डाँफे साकोसको साधारणसभा सम्पन्न, तीनजना सम्मानित

September 8, 2021 2:10 pm

दमक । यहाँस्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारणसभा भदौ २० गते सम्पन्न भएको छ । भदौ १४ गते वार्षिक प्रतिवेदन सार्वजनिक गरी प्रारम्भ गरिएको साधारणसभा २० गते एकीकृत साधारण सभामार्फत माइन्युट प्रमाणित गरी सम्पन्न गरिएको हो ।

साधारणसभामा संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले वार्षिक प्रतिवेदनका मूलभूत बुँदाहरु वाचन गरी सुनाएका थिए । यस्तै संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक हेमचन्द्र खनालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक साधारणसभा उद्घाटन समारोहमा विविध क्षेत्रका तीन जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

साधारणसभामा साझामञ्च डटकमका सम्पादक तथा साझा सहकारी मञ्च टेलिभिजन कार्यक्रमका प्रस्तुतकर्ता गोपाल काफ्लेलाई सम्मान गरिएको हो । पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको प्रवर्धनमा उल्लेखनीय योगदान गरेको ठहर गर्दै उनलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

यस्तै संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा चूडामणि पौडेललाई नगदसहित पुरस्कृत गरेको छ । संस्थाका कार्यालय सहायक पौडेललाई नगद पाँचहजार एक रुपैयाँले पुरस्कृत गरिएको हो ।

यसैगरी, संस्थाले शेयर सदस्यहरु मध्ये वर्षेनी एकजना ज्येष्ठ नागरिकलाई गर्दै आएको ज्येष्ठ सदस्य सम्मान यो वर्ष दमक ५ का ८८ वर्षीय नारायणप्रसाद गड्तौलालाई प्रदान गरेको छ ।

सम्मानित र पुरस्कृतहरुको तर्फबाट पत्रकार काफ्लेले संस्था परिवारलाई आभार तथा कृतज्ञता ज्ञापन गर्दै आफूले पाएको सम्मानलाई निरन्तर काम गरिरहँदाको प्रतिफलका रुपमा लिएको बताए । उनले सिङ्गो सहकारी अभियानलाई अग्रगति प्रदान गर्न पत्रकारिताको माध्यमबाट सक्दो योगदान गरिरहेको धारणा राखेका थिए ।

साधारणसभाको उद्घाटन समारोहका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले काठमाडौं पछि सहकारी व्यवसाय झापामा अब्बल रहेको बताए ।

१४ वर्षको छोटो अवधिमा डाँफे साकोसको वित्तीय उपलब्धी राम्रो रहेको भन्दै पोखरेलले संस्थालाई प्रविधिमैत्री बनाएर थप रफ्तारमा लैजान सुझाव पनि दिए । विश्वमा बचत तथा ऋण सहकारीको स्थान अग्रणी रहेको र सहकारी नै एकका लागि सबै सबैका लागि एक बनेको उनको भनाई थियो ।

उद्घाटन समारोहका अर्का वक्ता राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सहकारी संस्थालाई सञ्चालन गर्न सबै सञ्चालक र कर्मचारीहरुको उत्तिकै भूमिका हुनुपर्ने सुझाव दिए ।

यस्तै अर्का वक्ता नेफ्स्कोनका सञ्चालक सदस्य घनश्याम अधिकारीले डाँफे सहकारीको शेयरभन्दा संस्थागत पुँजी धेरै भएकाले अब यो संस्था पूर्णरुपमा सफल हुने अपेक्षा व्यक्त गरे ।

साधारणसभा उद्घाटन समारोहमा नेफ्स्कोनका अर्का सञ्चालक गोमा नेपाल, मेची बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई, सहारा नेपाल साकोसका उपाध्यक्ष एवम् बचत तथा ऋण सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले संस्थाको प्रगतिको कामना गरेका थिए ।

संस्थाका सचिव लीलानाथ खनालले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागी सेयर सदस्यहरुलाई उपाध्यक्ष सन्तोष श्रेष्ठले शब्दद्वारा स्वागत गरेका थिए ।

          September 8, 2021 2:10 pm | समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: