स्वास्थ्यकर्मीको कोरोना अनुभवः जोक नठान्नु होला


विश्वलाई अस्तव्यस्त बनाइरहेको कोरोना भाइरसको महामारी नेपालमा देखिनासाथ सरकारले लकडाउन गरेको थियो । स्वास्थ्यकर्मी भएको नाताले लकडाउन अवधिमा पनि घरमा बस्न पाइएन । नागरिकलाई स्वास्थ्य सावधानी अपनाउन अग्रह गर्दै नियमित काममा खटिएको थिएँ ।

लकडाउन खुल्नासाथ नेपालमा कोरोनाको संक्रमण बढ्न थाल्यो । म स्वास्थ्यको कर्मचारी भएकोले मसहित मेरा सबै सहकर्मीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेका थियौं । जोखिम समूहमा रहेकोले पनि पर्याप्त सावधानी अपनाइएकै थियो । कामको चापले गर्दा अरु विषय सोच्ने फुर्सदसमेत हुन्थेन ।

नेपालीको महान चाडपर्वहरु दशैं लागयत नजिकिरहेका थिए । दमकमा भने संक्रमितको संख्या दिनानुदिन बढिरहेको थियो । लकडाउन खुल्नासाथ मानिसहरुले कोरोना नै पूर्णरुपमा नियन्त्रणमा आएको झैं गरेर चहल पहल बढाएकोले गर्दा संक्रमणको दर बढिरहेको थियो । जतिनै जोखिम र संक्रमण दर बढे पनि मेरो पेशाका कारण मैले समाजबाट टाढा रहेर बस्ने अवस्था थिएन, छैन । नियमित ड्युटीमा खटिने क्रममा सामान्य रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आयो । लक्षण देखिनासाथ म कार्यालय नआएर घरमै क्वारेन्टाइनमा बस्न थालें ।

मलाई संक्रमण देखिए तापनि जित्न सक्छुहोला भन्ने आत्मबल थियो । तर वर्षदिन मात्रै पुग्न लागेको नातिलाई पो समस्या हुन्छ कि भन्ने त्रास भयो । तर यसअघि पनि पटक पटक कोरोना परीक्षण गराएकोले कोरोनाको आशंका थारै मात्रै थियो । घरैमा बसिरहेका बेला छाती अत्यन्तै दुख्न थाल्यो । अन्य कुनै समस्या होला घरमाभन्दा डराउने पो हुन् कि भनेर मेरो अवस्थाको बारेमा परिवारलाई जानकारी नगराई छातीको एक्सरे गरें । एक्सरेको रिपोर्टमा निमोनियाँ भएको देखियो । अन्य रुघाखोकी पनि लागेकोले गत कात्तिक ५ गते कोरोना परीक्षणको लागि स्वाब पठाएकोमा ७ गते कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आयो । मैले जति नै सावधानी अपनाए पनि धेरै मानिसहरुसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने भएकोले कहाँबाट संक्रमण भयो भन्ने सोच्नै सकिएन ।

मलाई संक्रमण भएको र श्रीमती मुनालाई समेत सामान्य लक्षण देखिएपछि उनको पनि स्वाब परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आयो । छोरा बुहारी र नातिलाई अलग्गै राखेर हामी श्रीमान श्रीमती अलग्गै कोठामा बस्न थाल्यौं । मलाई निमोनियाँ नै भइसकेकोले गर्दा निक्कै समस्या भयो । श्वास फेर्न गाह्रो हुने, खानाको स्वाद नहुने, निन्द्रा नलाग्नेजस्ता लक्षण देखिए । त्यसका साथै जिउमा जताततै रातो दागजस्तो देखिन थाल्यो । डाइरिया पनि लाग्न थाल्यो । घरमै अक्सिजन राखेकोले त्यहीँबाट अक्सिजन लिने र लक्षणको उपचार गर्दै गएँ ।

स्वास्थ्यकर्मी आफू र श्रीमती पनि बिरामी भएर साथैमा रहेकोले बाहिर डर देखाउन भएन । तर मनमा भने धेरै डर पनि लाग्यो । छातीमा धेरै समस्या भएको र जिउमा राता राता दागसमेत देखिएकोले निक्कै डरले सतायो । दशैंको समय आफन्त साथीभाई कसैसँग भेट गर्न पाइएन । आफन्त आउँदासमेत आफू घर माथि छतबाटै तल बाटामा भएका आफन्तसँग गफ गरियो । अहिले पनि निरन्तर चिकित्सकहरुको परामर्शमा रहेर औषधी सेवन गर्दै घरैमा बसिरहेको छु ।

हिजोबाट भने थोरै लक्षणहरु हराउँदै गएका छन् । तर एक हप्तासम्मको कडा ज्वरो र छातीको निमोनियाले गर्दा एकदमै धेरै कमजोरी महसुस भएको छ । यसअघि धेरै बिरामीहरुलाई टेलिफोनबाट वा भेटेरै परामर्श र हौसला दिँदै आएको म आफैंलाई सान्त्वना दिन नसक्ने अवस्थामा पुगें । काम नै स्वास्थ्य क्षेत्रमा भएकोले कोरोना संक्रमित भइएला भन्ने मानसिक तयारीमा त थिएँ । तर यति साह्रो पार्ला भन्ने सोचेको चाहिँ थिइँन । समुदायमा जाँदा पनि मास्क अनिवार्य हुन्थ्यो । घर फर्किएर साबुन पानीले हात धुन्थेँ । सतर्कताका सबै उपाय अपनाउँदा अपनाउँदै पनि मलाई झुक्याएर कोरोना भाइरसले आक्रमण गर्यो । नेपाल अनि विश्वमा कोरोना संक्रमितहरुको संख्याको सूचीमा मेरो पनि संख्या जोडियो । तर अहिले भने केही सहज अनुभूति गरेको छु । र, यति लेख्न सक्ने अवस्थामा आएँ ।

कतिपयले कोरोना भाइरस केही होइन, सामान्य हो, तातोपानीले उडाइन्छ भन्दै गफ गरेको पनि सुनेको छु । कतिपयले भने कोरोनाको नाउँमा नागरिकलाई मुर्ख बनाईंदैछसम्म भनेका छन् । तर तपाईं कोरोना भाइरसलाई जोक नठान्नु होला । यो हौवा होइन, सत्य हो । कति सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमण हुनसक्छ । अझ अहिले त कोरोनाको संक्रमण समुदायमै फैलिइसकेको छ । आफू अगाडि भएका हरेक मान्छेलाई कोरोना भाइरस संक्रमित भएको ठान्नुस् । त्यही अनुसार मास्क लगाउनुस् र सामाजिक दूरी कायम गर्नुस् । हेलचेक्र्याईं गर्दा ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ ।

(लेखक भट्टराई दमक नगरपालिका झापाका स्वास्थ्य अधिकृत हुन् ।)

          November 3, 2020 7:31 am | मुख्य समाचार,विचार/ब्लग,समाज,स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु: