‘अंकगणितले मात्रै स्थिरता दिँदैन’


वर्षभरमा घटनाक्रम मात्रै भए । कुनै संरचनागत परिवर्तन भएनन् । नयाँ कुरा केही भएनन् । समाज र राजनीतिमा कुनै नयाँ एक्टर पनि देखिएनन् । साहित्यमा केही युवा उदाएको देखिन्छ तर राजनीतिमा कोही उदाएनन् । 

राजनीतिलाई परिवर्तन गर्ने सामाजिक संरचनाले नै हो । परिवर्तनका लागि नीति निर्धारण गर्ने काम समाजले गर्छ । निर्णय गर्न विभिन्न एक्टरहरू हुन्छन् । निर्णयमा प्रभाव पार्ने, दबाब दिने र सहयोग गर्ने समाज हुन्छ तर अहिले सबै संयन्त्र कमजोर भएका छन् । रोग लागेको अवस्थामा राजनीति पुगेको छ । रोग त पहिल्यैदेखि लागेको हो । अहिले झनै कडा हुँदै गएको छ । मजस्तो व्यक्ति चुप लागेर बस्ने ठाउँमा पुगेको छु । उपचारका लागि मरमसला मिलाइदिने कोही देखिएको छैन ।

लोकतन्त्र र सामाजिक न्यायको मुद्दा पञ्चायतकालदेखिकै हो । बहुदल आएपछि सब ठीकठाक हुन्छ, ठीक बाटोमा लैजान्छौं भन्ने हामी सबैले ठान्यौं । एउटा कालखण्डमा केही गर्नुपर्छ भनेर हामी पनि लाग्यौं । त्यतिबेला राजनीतिको गन्तव्य प्रस्ट थियो । सहयात्री को हो भन्नेबारे प्रस्ट थियो । एकातिर माओवादीको जनयुद्ध थियो, अर्कोतर्फ त्यसले जोडिएको हिंसा र पीडाको सागर थियो । त्यसको उपचार खोज्नुपर्छ भनेर गिरिजाबाबु लाग्नुभयो । हामी लाग्यौं । आन्दोलन भयो । बहुदल आयो । गणतन्त्र आयो । संविधानसभाबाट संविधान जारी भयो । अब त सब ठीकठाक होला भन्ने लाग्यो । समावेशी, संघीय चरित्र, शक्तिको बाँडफाँट, साधनस्रोतको बाँडफाँट, संस्कृति, परम्परादेखि दलितलगायत उपेक्षित समुदायको राज्य संयन्त्रमा पहुँचलगायतका मुद्दासम्म सम्बोधन गरेर अघि बढ्नुपर्ने थियो ।

यसैका लागि ०६२/०६३ को आन्दोलन भएको थियो । संविधानले यी सबै मुद्दालाई समेट्न नसकेको भए पनि संशोधनमार्फत सम्बोधन गर्न सकिने थियो । संविधान संशोधन गरेर जनताप्रति उत्तरदायी शासन व्यवस्था चलाउनुपर्नेमा एक प्रकारले एकलकाँटे किसिमले राज्य सञ्चालन गर्ने काम गरियो । सत्ताबाहिरका शक्तिहरू पनि निर्धक्क भएर राजनीतिक सोच र चिन्तनमा चुनौती दिने ठाउँमा आउन सकेनन् ।

राजनीतिक एक्टरहरू व्यक्तिगत स्वार्थ, शक्तिको खोज र सोचले काम गर्न थाले । राजनीतिक संस्कार, जनउत्तरदायी भावनाको विकास नेताहरूमा देखिएन । बरु सत्ताका लागि विदेशी शक्तिको शरणमा जाने काम भयो/भइरहेको छ । ०७८ सालमा पनि आशा गर्ने ठाउँ देखिएको छैन । प्रवृत्ति, संरचना र नीतिमा परिवर्तन हुँदै छ भन्ने आभास छैन । संसद्को अंकगणित भनेको सरकार बनाउनका लागि आवश्यक छ तर अंकगणितले स्थिरता दिने भन्ने कुरा कृत्रिम हो । सबैभन्दा ठूलो भूमिका एक्टरको हुन्छ । हाम्रोमा एक्टरकै अभाव छ । संसद्को अंकगणितको होइन ।

कान्तिपुरबाट

          April 13, 2021 9:37 am | मिडियाबाट साभार,राजनीति,विचार/ब्लग

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित