झापामा अक्सिजन बैंक स्थापना ‘एकका लागि एक अभियान’को सफलता

June 9, 2021 8:41 pm

झापा । एकका लागि एक अभियानले झापामा अक्सिजन बैङ्क सञ्चालन ल्याएको छ । बिर्तामोड नगरपालिका २ चारपानेस्थित सहारा नेपालको केन्द्रीय कार्यालयमा स्थापित अक्सिजन बैङ्कको बुधवार एक कार्यक्रमकाबीच झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले उद्घाटन गरेका छन् ।

त्यस्तै सोही कार्यक्रममा अक्सिजन बैङ्कका लागि झापा जिल्ला सहकारी सङ्घले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तिमिल्सिना, अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई सङ्घका अध्यक्ष गणेश ढकाल, सचिव भवानीप्रसाद दंगाल लगायतको टोलीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

कोरोनाबाट जीवन बचाउनका लागि देश–विदेशका नागरिकको सहयोगमा एक व्यक्ति एक सिलिन्डर अभियानमार्फत अक्सिजन बैङ्क स्थापना गरिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । १५ हजारप्रति सिलिन्डरका दरले १०२५ सिलिन्डर बराबर एक करोड ५३ लाख ७५ हजार रुपैयाँ सङ्कलन भएको छ ।

हाल अक्सिजन बैङ्कमार्फत दुई सय सिलिन्डर प्रशासन कार्यालयको सिफारिसमा जिल्लाका विभिन्न अस्पतालमा वितरण गरिएको र बैङ्कमा तीन सय सिलिन्डर रहेको उनले बताए । विपन्नहरूका लागि समेत सहज रुपमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन कार्यविधि बनाएर अभियानले व्यवस्थित रुपमा अक्सिजन बैङ्क सञ्चालन गरिने उनको भनाई छ ।

अक्सिजन सिलिन्डरसँगै अक्सिजन लगाउनुको लागि प्रयोग हुने फ्लो मिटर र पाइप लगायतका सामानसमेत अभियानले व्यवस्थापन गरेको छ । अभियानले बैङ्क स्थापनाको लागि अक्सिजनको सिलिन्डर चीनबाट खरिद गरेर ल्याएको हो । बैङ्क स्थापनापछि अभियानले झापाका १५ वटै पालिकाले साझेदारी गर्ने र आवश्यकता महसुस गर्छन् भने अक्सिजन प्लान्ट निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने संयोजक गिरीले घोषणा समेत गरेका छन् ।

एक वर्षअघि कोरोना महामारीसँगै सुरु भएको अभियानले विपन्नलाई राहत वितरण, सडकमा अलपत्र परेकालाई खाना खुवाउने काम, सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण, क्वारेनटाइन र होल्डिङ सेन्टरमा रहेकाहरूलाई खाना तथा बेड निर्माणमा सहयोग, पीसीआर ल्याब स्थापना हुँदै प्लाज्मा बैङ्क स्थापनामा महत्त्वपूर्ण सहयोग गरेको थियो ।

          June 9, 2021 8:41 pm | मुख्य समाचार,राष्ट्रिय समाचार,समाज,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: