कोरोना त्रासले बदलिएको सामाजिक संस्कार

February 8, 2021 5:00 pm

झापा । हिजोआज अधिकांश बालबालिकाहरु स्कूलबाट घर फर्केर पहिले साबुन पानीले हात धोएर मात्र खानेकुरा खाने र अन्य काममा अग्रसर हुन्छन् । त्यस्तै ठूला मान्छेहरु पनि घर बाहिर निस्कँदा मास्क नलगाई निस्कँदैनन् । स्वास्थ्य सम्बन्धी यस्तो सचेतना विगतमा सामन्यतया थिएन । तर हिजोआज मास्क नलगाई बाहिरफेर हिंडडुल गर्ने मान्छे असामाजिक पो हुन् कि भन्ने भान हुन थालेको छ ।

बितेका वर्षहरुमा अध्ययन–अध्यापनको क्षेत्रमा प्रविधिको प्रयोग कम मात्रामा हुन्थ्यो । यसवर्ष सानोदेखि ठूलो कक्षाका विद्यार्थी तथा शिक्षकहरुले पनि प्रविधिको प्रयोग गरेर आफूलाई अब्बल साबित गर्न सकेका छन् । कोभिड १९ को महामारीले विश्व नै तहसनहस भएपछि विश्वका अनेकन क्षेत्रमा ठूला परिर्वतनहरु ल्याएको पाइन्छ ।

सामाजिक, आर्थिक, राजनीतिक, सास्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा महामारीको असर परेको छ । हरेक देशको आर्थिक अवस्था धेरै खस्किएको छ । शक्तिशाली मानिने देशको अर्थतन्त्रलाई पनि नकारात्मक असर परेको बेला नेपाल त झनै छुट्ने कुरै भएन । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका संक्रमणबाट नेपालमा मात्र २ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने करिब २ लाख ७० हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यसो त विश्वका २२ लाख हाराहारी मानिसले यही संक्रमणबाट इहलिला समाप्त गरेको तथ्याङ्क छ ।

कोरोनाको कहर पछि हरेक मान्छेका क्रियाकलापहरुमा व्यापक परिर्वतन आएको छ । बिहान उठेर पानी शुद्ध नपिउनेहरु पनि कोरोनाको डरले भनौं या करले बेसार, अदुवा, कागती हालेर उमालेको पानी पिउन थालेका छन् । गुर्जोको नामसमेत थाहा नभएका हामी नेपाली खोजी खोजी यसको प्रयोग गर्न अभ्यस्त भइसकेका छौं ।

                       सुष्मा लुइटेल

तातो पानी पिउ न भन्यो भने औषधी दिएको ठान्ने इलाम नगरपालिका ५ कि निर्मला दाहाल हिजोआज पानीसँगै बेसार, कागती, अदुवाका साथै तीतो गुर्जोसँग बानी परेकी छन् । त्यस्तै अघिपछि धुलाम्मै सडकमा हिडिरहँदा पनि मुखसम्म नछोप्ने उनकै हजुरआमा डम्बरकुमारी बजगाई घरै परतिरको छिमेकीकोमा जान पनि मेरो मुखारी कता गएछ ए, केटाकेटी हो भन्दै मास्क खोज्नतिर लाग्छिन् ।

कुनै कार्यलय प्रवेश गर्दा त्यहाँ रहेका सुरक्षागार्डले मास्क लगाएर र सेनिटाइजरको प्रयोग गरेर मात्र प्रवेश गर्न दिन्छन् । कतिपय कार्यालय, व्यवसायिक प्रतिष्ठान, शैक्षिक संस्थामा र घर बाहिर नै साबुन पानीले हात धोएर मात्र प्रवेश गर्ने व्यवस्था मिलाइएको देखिन्छ । यो सबै सरसफाईको संस्कार बसाउन कोरोना महामारीको भूमिका महत्वपूर्ण छ ।

विद्यालयको परीक्षामा सोधिने प्रश्नपत्र तयार पार्न साइबर धाउने इन्दिरा मिस हिजोआज काखैमा ल्यापटप राखेर यसरी है, नानी हो, भन्दै कम्प्युटर सम्बन्धी ज्ञान बाँड्न थालेकी छन् । यस्तैगरी विगतमा धेरै मान्छे बोलाएर टन्न खुवाउँदा मात्र विवाह या भनौं कुनै धार्मिक कार्यक्रम सफल हुन्छ, भन्ने मान्यता राखेकी बिर्तामोडकी भगवती आचार्यले हिजोअस्ति छोरीको विवाह गर्दा सिमित मान्छे बोलाएर, भिडभाड नगरी, सानो विवाह गर्दा पनि हुन्छ भन्दै गाउँघरमा सन्देश दिन थालेकी छन् ।

पश्चिमी हावा पानीले छोइसकेको बेला कोरोनाले समाजमा भने केही सकारात्मक संकेतहरु ल्याएको देख्न सकिन्छ । व्यस्त जीवन अनि अव्यवस्थित खानपानले प्रभाव पारेको समय कोरोना महामारीले गर्दा घर भित्रको संसार मै रहन सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको छ । समाज रुपान्तरणका लागि यस्ता महामारीहरु पनि साधन बन्दा रहेछन् भन्ने कुरालाई कोरोनाकालमा हुँदै आएका रचनात्मक कार्यले पुष्टि गर्दै लगेका छन् । हिजो पनि ती अबोध स्कूले बालबालिकाले हात नधोई खाजा खाने गर्थे भन्ने उठान गरिएको होइन तर आज चाहिँ तिनीहरु अनिवार्य हात धुन अभ्यस्त भएका छन् ।

मास्क धुँवा धुलोबाट बच्न लगाउने गरिन्थ्यो तर अहिले रोगको संक्रमण हुनबाट बच्न मास्क अनिवार्य छ । अबको कैयन अवधि यसले पक्कै निरन्तरता पाउने विश्वास छ । घर बाहिर निस्कँदा मास्क नलगाउनु असामाजिक बन्नु जस्तै भएकाले बानीमा परिवर्तन आउन थालिसकेको छ । यस्तै यस्तै आनीबानी र प्रविधिमा पनि कोरोनाको कहरले मानिसका सभ्यता एवम् संस्कारमा परिवर्तन ल्याएको छ ।

          February 8, 2021 5:00 pm | मुख्य समाचार,विचार/ब्लग,समाज,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: