सहकारिताः आत्मनिर्भरताको यात्रा

November 2, 2020 7:06 pm

‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भई व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतिको लागि गरिने एकताबाद्ध प्रयास नै सहकारी हो । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ ।

विद्वान हेनरी काल्भर्टले सहकारीलाई परिभाषित गर्दै भनेका छन्ः सहकारी संगठनको त्यो रुप हो, जसमा व्यक्तिहरु स्वेच्छाले आफ्ना हितको कुराहरु सुधारका लागि समानताको आधारमा एकसाथ मिलिजुली काम गर्दछन् ।

अतः सहकारी संगठन त्यो रूप हो, जसमा व्यक्तिहरू स्वेच्छाले आफ्ना हितको विषयमा एकसाथ मिलेर कार्य गर्दछन् । साझा उद्देश्य प्राप्त गर्न प्रजातान्त्रिक नियन्त्रणमा रहेर सिमित साधन र स्रोत भएका ब्यक्तिहरु एकत्रित भई कार्य गर्दछन् । समान इच्छा, आकाङ्क्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा सहकार्य हुँदै आत्मनिर्भरता तर्फको यात्रामा अघि बढाउने संस्था नै सहकारी हो । एक फरक धारको संस्थाको रुपमा विकसित सहकारीलाई बैंक तथा वित्तीय सस्थाहरुसँग तुलना गर्ने चलन मानिसहरुमा रहेको छ । अर्थ मन्तालय अन्तरगतको नेपाल राष्ट्र बैंकको मातहतमा रहने बैंक तथा वित्तीय संस्थाहरु र भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकारी विभाग अन्तरगतको सहकारीहरुले अलग रुपमा कार्य गरिरहेका छन् ।

आम बुझाइमा सहकारीहरुले आर्थिक कारोबार गर्ने भएकाले यो एउटा बैंक वा कुनै वित्तीय संस्था हो भन्ने बुझाई रहनुका साथै बैंक सो सरह सहकारी हुनुपर्ने तर्क पेश गरिरहेको पाउन सकिन्छ । तर यथार्थमा आर्थिक कार्यमात्र गर्ने नभएर नितान्त रुपमा अन्य वित्तीय कारोबार गर्ने संस्थाभन्दा अलग अन्तर्राष्ट्रिय रुपमै सात सिद्धान्त बोकेको संस्था हो सहकारी । यद्यपि यो अलग संस्थामा एक श्रमजीवी, सर्वहारा र आममानिसले आफूसँग भएको थोरै पूँजीलाई एकत्रित गर्दै आफ्नो आर्थिक, सामजिक र दैनिक अवस्थालाई माथि उकास्न सहाकारीमा आवद्ध रहेर आफ्नो आर्थिक तथा सामाजिक गतिविधि अगाडि बढाउन आवश्यक छ ।

अन्य वित्तीय संस्थाहरुभन्दा सहकारी नै किन उपयुक्त हुन्छ ? हेर्नुस् निम्न ६ वटा कारण तथा विशेषताहरुः

१. स्वामित्व र मुनफाका लागिः

सहकारीका कारोबार गर्ने सम्पूर्ण व्यक्ति सेयर सदस्यको रुपमा रहने भएकोले सबैजना सहकारीका मालिक रहन्छन् । र, लगानीको आधारमा सबैलाई समान हिसाबले मुनाफा बाँडिने भएकाले सबैले मुनाफा पाउँछन् । तर अन्य आर्थिक कारोबार गर्ने संस्थामा लगानी गर्ने निश्चित व्यक्तिहरुमात्र मालिक रहने हुँदा मुनाफा निश्चित व्यक्तिहरुको पोल्टामा जाने हुन्छ ।

२. ब्याज दर सम्बन्धमाः

झट्ट हेर्दा सहकारीको ब्याज दर केही महङ्गो देखिए तापनि बैंकभन्दा सस्तो पर्न जान्छ । सहकारीमा धितो मूल्याङ्कनको शुल्क अन्य वित्तीय कारोबार गर्नेको भन्दा कम पर्नजान्छ । त्यसैगरी, बैंकमा चाहेको समयमा किस्ता र ब्याज तिर्न नपाइने र उसले दिएको समयमा तिर्नुपर्ने भएकोले अगाडि नै आफूसँग पैसा भएमा होल्ड गरेर राख्नुपर्ने हुन्छ । तर सहकारीमा जतिखेर पैसा हुन्छ, त्यसबेला नै तिर्दा होल्ड हुने पैसाले ऋणको ब्याज घट्न जान्छ । साथै आफूसँग कथम्कदाचित पैसा भए एकमुस्ट बिना पेनाल्टी ऋण चुक्तागर्न पनि सकिन्छ ।

सहकारीमा ऋणमा तिरेको ब्याज आम्दानीबाट केही प्रतिशत संरक्षित पुँजी फिर्ताकोषमा राखिने हुँदा उक्त रकम ऋणिलाई फिर्ता गरिने भएकाले आफूले तिरेको ब्याज आफैंलाई फिर्ता आउने हुन्छ भने बचतमा पनि बैंक तथा अन्य वित्तीय संस्थाभन्दा ज्यादा ब्याज प्राप्त हुन्छ ।

३. अवसरमा वृद्धिः

सहकारीहरुले उच्च प्राथमिकतामा राखी आफ्ना सेयर सदस्यहरुलाई भ्रमणमा लाने, उपयोगी तालिमको आयोजना गर्ने, राहतको ब्यवस्थापन गर्ने, ब्यवसाय प्रवर्धन तथा विकासमा प्राविधिक सहयोग गर्नेजस्ता कार्यहरु गर्दछन् । जुन अन्य वित्तीय कारोबार गर्नेले राख्दैनन् । तसर्थ सहकारीमा बढी अवसर प्राप्त हुन्छ ।

४. नेतृत्व चयन तथा नीति निर्माणमा प्रत्यक्ष सहभागिताः

सहकारीको साधरणसभामा सहभागी भएर प्रत्यक्षरुपमा आफूलाई मनपरेको सञ्चालक छान्ने वा आफैं बस्ने अधिकार सबै सदस्यमा हुन्छ । जुन अन्य वित्तीय संस्थामा हुँदैन । त्यसैगरी, समयसापेक्ष, सान्दर्भिक र सर्वमान्य नीति निर्माणमा सबैले सल्लाह, सुझाव दिनका साथै आवश्यक नीति निर्माणमा प्रत्यक्ष भाग लिन पनि पाइन्छ ।

५. सामाजिक कार्यः

अन्य आर्थिक गतिविधि गर्ने संस्थाभन्दा बढी सहकारीले आफ्ना सेयर सदस्यहरुको दुःख, सुख प्रत्यक्ष नियालिरहेको हुन्छ । सदस्यको स्तर उकास्न अनौपचारिक शिक्षा प्रदान गर्ने, राहत वितरण गर्ने, सामजिक कुरिती र कुसंस्कारलाई अन्त्य गर्ने जस्ता थुप्रै कार्य र गतिविधि सहकारीहरुले गर्ने गर्छन् । जन्मदेखि मृत्युसम्मका अनेकन घटनाहरुमा सहकारीले अभिभावकत्व प्रदान गरेर सामाजिक योगदान पुर्याइरहेको हुन्छ ।

६. झन्झट मुक्तः

खाता खोल्न, ऋण लिँदा धितो मूल्यांकन वा रोक्का फुकुवामा सकेसम्म सस्दस्यलाई झन्झट रहित कारोबार सहकारीहरुले गर्ने गरेका छन् । त्यसैगरी बचत गर्न वा फिर्ता लिन कार्यालयसम्म धाउनुपर्ने झन्झट पनि कतिपय सहकारीमा हुँदैन । त्यतिमात्र नभएर सदस्यद्वारा उत्पादित बस्तुको प्रवर्धन तथा बिक्री वितरणसमेत सहकारीले गरिदिने भएकोले अनावश्यक झन्झटबाट मुक्त हुन सकिन्छ ।

(लेखक योगी सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित सञ्चालक हुन् ।)

          November 2, 2020 7:06 pm | विचार/ब्लग,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: