कोरोना संक्रमित सहाराका सदस्यहरुलाई वित्तीय सहारा प्रदान

February 19, 2021 5:34 pm

झापा । सहकारीको अन्तर्राष्ट्रिय सातौं सिद्धान्त समाजप्रतिको दायित्वलाई आत्मसाथ गर्दै झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमित आफ्ना शेयर सदस्यहरुलाई आर्थिक राहत प्रदान गरेको छ ।

फागुन ७ गते शुक्रबार कनकाई नगरपालिकाको सुरुङ्गामा कोभिड सहायता कार्यक्रमको आयोजना गरी सहारा नेपालले कोरोना पोजेटिभ भई होम आइसोलेसनमा बसेका र अस्पताल बसेर उपचार गरेका आफ्ना ११६ जना सदस्यहरुलाई राहत रकम हस्तान्तरण गरेको हो ।

संस्थाका एकजना कर्मचारी र तीनजना शेयर सदस्यहरुको कोरोना संक्रमणका कारण दुखद निधन भएको थियो । यस्तै ११६ जना शेयर सदस्यहरुलाई कोरोना संक्रमण भएको तथ्याङ्क छ ।

सोबारे अवगत गराउँदै संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विपदको घडीमा सदस्यहरुलाई मन फुकाएर सहयोग गर्नु संस्थाको दायित्व हुने ठानेर कोरोना राहत प्रदान गरिएको बताए ।

संस्थाले कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका ९८ जना सदस्यहरुलाई प्रतिदिन ५०० रुपैयाँका दरले १४ दिनको ७–७ हजार रुपैयाँ सहायता गरेको हो । सो शीर्षकमा संस्थाले ६ लाख ८६ हजार रुपैयाँ सदस्यहरुलाई वितरण गरेको छ ।

यसैगरी, अस्पतालमा बसेर कोरोना उपचार गराएका १८ जना शेयर सदस्यहरुको उपचार खर्चवापत २५ लाख ८५ हजार १३६ रुपैयाँ प्रदान गरिएको छ । सहारा नेपालले सो कार्यक्रममा ३२ लाख ७१ हजार १३६ रुपैयाँ सहायता वितरण गरेको कार्यकारी प्रमुख गिरीले जानकारी गराए ।

संस्थाले लकडाउन कालमा आफ्ना लघुवित्त तर्फका अति विपन्न ७ हजार ८१६ जना सदस्यहरुलाई दुई करोड ६८ लाख २३ हजार रुपैयाँ निव्र्याजी सापट उपलब्ध गराएको थियो ।

यसैगरी संस्थाले सदस्यले लिएको कर्जाको पाकेको ब्याजमा १० प्रतिशत अर्थात् ३ करोड ४५ लाख रुपैयाँ बराबर छुट दिएको थियो भने पालिकासहित विभिन्न तहका सरकारलाई ५७ लाख ३५ हजार २५७ रुपैयाँ राहत प्याकेज प्रदान गरिएको कार्यकारी प्रमुख गिरीले जानकारी दिएका छन् ।

संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा आयोजित कोभिड सहायता हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाई थिइन् । सो कार्यक्रममा कनकाई नगरपालिका वडा नं ३ का वडाध्यक्ष रुद्र चिमरिया, सुरुङ्गा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष भिम अधिकारी, शारदा प्रसाई पाठक लगायतले आफ्ना धारणा राखेका थिए ।

संस्थाका सञ्चालक सदस्य शुकबहादुर तामाङ्गले सञ्चालन गरेको कार्यक्रममा सहारा नेपाल साकोसका सञ्चालक समिति उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले शब्दद्वारा स्वागत गरेका थिए ।

          February 19, 2021 5:34 pm | मुख्य समाचार,समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: