जिल्ला प्रशासनलाई सहकारी संघद्वारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

May 16, 2021 2:54 pm

झापा । झापा जिल्ला सहकारी संघद्वारा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुका लागि ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री आज हस्तान्तरण गरिएको छ ।

संघका अध्यक्ष गणेश ढकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापा पुगेको सहकारी संघको टोलीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । संघले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका लागि दुई लाख रुपैयाँका दरले ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको जनाइएको छ ।

तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय झापाको प्राङ्गणमा पुगेर अध्यक्ष ढकाल नेतृत्वको टोलीले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । जिल्ला सहकारी संघको आन्तरिक कोषबाट खर्च गरी स्वास्थ्य सुरक्षा सामग्री खरिद गरेर प्रशासनलाई हस्तान्तरण गरिएको संघका प्रबन्धक संजय ढकालले जनाएका छन् ।

पिपिइ सेट, मास्क, फेस सिल, सेनिटाइजर र हेन्ड्ग्लोब्स लगायतसामग्रीहरु लिएर संघका अध्यक्ष ढकाल, उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल, नेफ्स्कोनका सञ्चालक घनश्याम अधिकारी लगायत सहकारीकर्मीहरु प्रशासनको प्राङ्गणमा पुगेका थिए ।

स्वास्थ्य सुरक्षा सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले झापाको सहकारी अभियानलाई आभार प्रकट गरे । सहकारीको अन्तर्राष्ट्रिय सातौ सिद्धान्त समुदायप्रतिको चासोलाई जिल्लाको सहकारी अभियानले नजिकबाट कार्यान्वयन गरिरहेकोमा प्रजिअ तिमिल्सिनाले खुशी ब्यक्त गरेका थिए । उनले प्राप्त स्वास्थ्य सुरक्षा सामग्रीहरु आजभोलि नै सबै सुरक्षा निकायलाई हस्तान्तरण पनि बताएका छन् ।

          May 16, 2021 2:54 pm | मुख्य समाचार,राष्ट्रिय समाचार,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: