एनएमसीको अनुभव र व्यवसायिक कृषकका कुरा


नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कृषि कर्म गर्न चाहने सदस्यलाई विभिन्न तरिकाले सहयोग गर्ने मनसायले अभियान शुरु गरेका थियौं । विशेषगरी गाईभैंसी पाल्ने र तरकारी खेती गर्ने किसानलाई लक्षित गरी विभिन्न कार्यक्रम पनि ल्यायौं । गाईभैंसी पाल्ने किसानलाई दुध बिक्री गर्न सहज होस् भनेर किसानको पहुँचमा हुने गरी दुध चिस्यान केन्द्रको निर्माणमा जोड दियौं । बितेका छ वर्ष (२०७२-७८) मा यसमा निकै प्रगति भएको छ । २०७२ तिर झापामा ५-६ वटा चिस्यान केन्द्र भएकोमा २०७८ असारसम्ममा ५० भन्दा बढी चिस्यान केन्द्र निर्माण र चालु भएका छन् । यी चिस्यान केन्द्रको व्यवस्थित सञ्चालन र विकास प्रयोगले सिकाउँदै छ ।

दुध बिक्ने निश्चित भएपछि किसान गाईभैंसी पाल्न इच्छुक देखिए । व्यवसायिक गाई पाल्ने किसानका लागि दुध सधै बिक्नु पर्छ । यदि कुनै दिन दुध बिकेन भने किसानले त्यो दुध कहीँकतै स्टोर गर्न सक्दैनन् र फाल्नुको विकल्प हुँदैन । त्यसैले मिल्क होलिडे नहुने सुनिश्चित हुनुपर्छ । त्यो किसानले गर्ने नभई सरकार र उद्योगले गर्नुपर्छ । एनएमसी डेरी उद्योग यसका लागि प्रयासरत छ र यसमा सुधार हुँदै गएको छ ।

गाईको राम्रो नश्ल सुधार, पोषिलो र शुलभ आहार, उपचारको सहज व्यवस्था, गोठमा सुधार, सस्तो व्याजमा कर्जा लगानी, बीमाको व्यवस्था, यान्त्रिकरणमा सहज पहुँच जस्ता कुरामा किसानको पहुँच आवश्यक छ । त्यसैगरी गोठमा प्राप्त हुने मलमुत्रको सही सदुपयोग गर्ने व्यवस्था हुँदा किसानको अतिरिक्त आम्दानी हुन्छ ।

यी कुरा एनएमसीले किसानलाई गराउन प्रयास गर्दा अनेक कारणले किसानले यसलाई अपनाउन जाँगर देखाएको पाएनौं । गर्न चाहनेहरुको गति पनि धेरै सुस्त देखियो । कारण खोज्दा लगानीको समस्या, पुरानो सोच, प्रविधिमा कम पहुँच, जोखिम लिन नचाहने र युवा पुस्ता आकर्षित नहुनु रहेको पायौं । त्यसैले यसबारेमा नमुना गाईफार्म एनएमसीले नै शुरु गरे प्रयोगमा देखेपछि सिक्न र सिकाउन सजिलो हुने विश्वास गरेर एनएमसी एकीकृत नमुना कृषि फार्ममा २०७८ साल माघबाट गाई फार्म शुरु गर्यौं । यो आफ्नो गतिमा अगाडि बढिरहेको छ ।

विशेषगरी तरकारी खेतीमा एनएमसी सदस्य किसानलाई आकर्षित गर्न चाहेका छौं । यसको कारण तरकारीको बजार खोज्न टाडा जानु पर्दैन, थोरै लगानीमा गर्न सकिन्छ, छोटो अवधिमा नै उत्पादन लिन सकिन्छ । किसानले गरिरहेकै कर्म हुन् यसमा अलिकति थप ज्ञान, मेहनत र लगानी गर्दा हुने देखेका छौं । खेतबारी बाँझो राखेर बेरोजगार छौं भनेर विदेश जानुभन्दा यो काम धेरै उत्तम हुन्छ भन्ने हाम्रो बुझाई हो ।

पहिला हामीले पशुपालनमा लागेका किसानलाई नै यो व्यवसायमा ल्याउन खोज्यौं तर गाईपालन नै व्यवस्थित नभएको बेलामा यो काम गर्न सजिलो देखिएन । किसानलाई उत्पादन गर्नुहोस् मात्रैभन्दा किसानमा विश्वास पलाएन । हुन्छ हुँदैन, फल्छ फल्दैन, बिक्छ बिक्तैन, भाउ पाइन्छ कि पाइँदैन, नाफा हुन्छ कि हुँदैन, कहाँबाट बिउ ल्याउने, कसरी गर्ने, कहिले गर्ने, के के गर्ने आदि जस्ता कुराको अन्योल देख्यौं । मानिस जोखिम लिन नचाहने । अरुले गरेको देखेर सिक्न सजिलो हुने ठान्यौं । त्यसैले तरकारी खेती एनएमसीले नै गरौं, नमुनाको रुपमा गरौं । हुन्छ हुँदैन आफैं गरेपछि अनुभव हुन्छ । कसरी गर्ने, के के गर्ने, कहिले गर्ने, बजारको व्यवस्था गर्न सकिन्छ कि सकिँदैन, उत्पादन हुन्छ हुँदैन, भाउ पाइन्छ पाइँदैन, नाफा हुन्छ हुँदैन । यी सबै विषयमा आफैंले खेती गरेपछि अनुभव पनि हुने भयो । यो अनुभवका आधारमा अरु सदस्यलाई भन्न, सिकाउन, सिक्न सकिन्छ भन्ने लागेर तरकारी खेती शुरु गरेका हौं ।

यो तरकारी खेतीको मुख्य उद्देश्य उत्पादन गरेर नाफा लिनेभन्दा पनि किसान उत्पादनमा लाग्दा उनीहरुलाई फाइदा हुन्छ कि हुँदैन, बजारमा पहुँच बनाउन सकिन्छ कि सकिँदैन भनेर प्रयोग गर्नु थियो र छ । त्यसैले हामीले एनएमसी नमुना कृषि फार्ममा फाइदा लिने गरी एकै किसिमको बाली धेरै क्षेत्रफलमा लाउनेभन्दा पनि थोरैथोरै क्षेत्रफलमा नमुनाका रुपमा विभिन्न जातका तरकारी रोप्ने र फलाउने गरिरहेका छौं । मुख्य बालीका रुपमा काँक्रा, स्क्वास फर्सी, करेला, लौका, भिण्डी, घिरौंला, खरबुजा, बोडी, सिमी, चुकन्दर, गाँजर, ब्रोकाउली, बन्दा, फूलगोभी, आलु, टमाटर, कुरिलो, बैगुन, खुर्सानी, क्याप्सिकन आदि जातका तरकारी र फलपूmल लगायौं ।

उत्पादन गर्न खासै समस्या छैन । माटोको तयारी, उचित बिउको छनौट, बेर्नाको तयारी, मलको व्यवस्था, समयमा गोडमेल, रोगको नियन्त्रण, बोट बिरुवालाई आवश्यक पर्ने भिटामिन आदिको व्यवस्था जरुरी देखियो । लहरे बालीमा यसका अतिरिक्त थाङ्ग्राको व्यवस्था र समयमा कटिङ गर्दा उत्पादन हुन्छ नै । एनएमसीले धेरै उत्पादन गर्ने लोभमा रसायनिक मल र रसायनिक विषादिको प्रयोग गरेका छैनौं । हाम्रो प्रयास प्राङ्गारिक मल र जैविक विषादिबाट व्यवसायिक खेती सम्भव छ छैन भनेर अध्ययन गर्नु पनि हो । यसमा हामी सफल भयौं । धेरथोर सबै बालीको उत्पादन भयो र बिक्री गर्न सकियो ।

अब हाम्रो ध्यान थोरै जमिनमा कसरी धेरै उत्पादन गर्ने, उत्पादन लागत कम गर्न के के उपाय अपनाउने र उत्पादित बस्तुलाई कसरी बढी मूल्यमा उपभोक्तासम्म पुर्याउने भन्ने रहेको छ । मेरो अनुभवमा उत्पादनको चरण पूरा भएपछि बाली हार्भेष्ट गर्ने, हार्भेष्ट गर्दादेखि उपभोक्ताको भान्सामा पुग्दासम्म हुने क्षतिलाई न्यूनीकरण गर्ने र उचित मूल्यमा बिक्री गर्न सक्नुपर्छ । तरकारी कच्चा बस्तु हो । यो चाँडै बिग्रने, सुक्ने, वजन कम हुने, उपभोक्ताले राम्रो मात्रै रुचाउने भएकाले अलि आकर्षक नदेखिने साना, अधिक ठूला, बाङ्गा, सानोतिनो दाग भएका आदिजस्ता समस्या देखिँदा त्यो उत्पादनमध्ये धेरै खेरजानेमा पर्छ । किसानले आफ्नो उत्पादन थोक व्यपारीलाई बेच्ने र थोक व्यपारीले किसानसँग खरिद गर्दा कमसल देखिने यस्ता बस्तु बिकेन भनेर किसानलाई नै फिर्ता गर्ने वा मूल्य नदिने गर्छन् । यसको सम्पूर्ण घाटा उत्पादक किसानले व्योहोर्नु पर्छ ।

थोक व्यपारीबाट खुद्रा बिक्रेताले किनेर लगेको तरकारी तथा फलफूल थोक बिक्रेताले फिर्ता लिँदैनन् । यहाँ पनि वजन कम हुने, सुक्ने, बिग्रने, कुहिने हुँदैन भन्न सकिँदैन । खुद्रा व्यपारीले आपूmलाई घाटा पर्नेगरी व्यापार गर्दैनन् । त्यसैले उनीहरुले सुक्ने, कुहिने, बिग्रने, तौल घट्ने सबैको क्षतिपूर्ति उपभोक्ताबाट गर्छन् । यसका लागि उनीहरुले बढी मूल्यमा बेच्ने गर्छन् । यो उनीहरुको एक प्रकारको बाध्यता नै हो । त्यसैले उत्पादकदेखि उपभोक्ताको भान्सासम्म पुग्दा हरियो तरकारी र फलफूलमा विभिन्न कारणले नोक्सानी धेरै हुन्छ । त्यसको सबै क्षति कि किसानले ब्योहोर्ने हो कि उपभोक्ताले । यही कारणसमेतले गर्दा उत्पादकबाट उपभोक्तासम्म पुग्दा मूल्यमा धेरै नै अन्तर पर्नेगर्छ ।

यदि उत्पादक किसानले बाली हार्भेष्ट पछि हुने बस्तु र मूल्यको नोक्सानी कम गर्नसक्ने हो भने किसानको नाफा बढाउन सकिन्छ । यसमा एनएमसीको अनुभव के रहन गयो भने आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ मा उति नै क्षेत्रफलमा लगाएको खरबुजाको उत्पादनमा खासै धेरै फरक भएन । २०७७ मा ३ हजार ३४८ केजी उत्पादन गरी ६८ हजार ५७ रुपैयाँमा बिक्री गरेका थियौं । यसको सरदर मूल्य प्रतिकेजी २० रुपैयाँ ३२ पैसा थियो । २०७८ मा ३ हजार ८९८ केजी उत्पादन भई एक लाख ५६ हजार १७० रुपैयाँमा बिक्री गर्यौं । यसको प्रतिकेजी मूल्य ४० रुपैयाँ सरदर पर्न गयो । मूल्य र बस्तुमा हुने नोक्सानलाई घटाउन प्रयास गर्दा यो नतिजा देखिएको हो । दुवैवर्ष लकडाउनको समस्या थियो । पहिलो पटक अनुभव नभएकाले अलि आत्तिएर सस्तोमा थोक बजारमा बेच्यौं तर दोस्रोपटक धैर्य गर्यौं र उपभोक्ता अनि खुद्रा बिक्रेतालाई नै लक्षित गरेर बेच्यौं । दुवै पटकको उत्पादन लागत बराबरी जस्तै थियो ।

एनएमसीले कात्तिक, मङ्सीरमा रोपेको आलु फागुनमा हार्भेष्ट गर्यौं । त्यो समयमा बजार मूल्य थोकमा १४-१५ रुपैयाँ प्रतिकिलो थियो । हामीले उपभोक्तालाई सोझै उपलब्ध गराएर प्रतिकेजी २० मा बेच्यौं । त्यो बेला बजारमा उपभोक्ताले प्रतिकिलो २५ रुपैयाँ तिर्नु पथ्र्यो । त्यही आलु बैशाखमा प्रतिकिलो ५० उपभोक्ता मूल्य र थोक मुल्य ४० रुपैयाँ प्रतिकेजी भयो । आफूले उत्पादन गरेको आलु राख्ने स्टोर र होल्ड गर्ने क्षमता हुने हो भने त दुई महिनामा नै भाउमा यत्रो फरक पर्ने रहेछ । अन्ततः भाउमा आएको यो फरकको फाइदा किसानले पाउन सकेनन् र थोक व्यपारीले मात्रै उठाए ।

टमाटर, बन्दाजस्ता तरकारी हिँउदको मध्य सिजनमा निकै सस्तोमा बिक्री हुन्छ । उपभोक्ताले यो सिजनमा टमाटर प्रतिकेजी ३० र बन्दा १५-२० रुपैयाँसम्ममा पाउने अवस्था बन्छ । तर यही सिजनमा उत्पादक किसानले टमाटर प्रति केजी १२-१४ र बन्दा ३ देखि ५ रुपैयाँसम्म मात्रै पाउने गर्छन् । जुन सिजनमा कृषि उपज एकदमै सस्तो हुन्छ त्यो बेलामा हार्भेष्ट पछिको नोक्सानी पनि धेरै हुन्छ । कतिपय अवस्थामा त हार्भेष्ट गर्ने लागत पनि नउठ्ने भएकाले किसानले बालीको हार्भेष्ट नै नगर्ने समस्या पनि देखियो । यो अनुभव एनएमसीसँग पनि रह्यो ।

२०७८ जेठ असारमा फार्ममा काम गर्ने धेरै मानिसमा एकैपटक कोरोना पोजेटिभ देखिएकाले त्यो समयमा हामीले भिण्डी टिपेर बजारमा लैजान समस्या भयो । एनएमसीले उत्पादन गरेको तरकारी थोक बजारमा नलगी खुद्रा बिक्रेता र उपभोक्तालाई बिक्री गर्ने गरेका थियौं । यो समयमा पनि बजारमा भिण्डीको भाउ १५-२० रुपियाँ पावाका दरले बिक्री हुँदै थियो । एनएमसीले उपभोक्तालाई प्रतिकेजी ४० र खुद्रा बिक्रेतालाई ३० मा बिक्री गर्दै थियौं । कोभिडका कारण जनशक्तिको अभाव भएर बजारमा लैजान नसक्ने भएपछि थोकबजार (सब्जी मण्डी)मा पुर्याएर प्रतिकिलो १४ मात्रैमा बेचेका थियौं । जबकी यति मूल्यमा त मुस्किलले टिपाई लागत (हार्भेष्ट कष्ट) मात्रै उठाउन सकिन्थ्यो ।

माथिका अनुभवले सिकाएको कुरा के हो भने यदि किसानले आफैं परिवारले स्वरोजगार र उद्यमी हुने सोचले तरकारी वा फलपूmल खेती गर्दा फाइदा नहुने होइन । फाइदा नै हुन्छ । तर फाइदा बढाउन उत्पादन सँगसँगै उत्पादित बस्तुलाई नोक्सान हुनबाट बचाउने गरी ग्रेडिङ गर्ने, ग्रेडिङ पछि फरक फरक मूल्यमा बिक्री गर्ने, उत्पादन भएको बस्तु केही समय होल्ड गरेर राखेपछिमात्र बिक्री गर्ने, थोक बजारमा भन्दा खुद्रा व्यपारी र उपभोक्तासँग सोझै पहुँच बनाउन प्रयास गर्ने हो भने बढी नाफा लिन सकिन्छ । यदि अलि ठूलो फार्मिङ गर्ने र धेरै उत्पादन गर्ने हो भने लागत कम गर्न यान्त्रिकरण गरेर लागत मूल्य कम गर्न सकिन्छ । यसबाट पनि फाइदा लिन सकिन्छ ।

एनएमसीले आफैंले खेती गरेर आर्जन गरेका यी र यस्ता अनुभवबाट कृषिमा काम गर्न चाहने किसान परिवार एवम् सदस्यलाई फाइदा पुग्ने गरी काम गरिनेछ । कृषि उद्यममा लाग्न चाहने सदस्यमा रहेको दुविधाको अन्त्य गर्दै कृषक समूह निर्माण गर्ने, उत्पादनमा हरतरहले सघाउने, उत्पादित बस्तुको बजारीकरणमा सहयोग गर्ने नीति लिएका छौं । मलाई विश्वास छ एनएमसीले यो बाटो हिँडेर केही वर्ष भित्रैमा धेरै सदस्यलाई स्वरोजगार बनाउन सकिने छ । कृषिमा ज्ञान एवम् सीपको विकास गरिने छ । उत्पादन बढाउन सकिनेछ । आयातलाई कम गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सकिने छ ।

          September 4, 2021 4:41 pm | मुख्य समाचार,विचार/ब्लग,समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: