सहारा नेपालद्वारा झापाका १८० बाढी पीडित परिवारलाई राहत प्रदान

November 4, 2021 7:34 pm

झापा । कात्तिकको पहिलो साता भएको अबिरल वर्षा र सो पछिको बाढी तथा डुबानबाट बिचल्लीमा परेका परिवारलाई सहारा नेपालले खाद्य तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

पालिकाहरुको आग्रहमा झापा जिल्ला प्रशासन कार्यालयको समन्वयमा भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका बाढी पीडित १८० परिवारलाई सहारा नेपालले राहत प्याकेज वितरण गरेको संस्थाका लेखा अधिकृत राजु गिरीले जानकारी दिएका छन् ।

‘एक्सन अग्नेष्ट हङ्गर’को आर्थिक सहयोगमा प्रतिपरिवार २५ केजी चामल, १ केजी नून, २ केजी दाल, आलु ५ केजी, अण्डा १ क्यारेट आदि खाद्य बस्तुहरु प्रदान गरिएको छ । त्यस्तै १ थान ब्लाङ्केट, १ थान त्रिपाल, बाल्टी १ थान, आरी १ थान तथा ब्रससहित टुथपेस्ट एवम् स्वास्थ्य सामग्रीको राहत प्याकेज वितरण गरिएको राहत सामग्री व्यवस्थापनको समेत जिम्मेवारी पाएका लेखा अधिकृत गिरीले जानकारी दिए ।

राहत प्याकेज पाउने बाढी पिडितहरु गौरीगंज गाउँपालिका वडा नं. १ का १०० घरपरिवार र भद्रपुर ३ स्थित मेचीपारी र हात्तीमाराका ८० घर परिवार रहेको सहारा नेपालले जनाएको छ ।

गौरीगञ्ज गाउँपालिकाका बाढी पीडितलाई राहत वितरण गर्न आयोजित कार्यक्रमको अध्यक्षता वडा नं. १ का अध्यक्ष टंकलाल श्रेष्ठले गरेका थिए । गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बाढी पिडित १०० परिवारका सदस्यहरुलाई राहत प्याकेज प्रदान गरिएको हो ।

यस्तै भद्रपुरमा भएको सोही प्रकृतिको राहत वितरण कार्यक्रम भद्रपुर ३ का वडाध्यक्ष कमला थुलुङको अध्यक्षतामा तथा नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा गरिएको थियो ।

भद्रपुरमा सम्पन्न कार्यक्रममा बाढी पिडित ८० परिवारका सदस्यहरुलाई राहत प्याकेज प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन भद्रपुर नगरपालिकाका कार्यपालिका सदस्य घनश्याम लकान्द्रीले गरेका थिए ।

          November 4, 2021 7:34 pm | मुख्य समाचार,राष्ट्रिय समाचार,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: