अफगानिस्तानको कुन्दुज प्रान्तमा झडप १४ को मृत्यु

January 7, 2021 3:55 pm

अफगानिस्तानको उत्तर भागमा रहेको प्रान्त कुन्दुजमा सुरक्षकर्मी र आतङ्ककारीबीच भएको झडपमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ।

बुधबार मध्यराति भएको यस झडपको क्रममा छ सैनिक र आठ आतङ्ककारी मारिएका सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ। यस घटनामा के कति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन्।

अफगानिस्तानमा यतिखेर पुनः एक पटक शान्ति वार्ताको प्रयास थालिएको छ। यद्यपि अफगानिस्तानमा दिनहुँ राजनीतिक प्रेरित हत्या र हिंसाका घटना भइरहेको अवस्था कायम नै छ। यसै अवस्थामा अफगान सरकार र दुई दशकभन्दा लामो समयदेखि यहाँ हिंसा मच्चाइरहेका प्रमुख विद्रोही तालिवान समूहबीच कतारमा पुनःवार्ता सुरु भएको हो।

तालिवानी समूहले अहिले पनि सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिवान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन्। तर अफगान सरकारका वार्ताकारले स्थायी युद्धबिराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेष रुपमा जोड दिँदै आएको छ।

गतवर्ष फेब्रुअरीमा तालिवान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मे महिना भित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो। अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता सुरु भएदेखि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन।

अफगान अधिकारीले यी आक्रमणमा तालिवानीको संलग्नता रहेको दाबी गरिरहेका छन् तर अधिकांश यी आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिइआएको छ। तालिवानले जनतालाई विभाजित गर्ने र सरकारको सुरक्षा संस्थामाथि योजनाबद्धरुपमा जनतामा नैराश्यता उत्पन्न गर्ने कोशिस गरिरहेका छन्।

नागरिकदैनिक

          January 7, 2021 3:55 pm | परदेश (प्रवास)

प्रतिकृयाहरू :

समाचारहरु: