नेकपा एमाले १०औं महाधिवेशन प्रतिनिधि छनौट, क्षेत्र नं. ५ मा सर्वसम्मत, कतै चुनाव निश्चित कतै अझै छलफलमा

November 12, 2021 8:54 pm

झापा । नेकपा एमालेको १०औं महाधिवेशनका लागि भोलि कात्तिक २७ गते प्रतिनिधि चयनको तालिका छ । जसका लागि हरेक संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर पार्टी सदस्य संख्याको अनुपातमा महाधिवेशन प्रतिनिधि छनौट गरिँदैछ ।

महिलाको सहभागिता ३३ प्रतिशतलाई अनिवार्य गरेर सबै निर्वाचन क्षेत्रबाट लचकताका साथ सहमतीय प्रयास भइरहेको र धेरै ठाउँमा सर्वसम्मत हुने नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज रविन कोइरालाले बताएका छन् । उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको संसदीय निर्वाचन क्षेत्र झापा ५ बाट १० जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

दमकका नगरप्रमुख रोमनाथ ओली, कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, संविधानसभा सदस्य दीपक कार्की, पार्टीका जिल्ला सचिव मदन अधिकारी महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् । यसैगरी, होमबहादुर थापा, अम्बिका खनाल, नारायण गौतम, सर्वतलाल राजवंशी, लीला कट्टेल र विष्णु खड्का गरी १० जना चयन भएका छन् ।

यसैगरी दलित आरक्षणमा झापाबाट सोमनाथ पोर्तेल, छविलाल विश्वकर्मा र जसमाया गजमेर सर्वसम्मत चयन भएका छन् ।

झापा क्षेत्र नं. १ मा पनि सर्वसम्मत गर्नका लागि अन्तिम प्रयास भइरहेको मेचीनगर नगर कमिटीका अध्यक्ष राजु पोखरेलले जनाएका छन् । क्षेत्र नं. १ बाट कम्तीमा २ जना महिलासहित ८ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

‘निर्वाचनबाट महाधिवेशन प्रतिनिधि चयन गर्न नहुने विषयमा सबै आकांक्षीहरु सहमत हुनुहुन्छ’ नगर कमिटीका अध्यक्ष पोखरेलले साझामञ्चसँग कुरा गर्दै भने ‘धेरै चरणमा कुराकानी भइसकेको छ र अब निर्वाचन मण्डलले नामावली घोषणा गर्ने प्रतिक्षामा रहेका छौं ।’

क्षेत्र नं. २ बाट ३ जना महिलासहित ९ जना महाधिवेशन प्रतिनिधि बन्ने बताइएको छ । यहाँ पनि सर्वसम्मत गर्ने प्रयास जारी रहेको नेता देवराज कार्कीले बताएका छन् । तर कतिपय आकांक्षीहरुले संगठित सदस्यहरुसँग मतदानको आग्रह गर्दै सामाजिक सञ्जालबाट प्रचार सुरु गरेका छन् ।

आकांक्षीहरुको संख्या धेरै हुनु, भिन्न पेसा, व्यवसाय एवम् एकाईबाट प्रतिनिधित्वको सवाल सिर्जना भएकाले अन्ततः निर्वाचनबाट नै प्रतिनिधि छानिएमा अनौठो हुनेछैन ।

यस्तै झापा क्षेत्र नं. ३ र ४ मा भोलि निर्वाचनबाट नै महाधिवेशन प्रतिनिधि चयन गरिने भएको छ । ती दुवै निर्वाचन क्षेत्रमा चुनावको कार्य तालिकासहित मतदानस्थल पनि टुङ्गो भइसकेको जनाइएको छ । क्षेत्र नं. ४ मा ३ जना महिला र ६ जना खुल्ला गरी ९ जना महाधिवेशन प्रतिनिधि बन्नेछन् ।

वडास्तरमा निर्धारण गरिएको मतदानस्थलमा भोलि बिहान ८ बजेदेखि २ बजेसम्म मतदान हुने कार्यतालिका छ । खुल्लामा १७ जना र महिलामा ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

          November 12, 2021 8:54 pm | मुख्य समाचार,राजनीति,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित