खाद्यान्नमा उपभोक्ता ठग्ने क्रम वृद्धि, कारबाहीबाट ४४ लाख राजश्व सङ्कलन

January 25, 2021 10:54 am

काठमाण्डौ । खाद्यान्नमा मनलाग्दी मूल्य र मिसावट गरी उपभोक्ता ठग्ने क्रम बढेको छ ।

सरकारले गरेको बजार अनुगमनका क्रममा सबैभन्दा धेरै खाद्यान्न पसल र खाद्यवस्तु उत्पादन गर्ने कम्पनी कारबाहीमा परेका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गत पुस महिनामा १ सय ६ खाद्यान्न पसल अनुगमन गर्दा २७ फर्म कारबाहीमा परेका छन् । ६२ फर्मलाई निर्देशन तथा १६ फर्मलाई स्पष्टीकरण सोधिएको छ ।

मनलाग्दी मूल्य र म्याद नाघेका वस्तु बेच्ने फर्मलाई गरिएको कारबाही र जरिवानाबाट ४४ लाख पाँच हजार रुपैयाँ राजश्व सङ्कलन भएको विभागका सूचना अधिकारी शिवराज सेढाईँले जानकारी दिएका छन् । ५४ हजार रुपैयाँ बराबरको म्याद सकिएका खाद्यान्न नष्ट गरिएको हो ।

उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको पनि विभागले जनाएको छ । गएको पुस महिनामा खाद्यान्नसहित विभिन्न २८ विषयगत क्षेत्रका ३ सय ५१ फर्मको अनुगमन गरिएको थियो ।

तीमध्ये खाद्यान्नसहित १ सय ९ फर्म कारबाहीमा परेका छन् । १ सय ६८ फर्मलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने ६६ फर्मलाई स्पष्टीकरण सोधिएको छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा अण्डा तथा दाना, अस्पताल, उद्योग, कपडा तथा कस्मेटिक पसल, किराना तथा खाद्यान्न, डिपार्टमेन्ट स्टोर, निर्माण सामग्री, मदिरा पसल, मार्ट र मासु पसल तथा फार्मेसीको अनुगमन गरिएको थियो ।

          January 25, 2021 10:54 am | अर्थतन्त्र,राष्ट्रिय समाचार,समाज

प्रतिकृयाहरू :

समाचारहरु: