सडकको बीचमा ग्रिनजोनः शीघ्र कार्यान्वयन हुने अपेक्षामा नगरबासी

June 9, 2021 2:08 pm

गत मे २८ तारिक अर्थात् जेठ १४ गते शुक्रबार साँझ पौने ९ बजे मैले आफ्नो फेसबुक टाइमलाइनमा बिर्तामोड–भद्रपुर रोडको नवनिर्मित सडक खण्डमा ग्रीनजोन बनाउन स्थानीय संघ–संस्थाहरुलाई अवसर दिनु उपयुक्त हुने भनी सरोकारवालाको ध्यानाकर्षण गरेको थिएँ । आज जेठको २६ गते उक्त पोष्ट ‘मेचर्ड’ भएको ठानेर यो आलेख तयार गर्न मन लाग्यो । यो बीचमा उक्त विषयमा ४५८ वटा लाइक, १६९ वटा कमेन्ट्स र २ वटा सेयर गरेको स्थिति देखिन्छ । चिन्तन मनन गर्नका लागि वा अवधारणालाई कार्यरुप दिन १० वटा दिन पर्याप्त नहोलान्, तर पनि कम्ती चाहिँ पक्कै होइन भन्ने बुझेर सोही विषयमा आज आलेख तयार गरेको छु ।

आजको चिन्तन २ मा भनिएको थियोः ‘बिर्तामोडको मुक्तिचोकदेखि भद्रपुररोडको ४ किलोमिटर सडकखण्ड निर्माण सम्पन्न भएको हो ? बीचमा फूलबारी लगाउने र हरियाली बनाउने ठूलो चर्चा थियो नि ! सडक निर्माणका ठेकेदारले बिरूवा रोपण गर्ने कि नगरपालिकाको जिम्मा हो ? जसले गर्ने भए पनि एउटा प्रस्ताव छ ः गार्डेनिङ गर्नका लागि १००–२०० मिटरका दरले सहकारी संस्था, बैंक, विद्यालय–क्याम्पस, व्यवसायी, सामाजिक संघ–संस्थालाई दिउँ । उहाँहरूले आफ्नो पहिचान झल्कने गरी फूलबारी लगाउनु हुन्छ, संरक्षण गर्नुहुन्छ । सौन्दर्यकरणमा सहयात्रा पनि हुने, सडक निर्माण ठेकेदार, नगरपालिका वा सडक विभागलाई वित्तीय भार पनि नपर्ने । चित्त बुझे छलफल गरौं, नबुझ्नेहरूले आलोचनाका लागि शब्द खर्च नगर्नुहोला । केवल चिन्तन गर्नुहोला ।’

फेसबुकको स्टाटस प्रभाव हो वा बोटविरुवा रोप्ने अनकूल मौषम भएर हो, यो १२ दिनको बीचमा धेरै ठाउँमा के के जातिका बुटाहरु गाडिएको छ । कुनै गुरुयोजना बिना गाडिएका बुट्यान भोलि पक्कै उखेलिने त छँदैछन् तर मुक्तिचोकदेखि तलैसम्म यस्तो दृश्य देखिएको छ । यसले पनि पुष्टि गरेको छ कि, सडकको डिभाइडरलाई हरियाली बनाउन ढिला भइसकेको छ ।

मेरो जिज्ञासाको उत्तर सोही सञ्जालमा कसैबाट प्राप्त भएन । फेसबुक टाइमलाइनमा नगरपालिकाका जिम्मेवार अधिकारीले केही लेखेनन् । अन्तिमका निर्माण ठेकेदार कञ्चन निर्माण सेवाका सञ्चालकले पनि लेखेनन् । नगरपालिकाको २ र १० नम्बर वडाका वडाध्यक्षहरुले प्रस्ताव उपयुक्त भएको आशय खुलाउँदै थप केही सल्लाह लेखेका छन् । १६९ वटा कमेन्ट्स मध्ये सबैजनाले प्रस्ताव राम्रो भएको र तत्काल कार्यान्वयन गर्न सरोकारवालाले ध्यान दिन भनिएको छ । केही प्रतिक्रिया र सुझावहरु स्क्रिनसटमा प्रस्तुत छ ।

मैले उठान गरेको विषय : सडकको बीचमा बनाइएको डिभाइडरमा (ग्रिनजोन) फूलबारी लगाउने जिम्मा कसको हो ? सडक निर्माण ठेकेदार वा सडक विभाग वा बिर्तामोड नगरपालिका ? यो विषयमा सडक निर्माण ठेकेदार कम्पनी कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीलाई मैले फोन गरेर सोधेँ । एकपटक केही सेकेण्ड कुराकानी गरे तर प्रश्नको उत्तर दिन चाहेनन् । त्यसपछि दर्जनौं पटक फोन गरेँ, रिसिभ भएन । डिभिजन सडक कार्यालय दमकबाट प्राप्त जानकारी अनुसार डिभाइडरमा फूलबारी लगाउन मलिलो माटो भर्ने काम निर्माण ठेकेदारले गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

तर डिभाइडरभित्र मलिलो माटो होइन, सडक निर्माण गर्दा नै गिटी र बालुवाले भरिएको छ । सडक कालोपत्रे गर्नुअघि ग्रेडरले सम्याउँदै गर्दा नै यो पङ्तिकारले सो विषयमा प्रत्यक्ष भेटेर ठेकेदार गिरीलाई भनेको थियोः ‘केदार दाइ सडकको बीचमा बनाइएको डिभाइडरमा फूलबारी लगाउने कुरा छ, यहाँ त मजदूरहरुले सबै गिटी बालुवा यतै थुपारिदिएका छन् । त्यहाँबाट झिकेर बाटोमै हालेमा पछिलाई सजिलो हुन्थ्यो नि !’
त्यतिबेला मेरो सुझावलाई उनले उपयुक्त भएको ठहर गर्दै निकाल्न भन्छु भनेका थिए । तर सडक कालोपत्रे भएर लेनको रेखा कोरिए पनि डिभाइडरमा फालिएको गिटी बालुवा निस्किएन ।

बरु हिजोआज त्यसमाथि नै कतैकतै रातोमाटो छरेर कोनि कसको आँखा छल्ने प्रयास भइरहेको छ । सडकको बीचमा बनाइएको डिभाइडरमा बोटबिरुवा लगाउने हो भने गिटी बालुवा झिकेर मलिलो माटो लगाउनुको विकल्प छैन । नत्र ‘खरबुजा’ बाहेक त्यहाँ कुनै बुट्यान बाँच्न सक्ने अवस्था छैन । हजारौं मानिसले नाङ्गो आँखाले देखेको सत्य कुरा यही हो । सत्यलाई छेक्ने प्रयास गरिएमा यसले स्वयम्लाई हानी गर्छ भन्ने यथार्थलाई सरोकारवालाले मनन गर्न जरुरी छ ।

मैले फेरि बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीसँग सम्पर्क गरेर सडकको बीचमा बनाइएको डिभाइडरमा फूलबारी वा ग्रिनजोन बनाउने कुरा कहाँ पुग्यो भनेर जिज्ञासा राखेँ । आजको चिन्तन २ मा मैले प्रस्तुत गरेको विषयबारे आफूले थाहा पाएको र अब विभिन्न संघ–संस्थाको सहभागितामा शो–प्लान्ट लगाउने तयारी भएको जानकारी दिए । सडकको बीचमा रोपिने शो–प्लान्ट ३ फुट अग्लो र २ फुटभन्दा बढी चौडाई नहुने प्रजातिका हुने उनले सुनाए । ग्रिनजोन सम्बन्धी कार्यविधि बनाएर छिट्टै कार्यान्वयन गर्ने र नगरपालिकाले अनन्तकालसम्म जिम्मेवारी लिने उनको भनाई छ ।

मैले उनलाई भनेँ, ‘कसरी ग्रिनजोन बनाउनु हुन्छ ? डिभाइडरको भित्र त सबै गिटी बालुवा हालेको छ । माटो त कता कतामात्रै छ । अनि कसरी बोट बिरुवा हुर्कन्छन् ?’

उनले तत्कालै भने, ‘सडक निर्माण ठेकेदारले सबै हटाउनु पर्छ । अहिले यही कुरामा विवाद भइरहेको छ । सम्झौतामा मलिलो माटो उल्लेख छ, त्यहाँ सबै ढुंगा, बालुवा, गिटीमात्रै छ । सम्झौतामा नै माटो भर्ने गरी अलग्गै रकम उल्लेख छ ।’ सिंचाइको लागि नगरपालिकाले डिभाइडरको फेदमा पानीको पाइप राखेको जानकारी दिँदै नगरप्रमुख शिवाकोटीले भने वाणिज्य संघले यसको निगरानी गर्ने कुरा भइरहेको छ ।

मैले उठान गरेको समग्र विषयवस्तुको मूल चुरो कुरा के हो भने ‘गार्डेनिङ गर्नका लागि १००–२०० मिटरका दरले सहकारी संस्था, बैंक, विद्यालय–क्याम्पस, व्यवसायिक फर्म, सामाजिक संघ–संस्थालाई दिउँ न । उहाँहरूले आफ्नो पहिचान झल्कने गरी फूलबारी लगाउनु हुन्छ, संरक्षण गर्नुहुन्छ ।’ तर यहाँ त एउटा संस्थालाई दिने गरी कुरा अगाडि बढ्दै रहेछ । सोबारे अरु जनप्रतिनिधिहरु खास जानकार पनि रहेनछन् ।
‘सो विषयमा कुराकानी, छलफल पनि भएको छैन, कसरी निर्णय हुन्छ ? एकलौटी गर्नखोजे दूर्घटना पनि हुनसक्छ’ एकजना वडाध्यक्षको चेतावनी यस्तो छ । नगरप्रमुख शिवाकोटीले नगरपालिकाका केही अधिकृत कर्मचारीहरुसँग यो विषयमा संक्षिप्त कुराकानी गरेको जानकारीमा आएको छ तर उनीहरुले पनि एउटा संस्थालाई संरक्षणको जिम्मेवारी दिनेकुरा उचित नभएको भनी सुझाव दिएको बताएका छन् ।

मेरो फेसबुक टाइमलाइनमा प्रतिक्रिया जनाउने धेरैजनाले म यो ठाउँदेखि यहाँसम्मको भागमा ग्रिनजोन बनाउँछु भनेका छन् । केहीले ग्रिनजोनमा बोट बिरुवाको नाम अंग्रेजी र नेपालीमा लेखेर टाँस्ने हो भने अझ शोभयामान हुने सुझाएका छन् । आफैंले गार्डेनिङ गरेपछि सोही संस्थाले रेखदेख गर्नेछ, माली खटाउने छ र नियमित नभएमा नगरपालिकाले एक्सन पनि लिन सक्नेछ । विद्यालयहरु उत्सुक छन्, सहकारीहरु सकारात्मक छन् । लौ न यतिराम्रो कुरा आएको छ नगरपालिकाले समन्वय गरिदेओस् पनि भनिएको छ । अर्थात् अधिकांश मानिसलाई यो कुरा ठिकै लागेको पाइएको छ र यसमा सहभागिता जनाउने इच्छा पनि ब्यक्त गरेको छन् ।

उपसंहारः

  • सो को शीघ्र कार्यान्वयनका लागि नगरपालिकाले आम सरोकारवालाई इच्छापत्र पेश गर्न आग्रह गरी सूचना प्रकाशन गर्नुपर्छ । र, नगरबासीलाई अपनत्व महसुस हुने गरी काम गर्ने अवसर दिइनुपर्दछ ।
  • नगरपालिकाले निश्चित शर्त एवम् मापदण्ड बनाएर उपलब्ध गराउनु पर्छ ।
  • ग्रिनजोन बनाउन डिभाइडरको संरक्षण पनि गर्नुपर्ने भएकाले फलामे घेराबाराका लागि सम्बन्धित पक्ष अग्रसर हुनुपर्छ ।
  • कुनै एक संस्थालाई दिनेगरी नगरपालिकाका जनप्रतिनिधिहरुले सोचाई बनाउनु हुँदैन । किनकि यहाँ सबैको सहभागिता खोजिएको छ न कि कुनै एक संस्थाको प्रवद्र्धन ।
  • जेठको अन्तिम सातामा छौं हामी, बोटबिरुवा रोप्दा छिट्टै सर्ने भएकाले लामो अवधिको प्रक्रियाको साटो छाटो विधिबाट काम गरौं ।
          June 9, 2021 2:08 pm | मुख्य समाचार,विचार/ब्लग,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: