कोरोना कहरबीच विद्यालयहरूमा शैक्षिक अन्योलता 


हाल देशमा कोभिड १९ को दोस्रो लहर उत्कर्षमा पुगेको छ र तेस्रो लहरले पनि प्रवेश पाइसकेको छ । कोभिडको सङ्क्रमण दर कम भएको छैन । कोरोना कहरले जनजीवन नराम्ररी प्रभावित छ ।

मानिसहरूमा उदासीनता छ, बेचैनी छ । उद्योग, व्यवसाय, पेसा, ज्यालादारीलगायत आर्थिक क्रियाकलापहरू अवरुद्ध छन् । धेरै जिल्लाहरूमा निषेधाज्ञा जारी छ । सरकारले कोभिड विरुद्ध खोप कार्यक्रम सञ्चालन गरिरहेको भए पनि सबैलाई खोप पुर्याउन सकिरहेको छैन । खोप लगाउनेहरू पनि खोपको पहिलो डोजको म्याद समाप्त भइसक्दा पनि दोस्रो डोज उपलब्ध हुन नसक्दा बिलखबन्दमा परेका छन् । कतिपय ठाउँमा खोप पाइसक्नेहरूमा पनि सङ्क्रण देखिएको छ । देशमा हरेक दिन कोभिडबाट ठुलो सङ्ख्यामा मानिसहरूको मृत्यु भएको तथ्याङ्क आधिकारिक निकायबाट सार्वजनिक भइरहेको पाइन्छ ।

विकासका भौतिक पूर्वाधारहरू अस्तव्यस्त भइरहँदा विद्यालय शिक्षा पनि अन्योलग्रस्त अवस्थामा छ । सामुदायिक तथा निजी विद्यालयहरूमा विद्यार्थीहरूको प्रत्यक्ष उपस्थितिमा पठनपाठन नगराई वैकल्पिक विधिबाट शिक्षण कार्य सञ्चालन गर्न सरकारले निर्देशिका जारी गरेको छ । त्यसै निर्देशिकाको आधारमा आधुनिक सञ्चार प्रविधिको प्रयोग गरी पहुँच पुग्ने ठाउँमा भर्च्युअल विधिबाट कक्षाहरू पनि सञ्चालन भइरहेको पाइन्छ । सबैतिर इन्टरनेटको पहुँच पग्न नसक्दा र अनलाइन कक्षामा सामेल हुन मिल्ने स्तरीय मोबाइल र कम्प्युटररल्यापटप खरिद गर्न सक्ने सबल आर्थिक स्थिति सबै अभिभावकहरूमा नहुँदा कमजोर आर्थिक अवस्था भएका अभिभावकहरूले आफ्ना नानीहरूलाई भर्च्युअल क्लासमा समावेश गराउन सकिरहेका छैनन् ।

अरू विभिन्न जिल्लाहरूमाझैँ झापा जिल्लामा पनि डीसीसीएमसीको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले कुनकुन समयमा केके कुरा सञ्चालन गर्न पाइने र केके कुरा सञ्चालन गर्न नपाइने भनेर आचारसंहिता बनाई निषेधाज्ञा जारी गरेको छ । त्यस निषेधाज्ञालाई कतिले पालन गरेका पनि छन् भने कतिले बर्खिलाप पनि गरेका छन् ।

सबैजसो निजी विद्यालयहरूमा र अधिकांश सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको भौतिक उपस्थितिमा प्रत्यक्ष पठनपाठन बन्द छ । अधिकांश विद्यालयहरूले प्राथमिक तहका विद्यार्थीहरूलाई पुस्तिकाको रूपमा उपलब्ध अभ्यास सामग्रीहरू र सबै कक्षाका विद्यार्थीहरूलाई शिक्षकहरूद्वारा तयार गरिएका गृहकार्यका प्रश्नपत्रहरू वितरण गर्ने र विद्यार्थीहरूले लेखेर ल्याएका गृहकार्यहरू जाँचेर उनीहरूलाई नयाँ प्रश्नपत्रहरूको साथमा फिर्ता गर्ने कार्य नियमित रूपमा गर्दैआएको पाइएको छ ।

विद्यार्थीहरू मोबाइलको माध्यमबाट पढाइमा सामेल हुन सकुन् भन्ने अभिप्रायस्लाई मध्यनजर गर्दै नेपाल टेलिकम मार्फत ऋग्न् सिम उपलब्ध गराउन विद्यालयहरूमा अभिभावकहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र विद्यार्थीहरूका फोटाहरू मगाएर फाराम भराउने कार्य समेत सामुदायिक विद्यालयहरूमा भइरहेको छ ।

कोरोना सङ्क्रमणको तीव्रतालाई गम्भीर रूपमा लिएर मानिसको जीवन रक्षालाई पहिलो प्राथमिकता दिँदै सरकारी तवरबाट विद्यालयमा विद्यार्थीहरूको भौतिक उपस्थितिमा कक्षा कोठाभित्र प्रत्यक्ष पठनपाठन नगराउन निर्देशन भइरहेकै अवस्थामा पनि कतिपय विद्यालयका प्रधानाध्यापकहरूले र स्थानीय तहका पदाधिकारीहरूले विद्यार्थीहरूलाई विद्यालयमा बोलाएर प्रत्यक्ष पठनपाठन सञ्चालन गर्नैपर्छ भनेर दबाब दिइरहेको पाइएको छ । सोही दबाबलाई स्वीकार गरेर विद्यार्थीहरूलाई विद्यालयमा बोलाई प्रत्यक्ष कक्षा सञ्चालन गर्नुपर्ने हो या सरकारद्वारा जारी गरिएको निर्देशिकाको आधारमा विद्यार्थीहरूलाई वैकल्पिक विधिबाट पढाउनुपर्ने हो, सो कुरा बुझ्न नसकेर शिक्षकहरू असमञ्जसमा परेका छन् ।

          August 14, 2021 7:43 pm | मुख्य समाचार,विचार/ब्लग


प्रतिकृयाहरू :

समाचारहरु: