कोल्ड स्टोरमा राखेको विउ आलु कुहिएपछि कमलका कृषक मारमा

November 6, 2021 10:21 am

कमल । कृषि उपजहरु ताजा र सुरक्षित राख्न कोल्डस्टोरमा लगिन्छ । तर कोल्डस्टोरमा भण्डारण गरेको बिउ आलु नै कुहिएको छ । पैसा तिरेर सुरक्षित भण्डारण गरिएको बिउ आलु कुहिएपछि झापाको कमल गाउँपालिकाका कृषक चिन्तित र आक्रोशित बनेका छन् ।

आलु रोप्न जमिन ठिक्क पारेर आफैंले भण्डारण गरेको बिउ आलु कोल्डस्टोरबाट निकाल्दा कुहिएको पाइएपछि उनीहरु चिन्तित बनेका हुन् । कमल गाउँपालिका वडा नं. २ स्थित आइपिएम कृषि सहकारी संस्थामार्फत दमक नगरपालिका वडा नं. ४ मा रहेका शान्ति कोल्ड स्टोरमा विउ आलु भण्डारण गर्न पठाइएको पिडीतमध्येका एक कृषक ईन्द्र दाहालले बताएका छन् ।

आलु रोप्ने समयमा विउ आलु किन्दा महंगो पर्ने भएकाले कृषक आफैंले आवश्यकता अनुसारको विउ कोल्डस्टोरमा भण्डारण गर्ने गरिएको हो । तर अहिले आलु रोप्ने बेलामा आफूले राखेको विउ कोल्डस्टोरबाट घरमा ल्याएर हेर्दा सबै कुहिएको पाइएको दाहालले बताए । चिन्तित मुद्रामा भेटिएका दाहाल भन्छन्, ‘अब के रोप्ने ? संरक्षणका लागि कोल्डस्टोरमा पैसा तिरेर राखिएको हो, तर सबै कुहिए पछि अब यसको क्षतिपूर्ति उनीहरुले भर्नुपर्छ ।’

कृषकले ५० केजी आलु अटाउने बोरा संरक्षणका लागि कोल्डस्टोरमा भण्डारण गर्दा प्रति बोरा ४४५ रुपैयाँ तिरेका थिए । कमल गाउँपालिकाका १८० जना कृषकले आइपिएम कृषि सहकारी संस्थामार्फत ८०० बोरा अर्थात् ४० हजार केजी आलु भण्डारण गरेको संस्थाले जनाएको छ । तराईमा चल्ने र फल्ने आलुका जातहरु कुप्री सिंदुरे, लाकर, लाल गुलाव, सुलभ रातो, डेजिरे लगायत जातका विउ आलु भण्डारणका लागि शीत भण्डारमा पठाइएको थियो । त्यो सबै आलु कुहिएको कृषकको भनाई छ ।

‘आफूले कोल्डस्टोरमा ३ बोरा आलु राखेकोमा २ बोरामात्र पाएँ, एक बोरा उतै हरायो । पाएको २ बोरा आलु पनि ९० प्रतिशत कुहिएको पाएँ’ अर्का कृषक पवित्रा दाहालको भनाई छ ।

‘बेमौषममा आएको झरीले धानबालीमा ठूलो क्षति गर्यो, आलु फलाएर भएपनि जीविका चलाउँला भनेको अहिले फेरि कोल्डस्टोरमा नै विउ आलु पनि सबै कुहिएछ’ कृषक दाहालले भने ‘यो सबै कोल्ड स्टोरको लापरवाहीले गर्दा भएको हो ।’

‘अब कोल्डस्टोर र आइपिएम कृषि सहकारीले हामीलाई छिटोभन्दा छिटो आलुको विउ उपलब्ध गराउनु पर्छ, त्यो पनि हामीले राखेको जस्तै गुणस्तरीय हुनुपर्छ’ पीडित कृषकहरुको एक सुत्रीय माग छ ।

कोल्ड स्टोरमा आलु भण्डारणको जिम्मा लिने आइपिएम कृषि सहकारी सस्थाका कृषि समिति संयोजक टंक कट्टेल पनि पीडित कृषकको गुनासो जायज भएको धारणा राख्दछन् । कोल्डस्टोरको लापरवाहीका कारण कृषकले यस्तो क्षति ब्यहोर्नु परेको उनको भनाई छ ।

उनका अनुसार विगतका वर्षहरुमा पनि त्यहीँ लगेर आलुको विउ भण्डारण गरिन्थ्यो, अहिलेसम्म यस्तो समस्या आएको थिएन । आलु कुहिएको जानकारी पाउनासाथ कोल्ड स्टोरलाई सो बारेमा अवगत गराएका छौं । हामीले जनप्रतिनिधिसहितको बैठक बसेर यो विषयमा छलफल पनि गरिसकेका छौं । जतिसक्दो छिटो समस्याको निकास निकाल्नतर्फ आफूहरु लागिपरेको कृषि समिति संयोजक कट्टेलले विश्वास दिलाए ।

आइपिएम कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुले भण्डारण गरेको विउ आलु तपाईंको कोल्डस्टोरमा नै कुहिएछ नि ? साझामञ्चको जिज्ञासामा दमक वडा नं. ४ मा रहेका शान्ति कोल्ड स्टोरका लेखापाल खेम काफ्ले भन्छन्, ‘हो, कात्तिकको पहिलो साताको अविरल वर्षाले कोल्डस्टोेर सिपेज भएर पानी जमेपछि धेरै सामग्री नोक्सान भएको छ ।’

लेखापाल काफ्लेका अनुसार कोल्डस्टोरमा ११ हजार बोरा आलु भण्डारण थियो । हालसम्म ६ हजार बोरा निकासी हुँदा २२ सय बोरा खराब भएको क्लेम आएको छ । अझै ५ हजार बोरा निकासी भएपछि क्लेम थपिने सम्भावना छ । ‘हामीले ब्यक्ति ब्यक्तिको सामग्रीको बीमा गरेका छैनौं, सहकारीको नाममा बीमा छ, सबै क्लेमलाई कोल्डस्टोरले बीमा कम्पनी समक्ष पेश गरेर क्षतिपूर्ति दिलाउँछौं’ लेखापाल काफ्ले आश्वस्त पार्छन् ।

एकातिर बेमौषमी वर्षाका कारण कृषकको धानमा क्षति पुग्नु अर्कोतिर विउका लागि शीत भण्डारमा राखेको सबै आलु कुहिएको छ । ‘बीमा मार्फत् शीत भण्डारले क्षतिपूर्ति दिने कुरा एक ठाउँमा रहला तर कृषकले आलु रोप्ने मुख्य सिजनमा गुणस्तरीय विउ पाएनन् भने त्योभन्दा ठूलो मार केही हुन्न’ संयोजक कट्टेलको प्रष्ट धारणा छ । यस सम्बन्धी स्थानीय सरकारको पनि समयमा नै ध्यान जानुपर्छ ।

          November 6, 2021 10:21 am | अर्थतन्त्र,मुख्य समाचार,समाज,सहकारी,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: