झापामा जारी फुटबल प्रतियोगिता : सैनिक र जलथल फाइनलमा प्रवेश

November 9, 2021 7:52 pm

झापा । झापा गाउँपालिका–२ सडकबारीमा जोरमाई युवा क्लबको आयोजनामा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको फाइनलमा अल इन वान सैनिक र जलथल फुटबल क्लब, जलथल भिड्ने भएका छन् ।

आज मंगलबार सम्पन्न सेमीफाइनल चरणका दुई खेलबाट सैनिक र जलथल टीम फाइनलमा पुगेका हुन् । सडकबारीको खेल मैदानमा भएको पहिलो सेमीफाइनल खेलमा अल इन वान सैनिकमोडले ३–१ को गोलान्तरले कनकाई फुटबल टिम माथि जीत निकालेको छ ।

खेलको सुरुवातबाटै आक्रामक बनेको अल इन वान सैनिकका खेलाडी राजकुमार कन्दङ्वाले खेलको पहिलो दशौं मिनेट मै एक गोल गरेर खाता खोलेका थिए। सैनिकको एक गोलसँगै आक्रमक बनेको कनकाईबाट पनि पहिलो हाफको १४औं मिनेटमा रोहित कार्कीले प्रत्यत्तर गोल गरेका थिए । रोचक बनेको पहिलो हाफको २४ मिनेट मै पुनः दिवस सुब्बाले एक गोल थपेर सैनिकलाई अग्रता दिलाए ।

कनकाई डिफेन्सलाई अगाडि पारेर गोल रक्षक सामु फ्री गोल पाएका दिवस सुब्बाले पुनः अर्को गोल थपे । दोस्रो हाफमा भने दुबै टिमबाट कुनै गोल हुन सकेन। पहिलो सेमीफाइनल खेलमा कनकाईका आशिष लावती म्यान अफदी म्याच घोषित भए।

आजै भएको दोस्रो सेमीफाइनल खेलमा द हन्टर गौरीगञ्जलाई ३–२ को गोलान्तरले जलथल फुटबल क्लबले जितेको छ । खेलको सुरुवात देखि नै आक्रामक बनेको जलथलका तर्फबाट १२औं मिनेटमा कर्ण लिम्बूले एक गोल गरे । पहिलो हाफको १४ र २३औँ मिनेटमा पुनः संजोग लिम्बू र रोहित भुजेलले १–१ गोल थपेका थिए ।

यता खेलमा ३ गोलको लगातार टार्गेट पाएको गौरीगञ्ज दोस्रो हफमा भने आक्रामक देखिएको थियो । गौरीगञ्जका तर्फबाट सविन राई र नवीन श्रेष्ठले १–१ गोल थपे पनि हार भने टार्न सकेनन् । यस खेलमा जलथलका रोहन भुजेल म्यान अफ दी म्याच घोषित भए।

बुधबारको फाइनल खेल अल इन वान सैनिक र जलथल फुटबल क्लब, जलथलका बीच हुनेछ । प्रतियोगिताको विजयी टिमलाई ५० हजार९९९ रुपैयाँ नगद, ट्रफी र मेडल प्रदान गरिनेछ । यस्तै उपविजेता टिमलाई ३० हजार ९९९ रुपैयाँ नगद, ट्रफी र मेडल प्रदान गरिने क्लबका अध्यक्ष बाबुराम लिम्बुले बताए ।

प्रतियोगितामा बेस्ट प्लेयर, हाईस्कोरर, बेस्ट किपर र म्यान अफ द म्याचले समेत ट्रफी पाउने छ्न् । प्रतियोगितामा जिल्लाका आठ टिमले सहभागिता जनाएका छन्।

          November 9, 2021 7:52 pm | खेलकुद,मुख्य समाचार,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: