संजिवनी साकोस मजवुत हुँदै, कोषमा मात्रै दुई करोडभन्दा बढी मौज्दात, १४औं साधारणसभा सम्पन्न

October 9, 2021 4:55 pm

बिर्तामोड । संजिवनी बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभामा गत आर्थिक वर्षको वित्तीय कारोबार तथा साधारणसभाको निर्णयको कार्यान्वयनको अवस्थासहित चालू वर्षका लागि नीति एवम् कार्यक्रम पारित गरिएको छ ।

कोरोना कहरका कारण समग्र वित्तीय कारोबारमा शिथिलता आए पनि सहकारी संस्थाहरुले तोकिएको म्याद भित्रै साधारणसभा गरेर प्रतिवेदन पेश गर्नुपर्ने भएकाले अधिकांश सहकारीहरु अहिले धमाधम साधारणसभामा व्यस्त भएका हुन् ।

संजिवनी साकोसले साधारणसभामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा संस्थाका सेयर सदस्यको स्वास्थ्य उपचारमा १० लाख ९७ हजार ७३२ रुपैयाँ खर्च गरेको उल्लेख छ ।

संस्थाका अध्यक्ष यामकुमार चुडालद्वारा प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत ६० हजार रुपैयाँ सहयोग गरेको उल्लेख छ । एक हजार ९९१ जना शेयर सदस्य रहेको संजिवनी साकोसले गत आर्थिक वर्षसम्ममा २ करोड ७४ लाख ७८ हजार शेयर पुँजी पुर्याउन सफल भएको जनाइएको छ ।

संस्थामा २२ करोड ९ लाख ४ हजार ३८६ रुपैयाँ ४३ पैसा निक्षेप रहेको छ भने सदस्यहरुमाझ २८ करोड ९६ लाख २१ हजार २३ रुपैयाँ ८२ पैसा कर्जा लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ । समीक्षा वर्षमा संजिवनीले ६२ लाख ८४ हजार २३१ रुपैयाँ १६ पैसा खुद नाफा गरेको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभामा संस्थाका लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक कमला शिवाकोटीले प्रस्तुत गरेकी थिइन् ।

संस्थाका अध्यक्ष चुडालको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख आतिथ्यता सहारा नेपाल साकोसका वरिष्ठ उपाध्यक्ष तथा जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले गरेका थिए । साधारणसभामा उद्घाटन मन्तब्य राख्दै प्रमुख अतिथि ओलीले संजिवनी साकोसले १४ वर्षको छोटो उमेरमा गरेको सकारात्मक रचनात्मक प्रगतिको खुलेर प्रशंसा गरे ।

सहकारी संस्थाको मेरुदण्ड भनेको जगेडा र अन्य कोष भएको स्मरण गराउँदै उनले दुई करोड भन्दा बढी रकम कोषमा व्यवस्थापन गर्न सक्नु संजिवनीको सफलता रहेको सुनाए । उनले पल्स सूचांकको आधारमा हेर्दा बचतमा र कोषमा वृद्धि गर्नुपर्ने देखिएको भन्दै सो मा सुधार गर्न सञ्चालक समितिलाई सुझाव दिए ।

साधारणसभामा संस्थाका अध्यक्ष चुडालले संस्थाको नाममा दर्ता रहेको जमिनमा एक करोड रुपैयाँ लगानी गरी कार्यालय भवन निर्माणका लागि प्रस्ताव गरेकोमा हलले स्वीकृति जनाएको छ । त्यसैगरी सदस्यहरुलाई आवश्यकता अनुसारको सहकारी शिक्षा तालिमको व्यवस्था गरिने, सक्रिय तथा आर्थिक योगदानको आधारमा दुई पटकसम्म सहकारी अवलोकन भ्रमणमा सदस्यहरुलाई सहभागी गराउने उनको प्रस्तावलाई पनि हलले समर्थन जनाएको छ ।

संजिवनी साकोसका उपाध्यक्ष दिनेशकुमार सुवेदीले शाब्दिक स्वागत गरेको साधारणसभा उद्घाटन कार्यक्रममा समिट माइक्रो फाइनान्स वित्तीय संस्थाका अध्यक्ष तीर्थराज ढकालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन ब्यवस्थापक कृष्णप्रसाद खरेलले गरेका थिए ।

          October 9, 2021 4:55 pm | अर्थतन्त्र,मुख्य समाचार,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित