प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा

May 16, 2021 10:52 am

जनकपुरधाम । कोरोना संक्रमणको उच्च जोखिमको कारण प्रदेश नम्बर–२ का सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । भारतसँग सीमा जोडिएको प्रदेश–२ मा कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि नियन्त्रण तथा रोकथामका लागि आठै जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

भारतमा नयाँ भेरियन्टको संक्रमण उच्च रहेको र खुला सिमानाका कारण यहाँ पनि त्यसको असर परेको भन्दै भारतसँग सीमा जोडिएका सबै नाकामा कडाइ गरिएको छ । सीमानाकाबाट आवतजावतमा पूर्ण रोक लगाइएको प्रदेश–२ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए ।

प्रदेशको अस्थायी राजधानी रहेको जनकपुरधामसहित जनकपुरमा वैशाख २१ गते निषेधाज्ञा जारी गरिएको थियो । त्यसमा पुनः थप गरी यही जेठ १० गतेसम्म लम्ब्याइएको छ ।

त्यस्तै, महोत्तरीमा वैशाख २२ देखि जारी निषेधाज्ञा र सर्लाहीमा वैशाख २५ देखि जारी निषेधाज्ञा जेठ १० गतेसम्म नै थप गरिएको छ । रौतहटमा वैशाख २४ देखि निषेधाज्ञा जारी गरिएको थियो भने पुनः थप गर्दै जेठ ७ गतेसम्म कायम गरिएको छ ।

बारा र सप्तरीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । बारामा वैशाख २३ देखि अर्को आदेश नहुँदासम्मको लागि निषेधाज्ञा जारी गरिएको हो भने सप्तरीमा वैशाख २५ गतेदेखि निषेधाज्ञा जारी छ । पर्सामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा कायम छ ।

त्यस्तै, पछिल्लोपटक सिरहामा पनि जेठ १ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले जेठ २१ गतेसम्म २० दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

कोरोना कारण प्रदेश–२ मा शनिबारसम्म २७७ जनाको मृत्यु भएको छ । धनुषामा २५, महोत्तरीमा २१, सर्लाहीमा १५, रौतहटमा ११, बारामा २७, पर्सामा ८८, सप्तरीमा ५० र सिरहामा ३६ जनाले ज्यान गुमाएका छन् ।

          May 16, 2021 10:52 am | प्रदेश तह,समाज


प्रतिकृयाहरू :

समाचारहरु: