गायत्रीदेवीप्रति श्रद्धासुमनसहित ‘आमासँग मनका कुरा’

November 8, 2020 1:07 pm

म बाहुनडाँगीबाट आएको केटो । अनारमनीको बिर्तामोडमा बिहान–बेलुकाको सिफ्टमा सानो नोकरी गर्थें र यहीँबाट दिउँसो मेची बहुमुखी क्याम्पस, भद्रपुर धाउँथें । २०४७ सालमा मेची क्याम्पसमा आइए पढ्दा साथी युवराज काफ्लेसँग चिनाजाना भयो । कालान्तरमा उनले मलाई परिवारको सदस्यजस्तै बनाए । शुरुमा युवराज र मेरो क्याम्पस जाने बाटो अनि कक्षा पनि एउटै भएकोले हामीलाई घनिष्टता दिलायो । बिर्तामोडबाट बिहान साढे ९ बजे जुटेको दौंतरी अपरान्ह ४ बजेतिर बिर्तामोडबाटै छुट्थ्यो । त्यहाँजाने हामी थुप्रै यात्री सार्वजनिक बसको सिटमा बस्ने अवसर नपाउँदा बाँदर झुण्डिए जसरी नै बीचको फलामे पाइप समाएर झुण्डिएर यात्रा गथ्र्यौं । हामी विद्यार्थी (विशेष गरी केटाहरु) हल्ला गर्दै, इत्रिँदै भद्रपुर जान्थ्यौं । त्यस्तो यात्रालाई हामीले ‘एमसी सिट’ अर्थात् मङ्की क्लामिङ सिट नाम दिएका थियौं । झुण्डिँदै यात्रा गर्नु हाम्रो नियति नै सही तर रोमाञ्चक हुन्थ्यो । आज ३० वर्ष पछि मेची क्याम्पसमा पढ्दादेखि जोडिएको सम्बन्धलाई पारिवारिक बनेको प्रसङ्ग कोट्याउँदै केही लेख्ने प्रयत्न गरिरहेको छु । आमा गायत्रीदेवी काफ्लेको असामयिक निधनप्रति शोक व्यक्त गर्दै आमासँग गरिएका केही मनका कुराहरु अभिव्यक्त गरिरहेको छु ।

प्रारम्भिक दिनहरु सम्झन्छुः युवराजको साथमा म उनको घरमा जान थालेँ, भाइ रमेश नजिकिए । बिर्तामोडमा दामोदर ज्वाइँसाहेवहरुको मलखाद–विषादीको पसल थियो । उहाँहरुकोमा जाते–आते शुरु भयो । उतिबेला अर्थात् २०४७ सालदेखि नै म बिर्तामोडको सूचना सम्वाहक थिएँ । बिर्तामोडमा दुई वटामात्र टेलिफोनको पिसिओ थिए । त्यसैले मेरो रोजगारीको शिलशिलामा पनि दामोदरजीहरुसँग पुग्नै पथ्र्यो । यही मेसोमा गणेश दाइ, रञ्जना दिदी–योगेन्द्र भिनाजु अनि राजु भान्जा, सिर्जना र नाना बहिनी अनि आमासँग चिनजान भयो । तर गोबिन्द बुबालाई देखे पनि चिनजान र कुराकानी हुन्थेन । युवराज (सान्दादा) नै बुबाको छेउ नपर्ने, मलाई कसरी चिनाउन् र ! फेरि उहाँ योगी नरहरिनाथसँग यात्रा गरिरहने । घरमा प्रायः नभेटिने भएकोले पछिसम्म चिनजान भएन ।

२०४२ सालमा कनकाई माइधाममा योगीजीको अगुवाईमा भएको कोटी हवनमा मेरो सहोदर दाजु जीवनले चण्डी–रुद्री पाठ पारायण गरेर प्राप्त गरेको प्रमाणपत्रमा सचिवको हैसियतमा गोबिन्द बुबाको हस्ताक्षर थियो । मेरा बुबाको सल्लाहमा जस्वन दाजुले त्यो प्रमाणपत्र सिसा फ्रेम गरेर घरको भित्तामा पछिसम्म झुण्ड्याएका थिए । उही बेलादेखि गोबिन्द बुबाको नाम र यससम्म सुनेको हो, तर भेट हुँदैन थियो । पारिवारिक घुलमिल र माया ममताले म चाहिँ फुर्सद भयो कि बाहुनडाँगीको सट्टा लक्ष्मीपुर जान थालेको हुन्थेँ । पारिवारिक आत्मीयताले मलाई डोहोर्याई रहन्थ्यो । अन्ततः यो पक्रियाले मलाई परिवारकै एउटा सदस्य जस्तै बनाएछ । आमा र दाजु भाई दिदी बहिनीहरुको आत्मीय प्रेमले म त्यहीँको सन्तान भएको आभाष दिलाउँथ्यो ।

झण्डै २० वर्ष अघिदेखि गोबिन्द बुबासँग मेरो बसउठ शुरु भएको हो । उहाँका गतिविधिहरुमा साथदिने शुभचिन्तक र सहयोगीकोरुपमा मैले आफूलाई उभ्याउँदै गएको कारण उहाँको माया पाउन थालेको रहेछु । म पत्रकारिता पेसा अंगालेको मान्छे लेखनमा अलि रुचि राख्ने । अनि बुबालाई यस्तै मान्छे मनपर्दो रहेछ क्यार, म नजिकिन पाएँ । अगुवा पत्रकार स्वर्गीय मदन ढकाल, स्वर्गीय गोपीकृष्ण खनाल, सिलीगुडीका पत्रकार काका युवराज काफ्ले पनि गोबिन्द बुबाका हितचिन्तक भएको पाएपछि लेख्न जान्नेहरुलाई उहाँ माया गर्नु हुँदोरहेछ भन्ने थाहा पाएँ । यो पङ्ति लेखिरहँदा मलाई मेरो जिम्मेवारीबारे बोध भइरहेको थियो र आज पर्यन्त भइरहेको छ । ‘सकिन्छ भने आमाको जन्मदिनकै दिन (मंसिर २६ गते) विमोचन हुने गरी अभिनन्दन ग्रन्थ प्रकाशित गर्नुपर्नेछ’ यो, २०६८ सालताका मलाई सुम्पिएको जिम्मेवारी हो ।

उहाँको अपेक्षा मलाई थाहा थियो । तर अभिनन्दन ग्रन्थ तयार गर्न मागिएका लेख रचनाहरु समयमै प्राप्त भएका थिएनन्, यदि त्यसो हुन्थ्यो भने बुबाको मात्र होइन मेरो अभिलाषा पनि पूरा हुन्थ्यो । तर २०६८ सालमा बनाएको सोच आजसम्म पनि पूरा भएको छैन । खै के ले हामीलाई रोकिराखेको छ कुन्नि ? अब त आमाको पनि स्वर्गबास भइसकेको छ । आमाको अभिनन्दन ग्रन्थ प्रकाशन गर्ने सामग्रीहरु भेला पारेर स्मृति ग्रन्थ बनाउनु पर्ने बाध्यता बनिसकेको छ । यसै प्रयोजनका लागि मैले आमा गायत्रीदेवीसँग करिब एक घण्टा कुराकानी गरेको थिएँ । आमा गायत्रीदेवीको यही २०७७ कात्तिक १७ गते ७८ वर्षको उमेरमा देहावसान भएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सिङ्गो काफ्ले परिवारमा समवेदना बाँड्दछु । र, २०६८ साल मंसीर ५ गते दिउँसो आमासँग काफ्ले कुटिरमा गरिएको कुराकानीको मुख्य अंशलाई मैले उतिबेलै ग्रन्थका लागि तयार गरेको यो सामग्री यहाँ प्रस्तुत गरेको छु ।

‘आमासँग मनका कुरा’

भलाकुसारीको शुरुमा मैले सामान्य जीवनलाई केलाउने प्रयत्न गरेँ । आमाले आफ्नो  नाम, जन्म मिति, जन्मस्थानका बारेमा उही कुरा भन्नुभयो । बुबाको नाम अगन्धर पोखरेल, आमाको नाम चाहिँ भुसुक्क बिर्सनु भएछ । सम्झिने कोसिस फेल खान लागेपछि मैले टिपोट हेरेर सम्झाइ दिएँ ‘नर्वदा’ । कान्छी बुहारी रमालाई हेर्दै आमा निक्कैबेर अक्मकिनु भयो । बुबाको मृत्यु हुँदा आफू ५ महिनाको शिशु भएकोले देख्नसम्म नपाएको तर आमाको चाहिँ २०५२–५३ सालतिर मृत्यु भएको जानकारी दिनुभयो । ५ जना दाजुभाइ र दुई दिदी बहिनीमध्ये कान्छी उहाँ नै भएको थाहा दिनु भयो ।

भारतको आसाम राज्यको फाटासिमल भन्ने ठाउँमा प्राथमिक, प्रारम्भिक र प्रवेशिका गरी हिन्दी भाषामा तीन कक्षासम्मको अध्ययन घरमा नै बसेर पढेको र बंगाली भाषामा ५ कक्षासम्मको अध्ययन स्कूल नै गएर पढेको सम्झना छ उहाँलाई । उतिबेला बंगाली छोरीहरुलाई स्कूल जान छुट भए पनि नेपालीलाई थिएन रे । तर पनि परिवारका अगुवाहरुको सिफारिसमा उहाँले पढ्न पाउनु भयो ।

२०१३ साल फागुनको महिना थियो । शनिश्चरेको बारघरेबाट काकाले केटो खोजेर विवाहका लागि लैजानु भयो । उहाँ गोबिन्द काफ्ले हुनुहुन्थ्यो । कुरा मिलेपछि विवाह भयो । परम्परा अनुसार विवाह गरेको केही वर्ष माइतीमा नै बसेपछि २०१५ सालमा मैतालु फर्काइयो । तर एक वर्ष पनि नबित्दै सम्बन्धमा धाँजा फाट्यो रे । ‘त्यस्तो कुरा अब यो उमेरमा के गर्नु !’ बताउन नचाहँदा पनि मैले कर गरेर सोधेँ ‘मैतालु फर्काएको आठ महिना जति हुँदैथ्यो, के निहुँमा हो राति उहाँले कुट्नुभयो । हिंड्नै नसक्ने गरी पिटाइ खाएकी थिएँ, गाडा गोरुमा हालेर माइतीले लगे, ७ वर्षसम्म माइतीमा नै बसेँ ।’ अनि कसरी फेरि घर आउनु भयो त ? मैले जिज्ञासा राखेँ, ‘एक पटक कुटेर खेदेको भए पनि ७ वर्ष पछि आफैंले घर हिड भन्नुभयो, त्यसपछि आजसम्म फेरि त्यस्तो घटना दोहोरिएको छैन ।’ दोस्रो पटक घर भित्रिँदाको अनुभव कम रोचक रहेनछ । आफन्तले भूमिका खेलिदिँदा घर बसेको सम्झँदै भन्नुहुन्छः लोकनाथ सरकी आमा (मेरी माइजु)–ले हाम्री भान्जीको विवाहको दिन बोलाएर बारघरे ल्याउनु भयो । ‘जाउँ भान्जी विहेमा, गोडा धुनु, घरकाहरुले के भन्दा रहेछन् हेरौंला’ भनिन् ।

टिकाराम रिजालले पनि ‘कान्छी तिमी विहामा आउनु है’ भन्नु भएको थियो । रिजालनी आमैहरु पनि विहेमा जानु भाको’थ्यो, रातिको विवाह हुन्थ्यो । बिहानखेर पौडेलनी आमै त मलाई नबोलाई टाप कस्नु भएछ । रिजालनी आमैकै सल्लाहमा म आमाजु घरमा बसेँ । तिमीले अब यो घर नछोड भन्नुभयो । उहाँ (गोबिन्द बुबा) पाराखोपी पञ्चायतमा काम गर्नु हुन्थ्यो । त्यतिबेला भात खान बोलाउँदा पानी दिने चलन थियो । रिजाल्नी आमैहरुकै आड भरोसामा भात पकाएँ अनि डरले भुतुक्क हुँदै पानी दिएँ, केही नभनी भात खानुभयो । त्यही बेलुका घर हिड भन्नुभयो । मैलै फेरि कुटाइ खानु छैन, म त जान्न भन्दिएँ । तर भोलिपल्ट पनि घर हिड भनेपछि दुई दिन पछि डराउँदै–डराउँदै घर आएँ । त्यसपछि आजसम्म हात उठाउनु भएको छैन । तर अहिले पनि डर चाहिँ उत्तिकै लाग्छ ।’ तपाइँ माइतीमा बसेको बेला कोही लिन गएनन र ? मैले फेरि अर्को जिज्ञासा राखेँ । उत्तर खरो आयोः ‘जतिबेला म कुटिएर माइत बसेकी थिएँ, त्यत्रो ७ वर्षसम्म माइतमा बस्दा आपूm पनि लिन जानु भएन न कसैलाई लिएर आउ भनेर नै पठाउनु भयो । बरु मैले माइतीमा नै बसेर खान्छु भनेर आँट गरिसकेकी थिएँ ।’

मैले प्रसङ्गलाई मोडेर आफ्नो घरको नाम किन कुटिर राखेको भन्ने तर्फ लगेँ, आमालाई अलि सहज बनाउन । ‘काफ्ले कुटिर लेख्न थालेको २०१६ सालदेखि नै हो । एक्लै बसेका बेला के सोचेर हो, बारघरे घरमा काफ्ले कुटिर लेख्न थाल्नु भयो । अर्थ के हो मलाइ पनि थाहा छैन, तर घरको नाम भन्नु हुन्छ ।’ तपाइँले परिवारका अगुवाको माया कत्तिको पाउनु भयो ? मेरो जिज्ञासा पूरा नहुँदै प्रष्ट उत्तर पाएँ । सासूको बुहार्तन उहाँले खप्नु परेन रे । ससुराको अनुहार पनि देखिन, आपूmहरुको विवाह हुनुभन्दा पहिले नै सासूले दोस्रो विवाह गर्नु भएकोले शुरुदेखि नै अफैं घरमुली बन्नु परेको थियो ।

घर छोडेर हिंड्ने गोबिन्द बुबाको बानीले आमालाई पूरै सताएको रहेछ । घर ब्यवहार सबै मैले नै धान्नु पथ्र्यो । ५ जना हलि गोठाला राखिदिएको हुन्थ्यो । १८ बिगाहा खेती थियो, २ माउ गाई, ४ हल गोरु थिए गोठमा । बारघरेबाट धाउनु पथ्र्यो, ठूलो छोरी र ठूलो छोरा हुन्जेलसम्म त माथिबाटै धाउँदै थिएँ, तर अरु नानीहरु पनि लिएर हिड्न गाह्रो भएकोले यहीँ सेउले झुप्रो हालेर बस्न थालियो । इतिहास तथा पुरातत्वविद् योगीजीसँगको संगत ठूलोभाइ (गणेश दादा) ७–८ वर्षको हुँदा देखिकै हो । ‘कहाँ कोबाट सम्पर्क भएर हो योगीजी र सत्यदेव आउनु भयो । तीन दिन घरमै बस्नु भयो । अनि त बुबा योगीजीको पछि लाग्न थालिहाल्नु भयो । खै केले तान्यो कुन्नी !’ आमा पनि आश्चार्य ब्यक्त गर्नुहुन्छ । त्यत्रो दुःख पाउँदा पनि श्रीमानसँग रिस उठ्दैन थियो ? प्रश्न झर्न नपाउँदै शंका गर्नु भयो, आबुई पहिल्यै धुलाई भेटिएको छ, कसरी मलाई यस्तो भएन भन्नु ? अहिलेसम्म दोहोरा कुराकानी गर्न आँट आउँदैन । ६ जना छोराछोरी आपैंm स्याहारेँ, खेतीपाती गाइबस्तुको हेरचाह गरेँ, अनि १८ बिगाहा खेती उठाउने नेतृत्व पनि आफैं लिएर परिवार सञ्चालन गर्दै आएँ । जे जसरी भए पनि ती दिनहरु बिते, त्यसैले त आज सन्तानले सुख पाएका हुन् नि ।

मैले बाल्यकाल तर्फ स्मरण गर्न प्रेरित गरेँ । लोकनाथसरको लेख पढिसिध्याएकोले उतिबेलाको कुरा सोध्न आँट पलायो । बालख हुँदा आसाममा नाचेको र नाच मन पराउने दर्शकले लुगामा पैसा टाँसिदिएको सम्झनु भयो । ‘बेलाबेला मेरो लुगैभरि पैसा हुन्थे, उतिबेलाको भारु ४–५ सयसम्म हुन्थ्यो ।’

सोफामा अप्ठेरो गरेर बसेको देखाउँदै मैले कुरालाई स्वास्थ्य तर्फ मोडेँ । १० वर्ष अघि पाथीभरा मन्दिर जाँदा लडेर भाँचिएको ढाड सिधा भएको छैन । तीन वर्ष अघि काठमाडौं गएर उपचार गरियो, तात्तातो उपचार नपाएर होला ठीक भएन, अस्ती भर्खर पनि कोलकाताबाट २५ सय भारु पर्ने औषधीको सुई ल्याएर हानेको हो । दुख्न अलि छाडेको छ । उतिबेला उपचार नगरिदिएकोमा भने बुबामात्र होइन छोराहरु प्रतिपनि आमाको उत्तिकै गुनासो छ । यसै पनि परिवारका सबैको बराबर माया लाग्छ तर कान्छो छोराले गरेको माया चाहिँ किन हो अझै धेरै हो जस्तो लाग्छ रे । आमालाई पनि कान्छो छोरोको माया नै औधी लाग्छ रे ! आफ्ना छोरा छोरीहरु आफैंले केही कुरा जानेनन् भने पनि सिकाउनेले सिकाई दिए, काम कर्म गर्न सक्छन् भन्ने लागेको छ । किनभने अस्ती त्यत्रो अनुष्ठान लगाएर तुलादान गरिदिए । सिकाइदिने मान्छे भए, अगुवा कोही भइदिए भने आफ्ना छोराहरु कोहीभन्दा कम छैनन् भन्ने लाग्छ । अनुष्ठानको सम्झना गर्दा एउटा जिज्ञासा पो थपियो, पोहोर तुलादान गरेका बेलामा आँखाभरि आँशु थियो नि भन्दा उहाँले हर्षका आँशु भएको बताउनु भयो । तुलादान भन्ने सुनेकी आपूmले आप्mनै कर्म गर्दा त्यस्तो भएको होला । ‘एकातिरको पल्लामा मलाई राखे, अर्कातिर ग्वार्र पैसा खन्याए । आखिर तुलादान भनेको त आफ्नै तौल बराबरको पैसा दान गर्नु पो रहेछ ।’ कि परेर जान्नु कि पढेर जान्नु भनेको यही रहेछ ।

झण्डै ६० वर्षदेखि सँगै रहेका बुबाको सबैभन्दा राम्रो कुरा पूजापाठ गर्ने पहिलादेखिको बानीलाई लिनुहुने आमा धर्मकर्म गर्नु, पूराण लगाउनु, शिवजीको प्राण प्रतिष्ठा गर्नु बुबाको राम्रो विशेषता मान्नु हुन्छ । उहाँ शिवजीको भक्त हुनु भएकैले घरका धेरैजनामा धार्मिक भावना बढेको हो । उहाँको कस्तो बानीलाई नराम्रो मान्नु हुन्छ भन्ने मेरो जिज्ञासामा उहाँले त्यस्तो केही नभएको बताउनु भयो तर धेरै–धेरै दिनसम्म बिना सूचना घर बाहिर बस्नु हुन्छ नि भनेर स्मरण गराउँदा उहाँले त्यसैलाई नराम्रो बानी भन्दिनुभयो । हामीचाहिँ बुबा कहाँ जानु भयो भनेर खोजीनीति गर्छौं, बुबा बिना कुनै सूचना कहाँ कहाँ जानुहुन्छ, नत फोन नै गर्नु हुन्छ । आजको समयमा मान्छेका गोजी–गोजीमा फोन छन् तर बुबा न त फोन नै बोक्नु हुन्छ न त यहाँ गएको छु है भनेर घरमा खबर गर्नु हुन्छ । ३५ वर्ष यस्तैमा बितिसके ।

आफ्नै बारेमा विषयबस्तु समेटेर किताब निकाल्न लागेको थाहा पाउँदा कुरा राम्रै होला भन्ने लाग्छ तर केही केही कुरा अरुले थाहा नपाउन् भन्दा तिनीहरु पनि खुल्लान् र बुबा रिसाउनु हुन्छ कि भन्ने चाहिँ डर छ । क–कसले के के लेखेका छन्, नराम्रो लेखेका छन् र बुबा रिसाउनु पो हुन्छ कि ! जसले लेखेका छन्, साँच्चैका कुरामात्र लेखिदिए हुन्थ्यो । नराम्रो लेखेका रहेछन् भनेर बुबा रिसाउनु भयो भने पनि अब त केही गर्नु हुन्न होला कि ! उहाँमा विश्वास पनि जागेको छ ।

कुराको बिट मार्नै लागेको थिएँ, बिजुली आएछ, टिभी बज्न थाल्यो । नाति–नातिना स्कूल जाने, छोरा–बुहारी बन्द ब्यापारमा जाने, बुबा सामाजिक कार्यकर्ता अनि आमा घरमा एक्लै । रेडियो र टेलिभिजनको सहारामा एक्लै दिन काट्नु परिरहेको सन्दर्भमात्र के कोट्याएको थिएँ, राजनीतिले देश बिगारिरहेको कुरा आमाले बोलिहाल्नु भयो । तपाइँलाई देशको चिन्ता लाग्छ ? मेरो जिज्ञासा भुइँमा खस्न नपाउँदै उहाँले दिनहुँ रेडियो टिभी हेर्ने–सुन्ने भएकोले मलाई अहिलेको कुरा कण्ठै छः ‘भट्टराई (प्रधानमन्त्री डा. बाबुराम)–आए पछि धेरैले देश बन्ने आशा गरेका थिए झन् पो बिग्रेर गयो,’ राजनीतिक प्रहार गर्नुभयो । माओवादी पार्टी पनि मिलेन, झगडा गरिरहेका छन् अनि भट्टराईले देशै बिगारिसके । उहिले पञ्चायत हुँदा त यस्तो हुँदैनथ्यो, आजको जस्तो जग्गा पनि कब्जा गरिँदैनथ्यो । पञ्चायत हुँदा भोट हालेको थाहा छ तर बहुदल आएपछि बुबाले पनि भोट हाल्नु भएको छैन र मलाई पनि कसैले भोट हाल्न जाउँ भनेका छैनन् । अहिलेको जस्तो झगडा, हानाथाप भन्दा त बरु राजाकै पालामा राम्रो थियो, उहाँले सहजै निष्कर्ष दिनुभयो ।

२०६८ मंसिर ११

          November 8, 2020 1:07 pm | अन्तर्वार्ता,मुख्य समाचार,विचार/ब्लग,समाज

प्रतिकृयाहरू :

समाचारहरु: