मदर टेरेसाजस्तै व्यवहारकी भट्टराईनी आमैलाई सम्झँदा

June 7, 2021 2:30 pm

अहिले म ६३ वसन्त पार गर्दैछु । तर मैले अहिले गर्न लागेको कुरा चाहिँ करिब करिब ४९ वर्ष अगाडिको हो । त्यसबेला म आफ्नो गाउँ इरौंटार शान्तिनगर छोडेर झापाको चन्द्रगढीतिर आउनका लागि तयार रहेको थिएँ । पञ्चायत तन्त्रले हाम्रो गाउँको हाइस्कूल (श्री शान्ति आदर्श हाइस्कूल) नयाँ शिक्षा योजना लागू गर्ने बहानामा निम्न माद्यमिक विद्यालयमा घटुवा गरेको थियो । खासमा निरंकुश पञ्चायत तन्त्रले इरौंटार शान्तिनगरलाई वामपन्थी राजनीति केन्द्र मानेकोले त्यसलाई तहसनहस पार्नका लागि त्यो स्कूललाई निसाना लगाएको थियो । यसले गर्दा कैय्यन होनाहार विद्यार्थीहरुले गरिबीका कारणले अध्उययनका लागि अन्त जान नपाई आफ्नो पढाइलाई त्यहीँ तिलाञ्जली दिनुपर्ने बाध्यतालाई स्वीकार्नु पथ्र्यो । त्यसपछि उनीहरुले गरिबीका चक्रमा पेलिँदै गोठाला खेताला वा श्रमिकको जीवनमा प्रवेश गरी आजीवन त्यही अनुसार बाँच्न बाध्य हुनुपर्थो ।

थोरैमात्र शान्तिनगर इरांैंटारबासीका छोराछोरीहरु बाहिरफेर गएर आफ्नो पढाइलाई निरन्तरता दिन सक्थे । त्यहाँका खतिवडाहरु, बरालहरु, भण्डारीहरु तथा केही अरु थरका सामान्य हुनेखाने र पहुँचवालाहरुका छोराछोरीले मात्र आफ्नो भविष्यका रेखा कोर्न सक्षम भए । बाँकी धेरै अरु अशिक्षिाको कालो अन्धकारमा पञ्चायत तन्त्रको कुचक्रलाई सहन बाध्य हुँदै बाँच्ने गर्दथे ।

इरौंटार शन्तिनगरमा हाइस्कूल नरहेका कारणले बाहिर निस्कनेहरुमा म पनि एक थिएँ । मेरो घर त्यसबेलाको इरौंटार गाउँ पञ्चायत वडा नं. ९ हालको रोङ गाउँपालिका वडा नं. ५ मा अवस्थित थियो र छँदैछ पनि । त्यस बेलामा म कक्षा ७ उत्तीर्ण गरी कक्षा ८ पढ्न जाने तम्तयारीमा जुटेको थिएँ । मेरा अग्रज दुई साथीहरु यामबहादुर श्रेष्ठ र विजयसेन थापा पनि मजस्तै गरी नयाँ स्कूलमा पढ्न जाने तयारीमा हुनुहुन्थ्थो ।

त्यसमध्ये यामबहादुर श्रेष्ठ धुलाबारी हाई स्कूल पढ्ने विचारमा अनि विजयसेन थापाले बाहुनडाँगीको मेची जनसाधारण हाइस्कूलमा पढ्ने निधो गर्नु भएको थियो । बाहिर गएर पढ्न जाने जुनसुकै विद्यार्थीले पनि आफ्नो गाउँ पञ्चायतबाट सत्चरित्र सम्बन्धी सिफारिस पत्र लिएर जहाँ पढ्ने हो त्यस विद्यालयमा बुझाउनु पर्ने अनिवार्य नियम थियो । प्रधानपञ्च वा उपप्रधान पञ्चले उक्त सिफरिस नदिएमा पढ्न पाउने अवस्था हुँदैनथ्थो । आज आएर सम्झन्छु ती हाइस्कूल पढ्ने किशोर किशोरीहरुलाई पनि त्यो निरंकुश पञ्चायत तन्त्रले कति सारो दमनकारी नीति अपनाएको रहेछ त !

त्यो सत्चरित्रको पत्र लिनका लागि म, यामबहादुर श्रेष्ठ र विजयसेन थापा शान्तिनगर गाउँ पञ्चायतको कार्यालय (जो गढीगाउँमा थियो) त्यहाँ पुग्यौं । पुस महिनाको दिन, हामीले त्यो पत्र प्राप्त गर्दा झण्डै ४ बजिसकेको थियो । अब गढीगाउँबाट माथि इरौंटारसम्म पुग्न कस्सिएर हिंड्दा पनि तीन घण्टा लाग्छ । हामी तीनैजना इरौंटार तिर फर्कियौं । हुनत यामबहादुर श्रेष्ठको घर गढीगाउँ नै हो । तापनि उहाँले मेरो अग्रजको भूमिका खेलिरहनु भएको थियो त्यसबेला । बाटोमा पूरै रात पर्यो । तापनि हामी तीनजना भएकोले उस्तो डराएनौं । डर मानेर पनि भएको थिएन । लामो बाटो हिंडेपछि बल्ल हामी आफ्नो गाउँको पुच्छारको ठाडो उकालो बाटोको सुरुवातको विन्दूमा आइपुग्यौं । अब करिब ४० मिनेट घटिमा पनि हिंड्दा मात्र हामी आफ्नो टुङ्गोमा आइपुग्ने हुन्थ्यौं ।

ठाडो बाटो त्यसमाथि पट्टेर बाँसघारी र चिलाउनेका रुखहरुको आटम्बे जङ्गल । त्यही जङ्गलको पाखा बीचमा थोरै उघारो र सानो गाउँ छ, जसलाई हामी गाउँबासीहरु चिहान डाँडाको गाउँ भन्ने गर्दथ्यौं । त्यही गाउँबाट हिड्दै गर्दा एउटा झोपडी घरमा हामी पस्यौं । त्यही घर थियो भट्टराईनी आमैको ।

प्रायः मधेशतिर जाने हाम्रा गाउँका मान्छेहरु मधेश जाँदा आउँदा भट्टराईनी आमैको घरमा निस्कने गर्दथे । थारैबेर बसेर मात्र भए पनि धेरैजसो आफ्नो गन्तव्य तर्फ पाइला चाल्दथे । खै ! कस्तो जादु थियो ती आमैमा अहिले म भन्न सक्दिन । उनी विधवा थिइन् मैले जान्दैदेखि । हाम्रो घर गाउँमा ज–जसका घरमा देउकार्जे वा पितृकार्जे जे परे पनि भट्टराइनी आमैलाई अवश्य बोलाइन्थ्यो । उनी त्यहाँ पुगेर सारा कामधन्दा फस्र्याउँथिन् । भात पकाउनदेखि लिएर कार्जेका प्रसाद तयार गर्न वा पूजा सामग्री इत्यादिको व्यवस्था गर्न उनको तत्परता रहन्थ्यो ।

उनका साथमा दुई स–साना छोराहरु गएका हुन्थे । ती विचरा सारै अभाव र दुःखमा बाँचिरहेका झैं लाग्दथे । आफ्नी आमासँग जाँदा त्यसदिन भरपेट पार्दा हुन् जस्तो लाग्दथ्यो । आफ्ना पति गुमाएकी ती भट्टराइनी आमैको अरु दुई छोरा जेठा पदमलाल र माहिला पुष्प भने अलिक ठूलै थिए । आज सम्झदा त्यस बेला ती २२/२५ वर्षका थिए । साबालक भएर होला उनीहरु रोजगार गर्दै पेट पाल्दथे । जेठा पदमलाल मधेश अर्थात् बुधबारे तिर कुनै धान मिलमा काम गर्दथे भन्ने त्यसबेला सुनिन्थ्यो ।

माथि नै उल्लेख गरें, हामी तीनजना साथीहरु गढीगाउँको शान्तिनगर गाउँ पञ्चायत कार्यालयको काम सकेर फर्कंदा ठूलो साँझतिर भट्टराइनी आमैका घरमा पस्यौं । कहाँ पुगेर आयौं नानीहरु ? भनेर उनै आमैले हामीलाई मायालु पारामा सोधिन् । जसलाई विजयसेनले बेली बिस्तार लगाए । अब हामी भोलिदेखि विभिन्न दर्गदिशा लागेर पढ्न मधेशतिर जाँदैछौं नि आमै भनेर मैले भने ।

अगेनामा खट्खट् उम्लिई राखेको रातो चियालाई बटुकामा सारेर दूध लगाउँदै आमैले हाम्रो अगाडि राखिदिइन् । अगेनादेखि अलिक परतिरको कुनामा एउटा ठूलो धुस्रे केराको घरी पहेंलपूर भएर पाकिराखेको थियो । त्यसबाट १० कोसाजति चुँडेर आमैले हामी तीनजनाको बीचमा राखिदिइन् । हामी गलेका पनि थियौं र भोका पनि थियौं रहेछ क्यारे ! ती सबै केराका कोसा र चिया आनन्दसँग खाएर सक्यौं । आमैले अरु दुई तीन कोसा केरा थप्न लाग्दै थिइन्, तर हामीले भो भो भन्दै पन्सायौं ।

आमै भन्दै थिइन् : हेर नानी हो अब तिमेरु आफ्नो गाउँघर छोडेर परदेश जाँदैछौं । परदेश गएपछि गाउँको झलझली याद आउँछ । त्यहाँ यसरी लु खाओ भनेर कसैले केही पनि दिँदैन । कसैले वास्ता व्यस्ता गर्दैन र सारै नियास्रो लाग्छ । आफ्नो गाउँका हरेक कुराको झलझली सम्झना हुन्छ र फर्किहालौं जस्तो लाग्छ । जस्तो लागे पनि आफ्नो कार्य सिद्धि नभइकन फर्कनु हुँदैन । बेलाबेला छुटिमा आउनु भनेको बेग्लै हो । तर समय बित्दै गएपछि मन परिर्वतन हुँदैजान्छ, उतैको रस भिज्छ । आफ्नो व्यवहार उतै बनाउँदै सपार्दै लगिन्छ र हुँदाहुँदै उतैको रैथाने भइन्छ । मलाई त लाग्छ अब आज उप्रान्त तिमेरु पनि त्यसैगरी परदेश कै बासिन्दा हुन लाग्दैछौं । शारदा खतिवडा, नारायण खतिवडा, तेजराज खतिवडा, लोकराज बराल, डिल्लीराम दाहाल, चम्पलाल महेश्वरी, पर्शुराम भण्डारी आदि खै फर्के त ? उनीहरु पनि यही इरौंटार शान्तिनगरका होइनन् ?

आमैले लामो सास फेरिन् र अघि तावामा पाकिराखेको कोदोको बाबर हामी समक्ष राखिदिइन् । सुस्केरा छोड्दै फेरि भनिन् : यो पञ्चायत सरकारले गाउँको छँदाखादाँका स्कूल हटाइदियो र नानीहरुको बिचल्ली भयो । धन्न तिमेरु त सक्नेछौं र जहाँ गएर पनि पढ्छौ । अब गाउँका अरु ती गरिब गुरुवाका छोराछोरीले पढाई नै छोड्नु पर्ने भयो । मेरा यी दुई छोरा श्याम र सानु कान्छोले कहाँ पढ्नु ?

आमैको गुनासो मेजमान र अर्ति उपदेश सुनेर हामी त्यहाँबाट घरतिर लाग्यौं । घर आइपुग्दा भोलि छोराको परदेश गमन भनेर होला आमाले धेरैथरीका परिकार बनाउनु भएको रहेछ । तीनै जनाले मजाले खायौं । त्यसैदिन एउटा जङ्गे कुकुर हाम्रोमा आएर बस्न थाल्यो । म छ आठ महिनातिर छुट्टीमा घर आउने जाने गर्दथे त्यो कुकुर हाम्रैमा सदाको लागि बस्ने गरेको देख्दथेँ ।

माथिका कुराहरु हुन् वि.सं २०२५ सालतिरका । त्यसको करिब ८–१० वर्ष पछि होला, एकपटक म मधेशबाटै घर फर्कंदा उसैगरी भट्टराईनी आमैको घर पसेँ । तर अफसोस उहाँको देहान्त भइसकेछ । मलाई सारै नै दुःखको अनुभव भयो । मैले उही परदेश हिँड्ने अघिल्लो दिनको उहाँको अनुहारलाई कैयन लामो समयसम्म झलझली सम्झिरहेँ, सम्झिरहेँ, र आजसम्म पनि उनलाई उसरी नै सम्झिरहेको छु ।

मलाई आफ्नी आमाजस्तै लाग्ने, मलाई मदर टेरेसा जस्तै महान नारी लाग्छ ती भट्टराईनी आमै । उनको सफा हृदय, उदार दिललाई म कहिल्यै बिर्सन सक्दिन । उनको आत्माले चीर शान्ति पाओस् । उनका सन्तानले पनि भट्टराइनी आमैको जस्तै सत्कर्ममा लागेर थुप्रैको मनमा बस्न सकुन् । आम नेपालीजन पनि सबैको मनमा बस्ने गरी यस्तै सत्कर्ममा लाग्न सकुन् ।

          June 7, 2021 2:30 pm | विचार/ब्लग,साहित्य

प्रतिकृयाहरू :

समाचारहरु: