तीर्थ सिग्देलको पाँचौं साहित्य सन्तान ‘मनको कैदी’ प्रकाशित

August 7, 2021 7:54 pm

झापाका पत्रकार तीर्थ सिग्देलले पाँचौं कृति सन्तानका रुपमा ‘मनको कैदी’ कथासंग्रह लिएर आएका छन् । २०७६ सालमा प्रकाशित मनोनेट कथासंग्रह पछि त्यही विधामा अर्को पाइला चालेका सिग्देलको यही साउनमा प्रकाशन भएको पछिल्लो पुस्तक ‘मनको कैदी’ दोस्रो कथासंग्रह हो ।

कथा, निबन्ध र नियात्रा लगायतका साहित्यिक विधामा उत्तिकै कलम चलाउन सक्षम तीर्थ सिग्देल युवा पुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो । उनका किताबमा मान्छेका मनका बारेमा धेरैजसो चर्चा गरेको पाइन्छ । त्यसको कारणबारे लेखक सिग्देल भन्छन्, ‘खासमा मान्छे मनद्वारा संचालित हुन्छ । मनले नै सबै ज्ञानेन्द्रियहरु परिचालित भएका हुन्छन् । जसले मानिसहरुका इच्छा, कामना, अभिलाषा, रुचि, स्वभाव र प्रकृतिलाई नियन्त्रण गरेको हुन्छ । अझ भनौं, उनीहरुका उनीहरुको अनुभव, इच्छा, क्रोध, विचार, संकल्प विकल्पलाई नियन्त्रित तथा परिभाषित गर्ने अन्तःकरणको अंश वा वृत्ति, नाक, कान, आँखा, स्पर्श, स्वाद आदिले प्रभावित पार्ने इन्द्रीय अन्तःकरण, चित्त, दिल वा हृदयको आवाज हो । जहाँ मानिसहरु कैदीसरह जीवन बिताउन बाध्य छन् ।’

मूलतः मनको कैदी त्यही मनको परिधिभित्र लेखिएको कथासंग्रह हो भन्दा हुन्छ, जहाँ संग्रहित १३ बटा कथाहरु सबै नै मनोवैज्ञानिक शैलीका छन् । मान्छेका मनमा उर्लिएका भावना र विचारहरुको मेल नै यो कथा संग्रहको सार हो । मान्छे नबुझी कथा लेख्न सकिन्न र मान्छे बुझ्न मान्छेको मनमा पस्न सक्नुपर्दछ भन्ने मान्यता राख्ने लेखकले मनको कैदी पुस्तकमा अनौठो प्रयोग गरेका छन् ।

त्यहाँ समेटिएको ‘उर्लंदो समुद्र र भावना’ शीर्षकको कथाको तीन भाग छ, जसलाई नेपाली साहित्यमा अलग्गै प्रयोगको रुपमा लिन सकिन्छ ।
मान्छेका मनभित्र गुम्सेर रहेका अव्यक्त भावहरु बुझ्ने र बुझाउने प्रयोगात्मक शैली यसमा अपनाइएको छ । समग्रमा मान्छेले मनलाई कसरी लिएको हुन्छ र त्यही मनले चाह्यो भने केसम्म गर्न सक्छ भन्ने यसमा प्रष्ट पारिएको छ । सारा संसारलाई नियन्त्रण गर्ने एकमात्र माध्यम मन हो । मनले चाह्यो भने जे पनि हुन्छ । एकै क्षणमा यहाँ आगो बल्छ र केही क्षणमै युद्ध हुन्छ । सिंगो मानवलाई चलाउने मान्छेको मन हो, जसलाई ठिक ढंगले बुझ्न र बुझाउन सकेमा क्षति कम हुन्छ ।

उनको यसअघि प्रकाशित मनोनेट कथासंग्रह त्यही मनको सिद्धान्तमा आधारित थियो । त्यो किताबले धेरैले मान्छेको मन जित्यो । त्यसपछिको यो किताबमा पनि मनोनेट शैली नै झल्किन्छ । तर, अर्को रुपमा ।

यो किताब मनोवैज्ञानिक शैलीको छ । आज विश्वमा बिभिन्न वादहरु मध्ये जस्तैः फ्रायडवादको चर्चा बढी गरिन्छ । नेपालमा बीपीले यसको प्रयोग गरे । पछि अरु ख्यातिप्राप्त लेखकहरुको किताबमा यसको प्रयोग भएको छ । कतिपयले यौन मनोविज्ञान वा मनोवैज्ञानिक लेखन शैली भनेका छन् । तर, जसले जे भनेपनि यसरी प्रयोगात्मक रुपमा लेखिएका किताबमा मनोविज्ञान झल्किन्छ । त्यो प्रयोग यसमा पनि छ ।

‘खासमा भन्ने हो भने एउटा लेखकले मान्छेको मनभित्र पसेर लेख्न सक्नुपर्छ । म त्यही शैली अपनाउँछु, जहाँ मान्छेहरुको कथा, व्यथा झल्किन्छ’, लेखक भन्छन् । मान्छेको मनभित्र गुम्सिएर रहेका कतिपय भावनाहरुको प्रकटीकरण उनकोे लेखाइको मूल पक्ष हो ।

          August 7, 2021 7:54 pm | विचार/ब्लग,साहित्य

प्रतिकृयाहरू :

समाचारहरु: