भीड रहेनछ । प्रति व्यक्ति ७०० रुपैयाँको टिकट लाग्दो रहेछ केवलकार चढ्न । केवलकार चढेर उकालो तर्फको यात्रा गर्दा अत्यन्त आनन्द भएको थियो । बिस्तारै केवलकार उकालिँदै अघि बढ्दा तल देखिएका दृश्यहरुले मन तानिरहेको थिए । आँखा झिम्म नगरी म त्यो रमणीय दृश्यपान गरिरहेको थिएँ । दाजु भाउजूसँग गफिँदै केवलकारको सयर गरेको छिनभरमा माथि डाँडामा पुगिएछ । रमाइलो सुन्दर ठाउँ, त्यस्तै सुन्दर पार्क । सरसफाइयुक्त बाटाहरु । प्रकृतिको विचित्र सुन्दरता, आँखै अघिल्तिर झल्किरह्यो । उज्यालो दिन, बिहानीको सुनैला सूर्यकिरणसँगै मन पुलकित भइरहेको थियो । हामीहरुले विभिन्न पोजीसनमा फोटो खिच्यौँ । छायाँकार भतिज अनुज छँदैथिए । बडा सुन्दरु फोटोहरु क्यामरामा कैद भएछन् ।

अलि मास्तिर भालेश्वर मन्दिर रहेछ । भालेश्वर नाम कसरी भएछ भनी जिज्ञासालाई त्यही रहेको बोर्डले समाधान गरिदियो । भाल भनेको संस्कृतमा निधार रहेछ । अनि सतीदेवीको निधार पतन भएको स्थान भनी यो ठाउँको नाम भालेश्वर र मन्दिर पनि भालेश्वर शिवमन्दिर नामाकरण भएको रहेछ । पेगोडा शौलीको मन्दिर निकै आकर्षक र सुन्दर रहेछ । हामीले मन्दिरको दर्शन गर्यौँ । भाउजूले बत्ती पनि बाल्नुभयो । मन्दिरको मास्तिरपटि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सुन्दर शालिक रहेछ ।

यो चन्द्रागिरी पर्वतसँग पृथ्वीनारायणको पनि सम्बन्ध गाँसिएको इतिहासमा उल्लेख छ । पृथ्वीनारायण शाह यही चन्द्रागिरी डाँडामा आएर काठमाडौँ उपत्याका पहिलोपल्ट दर्शन गरेका थिए रे । उपत्याकाको तीनै राज्य काठमाडौँ, भक्तपुर, ललितपुर र कीर्तिपुरसमेत देखेपछि उनको मन उपत्याकासँग लोभिएछ । तल समथर मैदान वरिपरी पहाडले घेरिएको अति सुन्दर यो ठाउँको राजा हुन पाए त कति आनन्द सुख र सन्तोष प्राप्त हुने थियो भनी मन कल्पनामा डुबेछ । अनि उनले जसरी भएपनि यो उपत्यका अधिनमा लिने र यहाँको राजा भएरै छाड्ने दृढ निश्चय गरेछन् ।

उपत्यका जित्नु पहिले नुवाकोट जित्नु अनिवार्य थियो । त्यसैले वि. स. १८०१ मा उनले पहिलोपल्ट नुवाकोटमा आक्रमण गरेका थिए । दृढ निश्चयी पृथ्वीनारायणले आफ्नो सपना पूरा गरेरै छाडे । एउटा सानो राज्य गोर्खालाई उनले विशाल नेपालमा परिणत गरेका थिए । आज यस्तो लाग्छ, धन्य उनले चन्द्रागिरी पहाडबाट उपत्यका दर्शन गरेछन् र त आज हामी विशाल नेपालका नागरिक हुन पाएका छौँ । र, एउटै नेपाल र नेपाली भएर सम्मान र स्वन्त्रतापूर्वक बाँच्न पाएका छौँ ।

राष्ट्रनिर्माता पृथ्वीनारायणप्रति अति श्रद्धा पलाएर आयो । उनको सालिकलाई केन्द्रमा राखेर हामीले केही फोटो खिच्यौं । डाँडा वरिपरी टाढा टाढासम्मका सुन्दर दृश्यहरु हामीले हेर्यौं । नुवाकोट, धादिङका विभिन्न गाउँहरु थिए । ती प्रकृतिले हराभरा पारेर सिँगारेको शश्य श्यामलामय धरती नेपाली भूमिप्रति असिम प्रेम जागेर आयो । यो मेरो देश अनि म वसुन्धरा पुत्र स्वतन्त्र नेपाली नागरिक । आफैंमा गर्व बोध भयो । हरिया हरिया चोली, साडी, फरिया लगाएकी नेपाल आमाको सुन्दर चित्र मेरा मानसपटलमा अङ्कित भयो ।

पर–अलिपर डाँडापारी सेता चाँदीजस्ता हिमाल टल्किए । हामी धेरैबेर डाँडामा बसेर हिमाल हेरिरह्यौँ । जति हेर्यो, उति हेरौँ हेरौँ लाग्ने, हेरेरै नअघाइने ! मन मनै यी लोभी आँखाहरु मानेकै थिएनन् । भोक लागेर आयो । सुन्दर खाजाघर रहेछ नजिकै त्यहीँ गएर विभिन्न परिकार खाएर जिब्रोलाई सन्तुष्टि र पेटलाई आनन्द दिलायौँ ।

केटाकेटी, युवा युवती, बुढापाका सबै उमेरका दर्शक पर्यटक आनन्दले रमाइरहेका थिए । हामी पनि वरिपरि तलमाथि सुन्दर बगैँचा पार्कमा रमाइरह्यौँ । शान्तमन र आल्हादित, प्रफुल्ल हृदय बोकेर २ बजेतिर हामी घर फर्कन फेरि ओरालो आयौं । केवलकारको टिकट अघिको छँदैथियो । सररर ओरालोमा उडाएर मिलिक्कै फेदीमा ल्याइपुर्यायो केवलकारले । यसरी मेरो चन्द्रागिरी दर्शनको अभिलाषा यस पल्टको दसैँले पूरा गरिदियो । उखान छ नि हाम्रो कति राम्रो अर्थपूर्ण ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ । मैले पनि दसैंमा आमाको हातको टिका जमरा लगाएर आशीर्वाद माग्न गएको चन्द्रागिरीको दर्शन गर्ने राम्रो मौका जुर्यो । दसैंमा आमा, दाजु, भाउज्यूको पहिलो आशीर्वाद सायद यही थियो होला, यो वर्ष मनग्ये देश दर्शन गर्न पाएस् …………. । अस्तु ।

          November 16, 2021 8:49 pm | विचार/ब्लग,साहित्य

प्रतिकृयाहरू :

समाचारहरु: