शिवसताक्षीका खोपकेन्द्रमा अत्यधिक भीड, कोरोना विरुद्धको खोप लगाउँन जाँदा संक्रमित हुने जोखिम बढ्यो

August 1, 2021 7:54 pm

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा आइतबारदेखि कोरोना विरुद्ध खोप लगाउन सुरु गरिएको छ । नगरपालिकाको सतासीधाम स्वास्थ्य चौकी दूधे, प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज, स्वास्थ्य चौकी पाँचगाछी र धरमपुरमा एकै साथ खोप लाउन सुरु गरिएको हो ।

सतासीधाम स्वास्थ्य चौकी दूधेमा विहान १० बजेबाट खोप लगाउने भनिए पनि बृद्ध बृद्धाहरु विहान ६ बजेदेखि नै लाइनमा बसेका थिए । खोप केन्द्रमा खोप लाउन लाइन व्यवस्थित नहुँदा धेरै बृद्धा बृद्धाले भीडका कारण आइतबार खोप लगाउन पाएनन् । खोप केन्द्र भीड बढेपछि कोरोनाको जोखिम पनि त्यतिकै बढेको देखिन्थ्यो । अत्यधिक भीडका कारण करिब ४ सय बृद्ध बृद्धा खोप नगाइकन फर्किएका शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक संजय ठकुरीले जानकारी दिए । उनका अनुसार खोप नलगाइकन फर्किएका बृद्ध बृद्धालाई सोमबार विहान १० बजे बोलाइएको छ । खोप केन्द्रमा अव्यस्थित तरिकाले खोप सञ्चालन गरेको भन्दै जनप्रतिनिधि समक्ष बृद्धा बृद्धाले आक्रोस समेत पोखेका थिए ।

आज खोपकेन्द्रमा विहान ६ बजेदेखि नै खोप केन्द्रमा लाइन बसेपछि भीडको व्यवस्थापन गर्न नसकिएको वडा नं. ११ वडाध्यक्ष भैरवकुमार श्रेष्ठले बताए । हामीले १० बजे मात्र खोप लगाउन बोलाएका थियौ । तर खोपलगाउन विहान ६ बजेदेखि नै खोप केन्द्रमा भीड भाड बढेपछि व्यवस्थापन गाह्रो भएको अध्यक्ष श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार भोलीदेखि सतासीधाम स्वास्थ्यय केन्द्रको गेट १० बजे मात्र खुल्ला गरी लाइन व्यवस्थान गरिने छ ।

आइतबार शिवसताक्षीमा २ हजार ३ सय २७ जनाले भेरोसेल खोप लगाइएको शिवसताक्षी नगर स्वास्थ्य शाखाले जनाएको छ । जसमा सतासीधाम स्वास्थ्य केन्द्र दूधेमा ६३९, प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जमा ६६०, प्राथमिक स्वास्थ्य केन्द्र पाँचगाछीमा ५०८ र स्वास्थ्य केन्द्र धरमपुरमा ५२० जनाले खोप लगाएका नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक संजय ठकुरीले जानकारी दिए ।

सरकारले यसअघि भेरोसेलको खोप लगाउन छुटेकालाई आइतबार खोप लगाउन लगाउन सूचना जारी गरेको थियो । शिवसताक्षी नगरपालिकाले पनि सोही अनुरुप खोपका लागि साविककै खोप केन्द्रमा खोप लगाउन ५५ वर्ष उमेर समूहका नागरिकलाई खबर गरेको थियो । खोप १७ गतेसम्म लगाइने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

          August 1, 2021 7:54 pm | विविधा,विविधा,समाज,स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: