बि एण्ड सी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालले दसैं विदामा पनि सेवा सुचारु गर्ने

October 11, 2021 8:22 pm

बिर्तामोड । झापाको बिर्तामोडस्थित बि एण्ड सी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालले लामो दसैं विदा अवधिमा पनि पूर्ववत चिकित्सकीय सेवा सञ्चालन गर्ने भएको छ ।

दसैंमा पनि अस्पतालका सम्पूर्ण सेवा २४सै घण्टा सञ्चालनमा रहने कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिएका हुन् । आज अस्पतालमा पत्रकारहरुसँग चाडपर्व विशेष शुभकामना साटासाट गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले हुनेले दिएर नहुनेलाई पनि दसैं मनाउने वातावरण बनाउन आग्रह गरे ।

एशियामा नै उत्कृष्ट अस्पताल निर्माण गरिएको दावी गर्दै आएका कार्यकारी निर्देशक प्रसाईंले समाजलाई उज्यालो बनाउन बिजुली बत्ती बाल्न नसके पनि मैनबत्तीसम्म बालेर उज्यालो दिने प्रयास गरिरहेको जिकिर गरेका छन् । पत्रकारिता क्षेत्रमा पनि मालिकले कर्मचारीलाई तलब नदिएर सडकमा पुर्याएको आफूले थाहा पाएको भन्दै प्रसाईंले सत्य तथ्य समाचार लेख्ने पत्रकार कहिल्यै भोकै नपर्ने पनि बताए ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले सञ्चालन गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादवले आजदेखि महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण (भिआइए टेष्ट) तीन महिनाका लागि निशुल्क गरिएको बताए ।

क्यान्सर अस्पतालले ओपिडी सेवा र भीआइए टेष्ट निःशुल्क गर्दै मेमोग्राम टेष्टमा २५ प्रतिशत छुट दिने भएको हो।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रस्तावित मेडिकल कलेजका प्राचार्य उमेशकुमार शर्माले मन नपरेको मान्छेका बारेमा कसैले राम्रो लेखिदियो भने पनि पत्रकारले समस्या झेल्नुपर्ने अवस्था रहेको सुनाए । उनले दुई जना पत्रकारहरुले विश्व प्रसिद्ध नोवेल पुरस्कार प्राप्त गरेको घोषणाबाट पनि पत्रकारिता पेसा कमजोर छैन भन्ने कुरा हालै प्रष्ट भएको उनको भनाई छ ।

सो कार्यक्रममा पत्रकारहरुका तर्फबाट उमाकान्त खनालले आफ्ना भनाई राखेका थिए ।

          October 11, 2021 8:22 pm | मुख्य समाचार,समाज,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित