ताप्लेजुङका आगलागी पीडितहरुलाई सांसद भट्टराईको ५ लाख, सरकारले पनि ५-५ लाख दिने

March 3, 2021 4:59 pm

झापा । ताप्लेजुृङबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले दोभान बजारमा भएको आगलागी पीडितको उद्धार कोषमा ५ लाख रुपैयाँ दिएर आर्थिक संकलन शुरु गरेका छन् ।

मंगलबार ताप्लेजुृङको मेरिङदेन ३ दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेर ध्वस्त भएका र त्यसबाट ७९ परिवारको धनमाल नष्ट भएको थियो ।

काठमाडौमा रहेका ताप्लेजुङ बासीहरुबाट आर्थिक संकलन गर्न प्रतिनिधिसभा सदस्य भट्टराईको संयोजकत्वमा समिति निर्माण भएको छ । सो समितिले रकम संकलन सुरु गर्दा सांसद भट्टराईले पाँच लाख रुपैयाँ प्रदान गरेर अभियानको सुरुवात गरेका हुन् ।

यसैगरी सहयोग संकलन समितिका सहसंयोजक प्रदेशसभा सदस्य टंक आङबुहाङले पनि ३ लाख रुपैयाँ प्रदान गरेर अभियानको थालनी गरेका छन् ।

सहयोग संकलनका लागि गठित समितिको सहसंयोजकमा तत्कालीन संविधानसभाका सदस्य पासाङ शेर्पा र प्रदेशसभा सदस्य टंक आङबुहाङ रहेका छन् । सदस्यमा क्रमश चित्रगुप्त साँवा, डम्बरबहादुर तुम्वाहाम्फे, टंक श्रेष्ठ, रमेश बराल, बलबहादुर तामाङ, युवराज गुरुङ, तारादेवी श्रेङ, अग्नि पौडेल, नन्दु बनेम, पदमजंग आङवुहाङ रहेका छन् ।

यसैबीच गृहमन्त्री रामबहादुर थापा बादलले ताप्लेजुङका आगलागी पीडितहरुलाई प्रतिपरिवार पाँचलाख दिने आश्वाशन दिएका छन् । आज गृह मन्त्रालयमा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री भट्टराईको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीलाई कार्यविधि संशोधन गरेर हिमाली भेगमा दिइने आवास निर्माणको लागि भुकम्पपीडित तथा बाढीपीडित सो सरह पाँच लाख रुपैयाँ प्रतिपरिवार उपलब्ध गराउने बताएका हुन् ।

मन्त्री थापाले आगलागी पीडितको लागि तत्काल प्रतिपरिवार १५ हजार, ८० वटा कम्बल र ५० वटा टेन्टसमेत दिने बताए । ज्ञापन पत्र बुझाउन गएका प्रतिनिधिसभा सदस्य भट्टराईले पुनःस्थापनाको लागि भुकम्प पीडित सरह राहत उपलब्ध गराउने कुरामा विशेष जोड दिन आग्रह गरेका थिए । उनले सोलुखुम्बुको मोडलमा खानेपानी तथा दमकलको समेत काम हुनेगरी पानी ट्याङ्कीको व्यवस्था, पीडितहरुलाई मर्का नपर्ने गरी व्यवस्थित शहरको व्यवस्था गरिदिन गृहमन्त्री थापासँग माग गरेका थिए ।

          March 3, 2021 4:59 pm | मुख्य समाचार,राष्ट्रिय समाचार,समाज


प्रतिकृयाहरू :

समाचारहरु: