अविलम्ब बैठक राखी विवाद समाधान गर्न नेकपा अनुशासन आयोगका अध्यक्ष बोहराको पत्र


नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको छ । समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई हामी कसैले इन्कार गर्न मिल्दैन । यस्तो महत्वपूर्ण भूमिका भएको पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने “गालिगलौज” “निन्दा भत्र्सना” “आरोप–प्रत्यारोप” र “पार्टी विभाजन” जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरु सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेका छन् । यो हाम्रो लागि गम्भीर चिन्ताको विषय हो ।

हामीसँग आन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा माक्र्सवादी परम्परा रहेका छन् । विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु हामीसँग छन् । त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु ।

विधि र पद्धति पार्टीका प्राण हुन । पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरु हामीले बुझेकै छौं । तर हामी किन पार्टी विधान अनुसार विधि पद्धतिको पालना गर्दैनौ ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ? जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन् ? अनि हामीहरु किन निःतान्त आत्मकेन्द्रित भएर सोच्दछौं ।

          अमृतकुमार बोहरा

हामीले यो कुरा बुझ्नुपर्छ, माक्र्सवादीहरु हरेक कुरामा खुल्ला–खुलस्त हुन्छन् । भित्र एउटा कुरा र बाहिर अर्काे कुरा गर्दैनन् । जालझेल र षड्यन्त्रलाई मनैदेखि घृणा गर्छन् । पार्टी र जनताका काममा कुनै गल्ती कमजोरी भए इमान्दारितापूर्वक आत्मालोचना गर्छन् र सच्याएर अघि बढ्छन् । एउटा कम्युनिष्टले अबलम्वन गर्नुपर्ने कार्यशैली भनेको यही नै हो । तर व्यवहारमा हाम्रो पार्टी यी कामहरुमा किन पछि परेको छ । सबैको मनमा प्रश्न उठिरहेको छ ।

पार्टीका निर्णयहरु आवश्यकताले कार्यान्वयनको लागि गरिन्छ । दराजमा सजाउनको लागि होइन । पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरु आजसम्म कार्यान्वयन नभई निस्क्रिय बसेका छन् । पार्टीका सम्पूर्ण निकाय अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी कामहरु आजसम्म थाँतिरहेका छन् । यो दुःखद पक्ष हो । तीन महिना, एक महिना पन्ध्र दिन र दश दिनभित्र पूरा गर्ने भनेर भाखा राख्दै आएको पनि अहिले २९ महिना बितिसकेको छ ।

तर विधानले एकैछिन असंगठित राख्न नमिल्ने महत्वपूर्ण कमरेडहरु वर्षाैंसम्म जिम्मेवारीविहीन हुँदा पार्टी नेतृत्वलाई किन घोच्दैन, किन पोल्दैन र यति महत्वपूर्ण विषयलाई प्राथमिकता किन राखिदैन ? यति सम्म कि लामो रस्साकस्सी र विवाद पछि समाधान हेतु कार्यदले प्रस्तावको रुपमा ल्याएको तथा २६ भदौ २०७७ को स्थायी कमिटी बैठकले कार्यान्वयनको निमित गरेको निर्णय समेत आजप्रर्यन्त अल्पत्र छन् । निर्णय कार्यान्वयन गर्ने तत्परता कतै देखिएकै छैन । बरु त्यसलाई अनेकौ बहानामा पन्छाउने काम भइरहेको छ ।

पार्टी नेतृत्वको सोच सधै फराकिलो हुनुपर्दछ । हृदयमा विशालता छैन भने त्यो कम्युनिष्ट हुँनै सक्तैन । संकृर्णता, आग्रह–पूर्वाग्रह, गुटबन्दी र रिस रागले पार्टी चल्न सक्दैन । उत्तेजना, आबेग र गालीगलौजले समस्याको हल हुँदैन । यसले त विवादलाई सरल होइन झन् जटिल बनाउँछ । तनावलाई सिथिल नगरी कि वार कि पार भन्ने ठाउँमा पु¥याउँछ । विनाशको बाटोतर्फ जाने यस्ता कुराको कल्पना हामीले गर्न मिल्छ ? यो गल्ती हामीले कदापि गर्नु हुँदैन । पार्टीमा समस्या छन्, तिनलाई हामीले स्वीकार गर्नुपर्दछ । पार्टी विधान बमोजिम त्यसको समाधानमा पहल गुर्नपर्दछ ।

अन्त्यमा, पार्टीका जिम्मेवार नेतृत्वगण प्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो । पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पुरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ । फुट र विभाजन प्रतिगामी कुरा छन् । विगतमा हामीले पार्टी फुटको दुःखद कुरा व्यहोरिसकेका छौं । अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्छ ।

त्यसैले कमरेडहरु, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं । पार्टी एकताका बाँकी सबै कामहरु छिटो पुरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाऔं । पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा बिचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्धारा परास्त गरौं । संयम्, धैर्यता र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्याका ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वगण प्रति विशेष अनुरोध गर्दछु ।

अध्यक्ष, केन्द्रीय अनुशासन आयोग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

२०७७ कात्तिक २४

          November 9, 2020 3:26 pm | मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार,विचार/ब्लग

प्रतिकृयाहरू :

समाचारहरु: