घिमिरे परिवारको ‘दिप’ निभ्यो, बिर्तामोडको एउटा इतिहास ढल्यो

September 15, 2021 9:58 pm

बिर्तामोडका पुराना बासिन्दा ‘हाजिराबाजे’ भनेर चिनिने स्वर्गीय दिलनाथ घिमिरेकी पत्नी केशरदेवी घिमिरेको २०७८ भदौ २६ राति १२ः२० बजे निधन भएको छ । बुवाको नामबाट परिचित घिमिरे परिवारका सबैजसो सदस्यले सामाजिक क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेपछि सिङ्गो परिवार सुपरिचित बनेको हो । त्यही परिवारको एउटा ‘दिप’ घरको मूल अभिभावक आमा केशरदेवीको गएको शनिबार राति निधन भएपछि उक्त परिवारसहित बिर्तामोडका पुराना बासिन्दा यतिबेला शोकमा छन् ।

यो पंङ्तिकार पनि गाउँबाट रित्तो हात आएको र बिर्तामोडमा दुःखजिलो गर्दै उहाँको कान्छो छोराको साथीका रुपमा परिचित भएको हो । पछि विभिन्न किसिमले परिवारसँग घुलमिल हुँदै दुःखसुखमा साथ निभाउँदै करिब ३० वर्षसम्म आमाको माया पाइरहेको हो । यो पंङ्तिकारले बिर्तामोडलाई नै स्थायी बसोबासस्थल बनाएको सन्दर्भमा उहाँको भनाई हुन्थ्यो ‘जो आउँछ बिर्ता जाँदैन फिर्ता’ । अर्थात् बिर्तामोडमा आएर पेसा व्यवसाय गर्ने, रोजगारी गर्ने मानिसहरु धेरैजसो यहीँ स्थायीरुपमा बस्छन् भन्ने उहाँ बताउनु हुन्थ्यो ।

विसं. १९९६ साउन मसान्तमा भोजपुरको थापा परिवारमा जन्मनु भएकी आमा केशरदेवीको विवाह रामेछाप जिल्लाको बाबियाखर्क सालुसामलीबाट वि सं २००२ सालमा झापाको माटो टेकेका दिलनाथ घिमिरेसँग २०१२ सालमा भएको थियो । रामेछापमा जन्मिएर काठमाडौंमा हुर्किएका दिलनाथ घिमिरे झापा आउनुको अन्तर्य बुझ्दा यो परिवार बिर्तामोड निर्माणका लागि इतिहाससँग जोडिएको पाइन्छ । झापाको भद्रपुर, गरामनी र बिर्तामोडसँग यो परिवारको घनिष्ट साइनो रहेको तथ्यहरुले बताउँछ ।

‘‘बुवा ईश्वरीप्रसाद घिमिरे राणा परिवारका प्रिय मान्छे भएकाले दिलनाथलाई राणा प्रधानमन्त्री चन्द्रशमशेरले ब्राम्हण पुत्रका रुपमा आफैंसँग राखेका थिए । दिलनाथलाई काम गर्नसक्ने उमेर भएपछि वीरता माल अड्डामा काम गर्न झापा पठाएको इतिहास छ । तर तत्कालै वीरता माल अड्डामा कामको व्यवस्थापन नभएकाले भद्रपुरको एउटा मिलमा ३ वर्षसम्म कर्मचारीको हाजिरा उठाउने काम गर्नुपरेको स्वर्गीय बुवा बताउँनु हुन्थ्यो । कर्मचारी कामदारको हाजिरा उठाउने ब्राम्हण भएकाले दिलनाथलाई ‘हाजिरा बाजे’ भन्ने उपनामले चिनाउने गरिएको थियो ।’’ (साझामञ्च साप्ताहिक वर्ष ७, अंक ४, २०६४ कात्तिक १९ ।)

सो पछि दिलनाथले वीरता माल अड्डामा काम गर्न थाल्नु भएको थियो । माल अड्डाको काम अनारमनी गाउँपञ्चायत अन्तरगत हुन थाल्यो । दिलनाथको उमेर पनि पाक्दै गएका कारण हर्कलाल गिरी प्रधानपञ्च भएको समयमा बिर्तामोडकै सम्मानित मान्छेलाई कसरी काम अह्राउँदै कार्यालयमा राख्नु भनेर सम्मानका साथ उहाँलाई विदा दिइएको जानकारहरु बताउँछन् ।

घिमिरे परिवार दान दातब्यमा कहिल्यै पछि नपरेकाले सामाजिक क्षेत्रमा नाम रहेको पाइन्छ । गरामनीस्थित हालको दुर्गा मावि स्थापनामा घिमिरे परिवारको ठूलो योगदान रहेको बताइन्छ । यस्तै धेरैवटा विद्यालय, मन्दिर, सामाजिक संस्थाहरुमा घिमिरे परिवारले आर्थिक सहयोग गरेको छ । दिलनाथ र केशरदेवीका सन्तानहरु ३ छोरा र ४ छोरी थिए । बुवा दिलनाथको २०६४ साल कात्तिक ११ गते ९० वर्षको उमेरमा देहान्त भएको १४ वर्ष हुन लागेको छ । यही बीचमा परिवारले अन्य चारजना सदस्य पनि गुमाएका छन् ।

चिठ्ठीपत्र आदानप्रदान गर्ने कुरियर कम्पनी चलाउँदै अन्तर्राष्ट्रिय सामाजिक संस्था जेसीजमा लागेको जेठो छोरा दिलकुमार वीरता जेसीजको अध्यक्ष भएर काम गरेका थिए । उनको अल्पायुमा नै निधन भएको थियो । यस्तै जेठी छोरी राजु न्यौपानेको अमेरिकामा रहेका छोरीहरुसँग भेटघाट गर्न गएकै बेला निधन भयो । यता माइला छोरा अशोकको ६ महिनामात्र अघि २०७७ फागुन ७ गते देहावसान भएको थियो । बुवा खसेको १४ वर्षपछि आमाको पनि ८२ वर्षको उमेरमा हालै निधन भएको छ ।

बिर्तामोडस्थित रिभरसाइड फउन्डेसन नामक गैरसरकारी संस्थाका निवर्तमान अध्यक्ष लब घिमिरे अहिले आमाको दशगात्र कर्ममा छन् । जेठादाजु दिलकुमारका छोरा दिक्षक पनि काकासँगै हजुरआमाको दशगात्रमा बसेका छन् । यस्तै माइली दिदी मञ्जु भण्डारी र बुहारीहरु आमाको आशौच बारेर बसिरहेको दृश्यले मूलखाँबो बिनाको घर यस्तै हुँदोरहेछ नि भन्दै सान्त्वना दिन आएका आफन्तहरु गुनगुनाउँदै गरेको भेटिन्छ ।

दुईवटी छोरीहरु बाबा र धना यतिबेला सपरिवार अमेरिकामा बसोबास गर्ने भएकाले आमाको दशगात्रमा सहभागी हुन सम्भव नभएको बताइएको छ । उहीँ बसेर आमाको आशौच बारिरहेका बहिनी–ज्वाइँहरुलाई यही आलेखमार्फत् समवेदना व्यक्त गर्दछु । अनि आमा केशरदेवी प्रति यिनै शब्द सुमन अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । मञ्जु दिदी अनि भाउजूहरु रेखा–यमुना–धनासहित दुर्गा न्यौपाने र हेम भण्डारी भिनाजुप्रति समवेदना ब्यक्त गर्दछु ।

साथी लब, मैले पनि २०५६ मा बुवालाई आन्द्राको क्यान्सरबाट बचाउन सकिन अनि आमालाई पनि २०७३ सालमा रक्त क्यान्सरले नै सिकार बनायो । यी दुवै घटनामा तिमी साक्षी छौ, नजिकबाट नियालेका छौ । तिम्रोभन्दा अघिअघि नै म पितृमातृ वात्सल्यबाट टाढिएँ । विश्वका हरेक जिवित प्राणीहरुको मृत्यु निश्चित छ भन्ने शास्वत सत्यलाई स्वीकर गर्दै मैले उहाँहरुलाई विदा गरेको थिएँ । आज तिमीले पनि आमालाई गुमाएका छौं । बुवाले छाडेर जानुभएको १४ वर्ष पछि मातृ वात्सल्य गुमाएका छौं । धैर्य गर साथी, तिमीप्रति समवेदना छ । आमालाई फेरि पनि भावपूर्ण श्रद्धाञ्जली ।

          September 15, 2021 9:58 pm | मुख्य समाचार,विचार/ब्लग,समाज

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित