बिर्तामोडका १९५० व्यवसायीलाई खोप लगाइने

September 14, 2021 12:02 pm

बिर्तामोड । कोरोना भाइरस संक्रमणको जोखिम अझै कायमै रहेको तथा चाडपर्व नजीकिएसंग हुने भीडभाडलाई मध्यनजर गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले संघमा आवद्ध ब्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

संघको पहलमा लगाउन लागिएको भेरोसिल खोपको पहिलो मात्र हो । पूर्वको ब्यस्त शहरको रुपमा रहेको बिर्तामोडका ब्यवसायीहरुलाई आगामी असोज २ र ३ गते दुई दिन कोरोना विरुद्धको खोप लगाउने निर्णय भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए । दुई चरणमा एक हजार ९५० जना ब्यवसायीलाई खोप लगाउने कार्यक्रम बनाइएको छ ।

खोप लगाउनका लागि २०७७–०७८ मा दर्ता वा नवीकरण भएका उद्योगी व्यवसायीलाई नेपाल सरकारले जारी गरेको परिचय पत्र र पानको फोटोकपी लिएर आएमा संघको रेकर्डमा दर्ता भएकालाई मात्र खोप लगाइने निर्णय भएको संघका प्रवक्ता संजीव घिमिरेले बताए । उनले भने–खोप लगाउन पहिला आउनेलाई पहिलो प्राथमिकता दिइन्छ । पहिलो दिए एक हजार र दोस्रो दिन ९५० जनालाई मात्र खोप लगाइन्छ । उनले कसैले अगाडी नै खोप लगाएको र दोस्रो डोजका लागि आए नपाउने उल्लेख गरे । पहिलो चरणको खोप कार्यक्रम भएकाले भ्याक्सिन नलगाउनेहरुले मात्रै यो खोप लगाउन पाउने जानकारी दिए ।

खोप बिर्तामोड नगरपालिकाका स्वास्थ्यकर्मीले लगाइदिने जनाइएको छ । कोरोनाको संक्रमणका कारण लामो समय व्यवसाय बन्द हुदाँ समस्यामा परेको भन्दै यसअघि वाणिज्यसंघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै ब्यवसायीलाई तत्काल खोप लपलब्ध गराउन माग समेत गरेको थियो । संघको कार्यलयमा लगाइने खोप कार्यक्रममा आँउदा भौतिकदुरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिन आग्रह समेत गरिएको छ ।

स्थानीय, प्रदेश र संघिय सरकारसंग पटक–पटक खोप लगाइनदिन आग्रह गरेपनि ब्यवसायीलाई सरकारले प्राथमिकता नदिएपछि बिर्तामोड उद्योग वाणिज्य संघले आफ्नै पहलमा ब्यवसायीहरुलाई खोप लगाउन लागेको हो ।

          September 14, 2021 12:02 pm | मुख्य समाचार,समाज,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: