बिर्तामोडका निजी शैक्षिक संस्थाका जनशक्ति कोरोना विरुद्धको खोपबाट बञ्चित ! अपमान भएको भन्दै कोटा अस्वीकार गर्ने प्याब्सन र एन–प्याब्सनको निर्णय

August 1, 2021 6:32 pm

बिर्तामोड । सामुदायिक विद्यालय तथा क्याम्पसका शिक्षक, प्राध्यापक र कर्मचारीहरुले कोभिड–१९ विरुद्धको भेरोसिल खोप निर्वाध लगाउन पाए पनि संस्थागत विद्यालय तथा क्याम्पसका शिक्षक, प्राध्यापक र कर्मचारीहरुलाई सो सुविधाबाट वञ्चित गरिएकोमा आक्रोस पोखेका छन् ।

बिर्तामोड नगरपालिका शिक्षा शाखाले खोप लगाउने कोटा तोक्नु र दिनभर तातो घाममा टट्याएर खोप नलगाई घर पठाउनुलाई आफूहरुमाथि गरिएको घोर अन्याय र अपमान भएको संस्थागत विद्यालयहरुको निश्कर्ष छ । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन र एन–प्याब्सन बिर्तामोड नगरसमितिले आज संयुक्त विज्ञप्ती निकालेर उक्त कार्यको भत्सर्ना गरेका हुन् ।

साउन १४ र १५ गते बिर्तामोड नगरपालिका अन्तरगतका शिक्षण संस्था आवद्धहरुलाई खोप लगाउने कार्यक्रम रहेकोमा सामुदायिक विद्यालयका सबैले बिना भेदभाव खोप लगाए पनि संस्थागत विद्यालयहरुमाथि भेदभाव गरिएको उनीहरुको ठहर छ । साउन १५ गते ५२ वटा संस्थागत विद्यालयका ५०५ जनालाई कोटा तोकेर बोलाएर खोप नै नलगाई घर फर्काउनुले विभेद र षड्यन्त्र भएको पनि उनीहरुले जिकिर गरेका छन् ।

प्याब्सन बिर्तामोड नगरसमितिका अध्यक्ष उत्तम खनाल र एन–प्याब्सनका तर्फबाट मोहन आचार्यले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा अघिल्लो दिन सबैलाई पुग्ने खोप भोलिपल्ट प्रति विद्यालय ५, १० र १५ को कोटामा परिणत गरिनुले संस्थागत विद्यालयभित्र द्वन्दसमेत सृजना गरेको जनाइएको छ । विज्ञप्तीमा भनिएको छ– ‘खोप लगाउन तातो घाममा बिहान ८ बजेदेखि लामबद्ध रहेका शिक्षक कर्मचारीहरुलाई पर्याप्त खोप नभएकाले लगाउन नसकिने भन्दै दिउँसो १ बजे फिर्ता गरिनु र अर्कोदिन १६ गते शनिबार बिर्तामोडल स्कूलमा खोप लगाउने भनिएकोमा त्यो पनि राति ९ बजे स्थगित गरिएको सूचना निकालियो । यस्तो पाखण्डीपूर्ण कार्यलाई बिर्तामोडस्थित संस्थागत विद्यालयहरु तथा त्यहाँ कार्यरत शिक्षक कर्मचारीहरुले नगरपालिकाले आपूmमाथि गरेको अन्याय र अपमानको रुपमा लिँदै यस कार्यको घोर भत्सर्ना गर्दछ ।’

शिक्षक कर्मचारीहरुलाई ताता घाममा दिनभर टट्याउने र रित्तै फर्काउने अनि नगरपालिकाको कोभिड फोकल पर्सन चाहिँ खोपसहित होटलमा फेलापर्नुजस्ता कुराले नगरपालिकाको जनताप्रतिको उत्तरदायित्व प्रति प्रश्न चिन्ह खडा भएको पनि विज्ञप्तीमा उल्लेख छ । विद्यालय क्षेत्र सबैभन्दा जोखिममा रहेको तर सम्बन्धित निकायको सौतेलो व्यवहारका कारणले यसै समुदायका विद्यार्थी तथा शिक्षक बढी मर्कामा परेको जनाउँदै संस्थागत विद्यालयहरुको छाता संगठनले निकालेको विज्ञप्तीमा अपमानपूर्वक तोकिएका ५, १० र १५ को कोटा अस्वीकार गर्ने निर्णय भएको जनाइएको छ ।

‘सम्पूर्ण संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, चालक, सहचालक लगायत सम्पूर्ण कर्मचारीहरुलाई विना भेदभाव खोेपको व्यवस्था गर्न आग्रह गर्दै अन्यथा कक्षा ११ र १२ को परीक्षा तथा नगरपालिकाले निर्देशन गरेको कुनै प्रकारका शैक्षिक गतिविधिहरु सञ्चालन गर्न नसकिने कुरा जानकारी गराउँछौ’ विज्ञप्तीमा भनिएको छ ।

यसैबीच, बिर्तामोडस्थित कनकाई क्याम्पसका प्रमुख सुरेशकुमार चापागाईंले त्रिभुवन विश्वविद्यालय अन्तरगत हाल सञ्चालनमा रहेको परीक्षाका लागि विभिन्न १० वटा क्याम्पसको परीक्षा केन्द्र तोकिएको शैक्षिक संस्थालाई १५ डोजमात्र खोप दिन्छु भन्नु नगर शिक्षा शाखाको बद्नियत हो भनेका छन् । दैनिक ५०० देखि ७०० विद्यार्थीले परीक्षा दिने र ५० जना हाराहारी इन्भिजिलेशनमा रहनु पर्ने शिक्षण संस्थाको बाध्यता नबुझी १५ वटा खोप छ भन्नुले निजी शैक्षिक प्रतिष्ठानमा काम गर्ने मानिस नै होइनन् भन्ने आशय झल्किएको उनको गुनासो छ । ‘निजीमा काम गर्ने मानिस खोप लगाउन बञ्चित भई संक्रमित भएमा सरकारीमा काम गर्नेमात्र बाँचेर हुन्छ र ?’ उनको प्रश्न छ ।

          August 1, 2021 6:32 pm | मुख्य समाचार,शिक्षा,समाज,स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: