प्रदेश १ सरकारद्वारा सुुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालन

April 30, 2021 8:13 pm

विराटनगर । प्रदेश १ सरकारले आजदेखि कोरोना संक्रमितको उपचारकालागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्तलगानीमा निर्माण गरिएको कोभिड अस्पताल आज देखि सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि विरामी भर्ना शुरु गरिएको छ । विरामी भर्ना गर्नु अघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले अस्पतालको निरीक्षण गरेका थिए । अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमितको उपचारकालागि प्रदेश सरकारले अहोरात्र काम गरिरहेको बताए ।

उनले संक्रमण दर बढेसँगै उपचारको प्रवन्ध पनि गर्दै गएको बताए । उनले निजी अस्पतालहरुसँग पनि छलफल भईरहेको जानकारी दिए । मुख्यमन्त्री राईले विराटनगर बाहेक जिल्ला स्तरमापनि २० वेड सम्मको आईसोलेसन केन्द्र निर्माणका लागि जिल्ला अस्पतालहरुलाई निर्देशन दिई सकिएको बताए । विराटनगरमा संक्रमण बढ्दै गएकाले चेनब्रेक आवश्यक देखिएको भन्दै मुख्यमन्त्री राईले प्रदेश १ का ५ स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय भएको बताए । जसमा विराटनगर रानी, झापाको काकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सुनसरीको भाण्टाबारी, सोलु, ओखलढुङ्गा र खोटाङमा होल्डिङ सेन्टर बनाउने निर्णय भएको हो ।

सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल अत्याधुनिक रहेको बताइन् । कोभिड अस्पतालको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भईसकेको छ । एउटा सिफ्टमा १९ जना रहने गरि व्यवस्थापन गरिएको र अपुग जनशक्तिका लागि पनि व्यवस्थापनको तयारी भईरहेको मन्त्री राईको भनाई थियो ।

          April 30, 2021 8:13 pm | प्रदेश तह,विविधा,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: