नाथमको तेस्रो शाखा बिर्तामोडमाः बिएचएम र टिटिएमको पढाई अब झापामै

November 18, 2020 7:50 pm

झापा । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम)को शाखा आजदेखि झापाको बिर्तामोडमा सञ्चालन गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रदेश १ मै पहिलो पटक बिर्तामोडमा नाथम कलेजको कार्यालय उद्घाटन गरेका हुन् । ४२ वर्षदेखि सञ्चालनमा रहेर पनि हालसम्म काठमाडौंमा मात्र सिमित रहेको नाथम कलेजका शाखाहरु भट्टराई मन्त्री भएपछि महोत्तरी, नेपालगञ्ज र बिर्तामोडमा खोलिएको हो ।

बिर्तामोडको अनारमनी पब्लिक क्याम्पस भवनमा स्थापना गरिएको कार्यालय उद्घाटन गर्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नाथमको शाखा विस्तारको नीति लिइएको बताए ।

नाथममा अध्ययन गरेको जनशक्तिले विश्व बजारमा राम्रो रोजगारीको अवसर पाएकाले पूर्वी नेपालका युवालाई लक्षित गरी बिर्तामोडमा शाखा खोलिएको उनको भनाई छ । सरकारी प्रतिष्ठान भएकाले कम शुल्कमा होटल तथा पर्यटन व्यवस्थापन सम्बन्धी गुणस्तरीय शिक्षाका लागि नाथम उत्कृष्ट गन्तब्य भइरहेको मन्त्री भट्टराईको भनाई छ ।

नेपालको पर्यटन व्यावसाय विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत भएकाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरेर गुणात्मक सेवा दिन सक्नुपर्नेमा मन्त्री भट्टराईले जोड दिएका छन् ।
होटल तथा पर्यटन क्षेत्रमा सरकार र निजी क्षेत्रको ठूलो लगानी भएकाले ७० प्रतिशत विदेशी मुद्रा आर्जन गर्न सफल भएको बताउँदै मन्त्री भट्टराईले सरकारले यस क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्न नाथमको शाखा राजधानी बाहिर स्थापना गर्ने नीति बनाइएको बताए ।

कृषि, पर्यटन र जलस्रोतलाई नेपाल सरकारले महत्व दिएको जनाउँदै उनले कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको ५ प्रतिशत योगदान रहेको सरकारी तथ्यांक भएपनि ७ प्रतिशतसम्म बढेको अनुमान सुनाए ।

वार्षिक ८० अर्बजति विदेशी मुद्रा पर्यटन क्षेत्रबाटै आर्जन हुने तथ्याङ्क सुनाउँदै मन्त्री भट्टराईले नेपालको एक वर्षको बजेट जतिको रकम सो क्षेत्रमा लगानी रहेको जानकारी दिए ।

यसैकारण पर्यटन क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति आवश्यकता अनुसार उपलब्ध गराउन तथा सिपयुक्त जनशक्तिको महत्वलाई ध्यान दिएर नम्बर एक तालिम केन्द्र नाथमलाई त्रिविले सम्बन्धन दिएको मन्त्री भट्टराईले प्रष्ट पारे । विदेशका ठूलठूला होटलहरूमा नाथमका विद्यार्थीहरुले रोजगारी पाएको उनको दावी छ ।

प्रदेश १ मा नाथमको शाखा खोल्न इटहरी, धरान, विरटानगर र बिर्तामोडलाई छनोट गरिएकोमा तीमध्ये बिर्तामोडलाई किन रोजियो भन्ने प्रष्ट पार्दै पर्यटनमन्त्री भट्टराईले झापामा फाइवस्टार होटल खुल्दै गरेको अवस्था, लगानी बढिरहेको अवस्था अनि कलेज सञ्चालनको पूर्वाधार स्टार होटल नै भएकाले प्राथमिकता पाएको बताए ।

यहाँ पर्यटकीय सम्भावनाका क्षेत्र अरूभन्दा धेरै छन् । पहाडी भूभागमा जान आउन बिर्तामोड नाका प्रमुख छन् । यद्यपि पूर्वका पर्यटन उद्यमी उतिसारो लगानी गर्न चाहिँ अग्रसर नभएको उनको आरोप छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओली पनि नाथमको शाखा झापामा खोल्ने कुराले उत्साहित हुनुहुन्छ’ मन्त्री भट्टराईले भने ‘नेपालको हवाईसेवालाई अन्तर प्रदेश वा अन्तर विमानस्थल उडान किन नगर्ने भन्ने विषयमा पनि उहाँसँग निरन्तर सम्वाद भइरहेको छ ।’

‘अब नेपाल आउने सबै विदेशी पर्यटकहरूले गाइड राख्नै पर्ने व्यवस्था गरिँदैछ’ मन्त्री भट्टराइले भने ‘पर्यटकस्तरको होटलमा काम गर्ने सबै मानिस तालिमप्राप्त हुनैपर्छ भन्ने मान्यताको विकास गरिएकाले नाथममा पढेका विद्यार्थीले शतप्रतिशत अवसर पाउने छन् ।’

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले सूर्य उदाउने जिल्लामा सूर्योदय हेरेर पर्यटकलाई लोभ्याउन पर्यटन तालिम केन्द्रको स्थापना गरिएको बताइन् ।

नाथम ल्याउन धेरै अप्ठ्याराहरुको सामना गरेको जनाउँदै सांसद निरौलाले अर्कै जिल्लामा लैजान खोजिएको अवस्थामा पनि यहाँ ल्याउन सफल भएको बताइन् । पूर्वी नेपालमा पर्यटकस्तरका होटलहरू खुल्नेक्रम बढेकाले तालिम दिलाउन पनि सहज हुने भएकाले बिर्तामोडमा नाथम खोल्न उत्प्रेरित गरेको उनको भनाई छ ।

प्रतिष्ठानका बारेमा नाथमका कायकारी प्रमुख दिपक थापाले अवगत गराएका थिए । ४२ वर्ष पहिले एचएमटीटी नाममा खोलिएको तालिम केन्द्र अहिले नाथम बनाइएको उनले बताए । पर्यटन सम्बन्धी सेवा दिइँदै आएको नाथमलाई काठमाडौमा मात्र सिमित नराखी प्रदेशस्तरमा विस्तार गरिएको उनले जानकारी दिए ।

गत असोज महिनामा नेपालगञ्ज, महोत्तरीमा शाखाको उद्घाटन गरिएको उनको भनाई छ । स्थापनाकालदेखि हालसम्म ४५ हजारभन्दा बढी जनशक्ति उत्पादन गरिसकेको थापाको भनाई छ ।

नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले भनेः ‘भगवानले तँ सोच म पुर्याउँछु भन्छन् अरे, हामीले सोचेको मन्त्री जीले पूरा गरिदिनु भयो । काठमाडौं बाहिर नाथमको उपस्थितिप्रति मन्त्रीजीलाई धन्यवाद ।’

कार्यक्रममा मन्तब्य राख्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंले नगरकै गहनाका रुपमा नाथम भित्रिएको बताइन् । बिर्तामोडमा पर्यटन प्रवद्र्धनका लागि नाथम उपयोगी हुने उनको विश्वास छ ।

उनले भनिन्, ‘साँघुरो भूगोल र बाक्लो जनघनत्व भएको बिर्तामोडमा नाथम ल्याउनु नगरको प्रगतिका लागि सकारात्मक छ । पूर्वमा धेरै काम गर्ने अवसर छन् । विश्वको अग्लो हिमचुचुरो सगरमाथादेखि नेपालकै होचो भूभाग कचनकवलसम्म यही प्रदेशमा पर्ने भएकाले नाथमको उपस्थिति हाम्रो लागि प्रगतिको द्योतक हो ।’

टुरिजम पढ्न विदेशिनु पर्ने अवस्थाको यसले अब अन्त्य गरिदिनेछ भन्दै उपप्रमुख प्रसाईले पर्यटकीय दृष्टिकोणले अब्बल स्थानमा कलेज आएको गर्व गर्नुपर्ने बताइन् ।
मन्त्रालयका मनराजा खत्रीले सञ्चालन गरेको शाखा कार्यालय उद्घाटन कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई नाथम बिर्तामोड शाखा प्रमुख सत्यनारायण साहाले स्वागत गरेका थिए ।

नाथम बिर्तामोड शाखामा व्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएमका लागि ८० सिट र ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट टिटिएमका लागि ४० जनाको कोटा निर्धारण गरिएको जनाइएको छ ।

          November 18, 2020 7:50 pm | अर्थतन्त्र,मुख्य समाचार,राष्ट्रिय समाचार,लोकप्रिय,शिक्षा

प्रतिकृयाहरू :

समाचारहरु: