सहारालाई समुदायमा पहिलो रोजाइको बनाउँदैछौं : गिरी

April 3, 2021 7:11 am

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) नेपालकै सबैभन्दा धेरै सदस्य रहेको सहकारी संस्था हो । पूर्वी नेपालबाट सहकारीको अभियानलाई देशभर फैलाउन सफल सहारा नेपाल आम नागरिकको सहारा बन्दै गएको छ । स्थापनाको २५ वर्ष पूरा गरेर आजबाट २६औं वर्ष प्रवेश गर्दै गरेको सहाराका सामु अझै धेरै अवसर र चुनौतिहरु छन् । यसले स्थापनाकालदेखि हालसम्म हजारौं नागरिकलाई समेटेको छ । नागरिकको जीवनमा आर्थिक एवम् सामाजिक योगदान गरिरहेको छ । स्थापनादेखि हालसम्म सहाराले गरेका काम, आगामी योजना र संभावित जोखिमका सन्दर्भमा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीसँग गरिएको विशेष कुराकानीः

सहारा नेपालको परिकल्पना कसरी गर्नुभयो ?

आजभन्दा २६ वर्ष अगाडि काठमाडौंमा बसेर नरनाथ गिरी, दुर्गा भण्डारी, म लगायतका साथीहरु मिलेर यस संस्थाको परिकल्पना गरेका थियौं । खास गरेर झापा जिल्लाको चारपाने क्षेत्रमा एक हजारको नोट पनि नसाटिने र यस क्षेत्रका साहुमहाजनले सयकडा ३÷४ रुपैयाँ व्याजमा ऋण लगानी गरेको देखेपछि हामीले सहकारी स्थापना गर्ने सोच बनायौं । त्यसै अनुरुप हामीले २०५२ साल फागुन ११ गते प्रारम्भिक भेला आयोजना गरेर ३३ जना साथीहरुबाट ३४ हजार शेयर पुँजी संकलन गरेर २०५२ चैत २१ गते विधिवत रुपमा डिभिजन सहकारी कार्यालय भद्रपुरमा संस्था दर्ता गरेका थियौं ।

स्थापनाकाललाई कसरी स्मरण गर्नु हुन्छ ?

स्थापनाकालमा हामीले धेरै संघर्ष गर्नुपरेको थियो । अहिले सुविधा सम्पन्न विल्डिङमा बसेको देख्दा सहजै यहाँसम्म आएको हो कि भन्ने धेरैको बुझाई छ । सहारा भनेको शुरुबाटै ठूलो संस्था भन्ने लागेको छ । तर, स्थापनाकालको शुरुवातमा हामीले साइनबोर्ड मात्र राखेर झोलामा कागजपत्र बोकेर काम गरेका थियौं । त्यो बेला प्रौढ कक्षाको ब्लाकवोर्डलाई टेवल बनाएर पनि काम चलाएका थियौं । शुरुमा टेवल कुर्सी किन्न नसकेर मागेर नै काम चलाएका थियौं । विभिन्न कार्यालयमा काम गर्ने साथीहरुले कार्वन, कागज र टी–टेवलहरु सहयोग गरेको अवस्था थियो । यसमा धेरैं साथीहरुको योगदान छ । संस्थापक ३३ जनामध्ये दिवंगत हुनुभएका छविलाल खनाल, लालराज सुवेदी, कुलदिप गिरी, ताराप्रसाद सञ्जेल, लिलबहादुर खड्का, चण्डी रिजाल लगायतको ठूलो योगदान छ । म उहाँहरुलाई स्मरण पनि गर्न चहान्छु । स्थापनाकालमा धेरै दुःख कष्ट भयो । त्यो बेलादेखि संस्थालाई यहाँसम्म ल्याउन धेरैको योगदान स्मरणीय छ ।

संस्था स्थापनामा कसले कसरी योगदान गर्नुभएको थियो ?

यसमा धेरै व्यक्तिहरुको सहयोग रह्यो । संस्था स्थापना गर्न संस्थापकहरु, त्यसैगरी ४३८ महिलाहरुलाई २२ वटा समूहमा आवद्ध गराएर बचत कार्यक्रम सञ्चालन गरेका थियौं । उहाँहरुले पनि धेरै योगदान गर्नु भएको थियो । यो कार्यक्रम पछि धेरै संस्थाको सहयोग प्राप्त भयो । नेफ्स्कोन तत्कालिन अध्यक्ष मिनराज कडेंल, आरएमडीसी सीइओ शंकरमान श्रेष्ठ लगायतको सहयोग रह्यो । उहाँहरु लगायतले संस्थाको उन्नति, प्रगतिमा सहयोग गर्नुभएको थियो ।

२५ वर्षको अन्तरालमा के कस्ता चुनौति व्यहोर्नु पर्यो ?

धेरै त पुँजी व्यवस्थापन र तरलता व्यवस्थापनमा चुनौति व्यहोर्नु परेको थियो । र, संस्थालाई विश्वास नै नगर्ने समस्याहरु पनि थिए । संस्थामा एक हजार रुपैयाँ तिरेर सदस्य बन्न पनि नमान्ने अवस्था थियो । २५ वर्षभित्र धेरै चुनौतिहरु पार गरेका छौं । शुरुको अवस्थामा समुदाय र शेयर सदस्यहरुले विश्वास नगर्नु, पुँजीको अभाव, दोहोरोपना ठूलो समस्या थियो । यिनै चुनौतिका बीच संघर्ष गर्दै हामी अघि बढेका छौं ।

सहारा नेपाल यहाँसम्म आउन कसरी सफल भयो ?

संस्था यहाँसम्म आइपुग्नु स्पष्ट लक्ष्य नै मुख्य आधार हो । नेतृत्वमा रहेको स्पष्ट भिजनले हामीलाई यहाँसम्म ल्याएको छ । स्ट्रोङ व्यवस्थापन र सञ्चालक पनि सहयोगी भएकाले हाम्रो संस्था सफल बन्दै गएको छ । र, अन्य सहकारीभन्दा फरक हुनुले पनि सफल भएका हौं । धेरै सहकारीहरुले बिना धितो ऋण लगानी गर्ने अवस्था थिएन । तर, हामीले महिला समूहको जमानी मार्फत लगानी गर्यौं । जसले हाम्रो लक्ष्य पूरा गर्ने अवस्था बन्यो । अहिले संस्थामा ९५ प्रतिशत सहभागिता पनि महिलाको छ । महिला इमान्दार हुनुले पनि संस्था सफल भएको हो । महिला पछि हामी किसानको बीचमा गएका थियौं । किसान साथीहरुलाई पनि समूह–समूह बनाएर कृषि सामग्री र ऋण लगानी गरेका थियौं । पहिलेदेखि नै संस्थालाई बलियो बनाउनुपर्छ भन्ने हामी सबैको सोच थियो । शुरुदेखि नै संस्थाको जगेडा कोषलाई दह्रो बनाउँदै गयौं । व्यवस्थापनलाई कडा बनाएर अघि बढ्ने संकल्पका कारण पनि संस्थालाई यहाँसम्म ल्याउन सफल भएको भन्ने लाग्छ । सामाजिक काम पनि गर्नुपर्छ भनेर समुदायको विकासका लागि सामुदायिक कार्यक्रमहरुलाई सँगसँगै अघि बढायौं । जसका कारण समाजमा हामीले सकारात्मक सन्देश प्राप्त गर्न सफल भयौं । सदस्यहरुका लागि बचत तथा ऋण बाहेक शिक्षा, स्वास्थ्य, कृषि, विपद् लगायतको क्षेत्रहरुमा पनि हामीले काम गरेर आम सदस्यहरुको मन जित्न सक्यौं जस्तो लाग्छ ।

संस्थाको सेवा क्षेत्र कहाँसम्म बिस्तार गर्नुभएको छ ?

सहारा नेपालको कार्यक्षेत्र प्रदेश १ को ६ जिल्ला झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, उदयपुरको ७० गाउँपालिका, नगरपालिकामा छ । अहिले हामी थप ५ वटा जिल्लाको १० वटा पालिकामा सेवा बिस्तारको काम गरिरहेका छौं । भविष्यमा हामीले प्रदेश १ का सबै जिल्लामा काम गर्ने सोच बनाएका छौं ।

सहारा नेपाल अहिले के गर्दैछ ?

सहारा नेपाल अहिले खास गरेर नेपालकै उत्कृष्ट संस्था बन्ने भनेर काम गर्दैछौं । हामी प्रविधिमा जाँदैछौं । प्रविधिमा एटिएम, ट्यावलेट बैंकिङ, मोवाइल बैंकिङ, क्यूआर कोड लगायतको काम गरिरहेका छौं । हाम्रो आन्तरिक व्यवस्थापनलाई पनि दह्रो बनाउदैछौं । भविष्यमा ‘ए’ क्लास बैंकको सेवा दिने तयारी गर्दैछौं । त्यसका लागि कर्मचारी र व्यवस्थापनलाई तालिम, क्षमता अभिवृद्धिका कामलाई अघि बढाएका छौं ।

सहाराको परिवार कति पुग्यो ? परिवारका सदस्यहरुले संस्थाबाट पाउने सेवा के के हुन् ?

हाम्रो संस्थामा अहिले १ लाख ५० हजार परिवारलाई समेटेका छौं । बचत तथा ऋण अन्तर्गत वित्तीय सेवा, रेमिट्यान्सका सेवा, बीमा सेवा प्रमुख सेवा अन्तरगत पर्दछन् । सदस्यको संरक्षण र सुरक्षाका लागि विभिन्न कार्यक्रमलाई अघि बढाएका छौं । जसमा स्वास्थ्यको कार्यक्रम छ । सदस्यहरु बिरामी हुँदा उपचार, अपरेशन, दूर्घटना र विशेष रोगहरुमा सहयोग गर्दै आएका छौं । त्यस्तै दीर्घरोग लागेका सदस्यहरुलाई औषधि सहयोग गर्छौ । मर्दापर्दाको अवस्थामा दशकर्मका लागि खर्चको व्यवस्थापन गरिरहेका छौं । विपन्न परिवारका लागि स्थानीय सरकार, दातृ संस्थाहरुको सहयोगमा १८ सय परिवारलाई आवास निर्माण गरेका छौं । विपदमा समेत सहयोग गर्दै आएका छौं । कृषि पशुमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको अवस्था छ ।

सहारा नेपालको अबको योजना के हो ?

सदस्य र समुदायको पहिलो रोजाईमा सहारा नेपाल बनाउने योजना छ । त्यसै अनुसार हामी अघि बढिरहेका छौं । त्यसका लागि सोही अनुसारको नीति तथा कार्यक्रम बनाइरहेका छौं । र, बैंकहरु भन्दा सहुलियतमा ऋण प्रदान गर्ने, बचतमा राम्रो व्याज दिने सोच बनाएका छौं । सहारालाई अन्तराष्ट्रिय ब्राण्डका रुपमा स्थापिन गर्ने योजना हो । हामी अन्तराष्ट्रियस्तरको पुरस्कार पनि लिने गरी तयारीमा काम गर्दैछौं । सबै क्षेत्रमा सक्षम वित्तीय संस्था बनाउन लागि परेका छौं ।

सहारा नेपालका अघिल्तिरको संभावित जोखिम के हो ?

संभावित जोखिम धेरै छन् । अहिलेको सहकारीको ऐन नियमले अझै समेट्न सकिरहेको छैन । विगतमा सहकारी सानैमात्र हुन्छन् भन्ने गरी नीतिहरु ल्याइएका छन् । क्यानडा, इजरायलका जस्ता ठूला–ठूला सहकारी पनि स्थापना हुँदैछन् । यसमा जोखिम पक्कै आउनेछन् । जोखिम समाधान गर्दै अघि बढ्ने छौं । ठूलै जोखिम पक्कै आउने छैन । सदस्यहरुले इमान्दार साथ ऋण तिर्नुभयो भने जोखिम हुँदैन भन्ने लाग्छ ।

सहारा नेपालले आवास निर्माणलाई नै किन प्राथमिकतामा राखेको हो ?

विपन्न नागरिकको आवास निर्माणलाई प्राथमिकता दिँदै आएको सत्य हो । यो सरकारको पनि प्राथमिकताको कार्यक्रम भएकाले स्थानीय, प्रदेश सरकारसँग साझेदारी गर्दै आवास कार्यक्रमलाई अघि बढाएका छौं । खासगरी झापा, मोरङ र सुनसरीमा यो कार्यक्रम सञ्चालन गरिरहेका छौं । त्यसै कार्यक्रम अन्तर्गत १८ सय आवास बनाइसकेका छौं । क्रमशः हामी निर्माणलाई अघि बढाउँछौं । साथै, सरकारका यस प्रकारका कार्यक्रममा हामी पनि सँगैसँगै जाने लक्ष्य बनाएका छौं ।

संस्थालाई कोभिडले कस्तो प्रभाव पारेको छ ?

कोभिडले अन्य क्षेत्रमा जस्तै सहरकारी क्षेत्रमा पनि प्रभाव पारेको छ । कोभिडको प्रभाव अहिले पनि उस्तै छ । यसै कारण कतिपय सदस्यले ऋणको किस्ता तिर्न सकिरहनु भएको छैन । होटल व्यवसाय समेत नतङ्ग्रिएको अवस्था छ । तर, संस्थाले पनि कोभिडबाट प्रभावितहरुलाई सहयोग गरिरहेको छ । कोभिड प्रभावितहरुलाई १० दशमलव ९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरिरहेका छौं । विगतमा हामीले कोभिडबाट प्रभावित सदस्य र समुदायका लागि सहयोग गरेका थियौं ।

मुलुककै अग्रणी संस्था भएकाले सहकारी क्षेत्रको संभावना चुनौतिहरुलाई कसरी लिनु भएको छ ?

सहारा नेपाल मुलुककै एउटा अग्रणी सहकारी संस्था हो भन्नेमा कसैको विमति छैन । संस्थाको एउटा पहिचान बनिसकेको अवस्था छ । सहकारी विभागले यो वर्षमात्रै सहकारी संस्थाहरु मध्ये सबैभन्दा धेरै कर तिर्ने संस्थाको रुपमा सम्मान गरेको छ । हामी बचत तथा ऋण सहकारी मात्रै भए पनि सदस्य र समुदायका लागि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा केही काम गर्ने तयारी गरिहरेका छौं । तर, पनि हामीलाई कतिपय काम गर्ने सवालमा ऐन, नियम बाधक भइरहेको छ । त्यसले गर्दा, कृषि क्षेत्रको लागि मासुमा आत्मनिर्भर हुने गरी कार्यक्रम ल्याएका छौं । तरकारीमा आत्मनिर्भर हुन टनेल भिलेजको अवधारणा ल्याएका छौं । प्रदेश मै मौरी उधोगका लागि तयारी थालेका छौं । आगामी दिनमा विशिष्टकृत सहकारी स्थापना गरेर भए पनि सदस्यहरुलाई फाइदा पुग्ने र आवश्यक हुने कार्यक्रमहरुलाई पनि अगाडि बढाउने छौं । समुदायमा राम्रो गर्ने सहकारीलाई राज्य पक्षाबाटै संरक्षण गर्दै लैजान सकिन्छ । यसो गर्न सकियो भने आम नागरिकको जीवनस्तर उकास्न सकिने छ । सामुदायिक विकासको काम गर्न सकिन्छ भन्ने उदाहरण सहारा नेपालले देखाइरहेको छ । सोही अनुसार हामी अघि बढिरहेका छौं । त्यसका लागि हामीलाई सरकारको पनि साथ चाहिन्छ ।

          April 3, 2021 7:11 am | अन्तर्वार्ता,मुख्य समाचार,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: