मतदाता जनता नै दोषी हौं कि !


मुलुकमा लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको पनि पाँच वर्ष पुग्नै लाग्यो । राजनीतिक व्यवस्था र प्रजातन्त्रको उच्चतम् विधिबाट राज्य सञ्चालन गरेका यतिका वर्ष भइसक्दा पनि जनतालाई यसको अनुभूति भएको पाइन्न । न यस्तो राजनीतिक उपलब्धीले जनतामा आशा जागरण र उत्साह ल्याउन सक्यो न त मुलुकमा विकास निर्माणका गतिविधिहरु सन्तोषजनक नै बनेका छन् । बरु उल्टै राजनीति प्रति चरम निराशा र नेताहरु राजनीतिक दलप्रति चरम घृणा र विद्रोहका भाव जनतामा व्याप्त रह्यो । यसको कारण के हो केलाउनु जरुरी छ ।

                राजेन्द्र प्रसाई

अधिकांश जनता तथा विश्लेषकको निचोड एउटै छः राजनीतिक दल र तिनका नेताहरु यसमा मूल दोषी छन् । तर यस सम्बन्धमा मेरो दृष्टिकोण अलि पृथक छ । राजनीतिक दलका नेताहरुलाई निर्वाचित गर्ने, हरेक आवधिक निर्वाचनमा नेताहरुलाई चुनावमार्फत जिताएर पठाउने हामी सर्वसाधरण जनता नै हौं । उनै जनप्रतिनिधिलाई उनै जनताले जिताएर पठाउँछन् । सामान्यतया प्रजातन्त्रको पुनःस्थापना पश्चात ३० वर्ष भन्दा बढी हाम्रो देशमा एउटै र उही अनुहार जनप्रतिनिधिहरु केन्द्रीय संसद र सरकारमा रहेका छन् । यस बीचमा धेरैवटा निर्वाचन सम्पन्न भए । मूलतः कांग्रेस र कम्युनिष्टहरुका हरेक पटकको उम्मेदवार उनै, उही पुरानै बारम्बार जिताइरहन्छन् । चुनाव जिताइसकेपछि नेता वा दलका प्रतिनिधि जनता समक्ष पाँच वर्षसम्म फर्केर पनि आउँदैनन् ।

जनताका बाचा कबोलहरुलाई लत्याएर राजकीय सुख सुविधामा भुल्दछन् । सरकारको सत्ता र भत्ताले मातेर आफ्नो हिजोको धरातल र जिताउने जनतालाई बिर्सन्छन् । यता जनता पनि वर्षभरि आफूले पठाएका नेता र तिनका दलप्रति विद्रोह वा आक्रोश व्यतm गर्दछन् । धारे हात लगाउँदै सत्तोसराप गर्दछन् । तर जब निर्वाचन हुन्छ, दलले उनै प्रतिनिधि उम्मेदवार बनाउँछन् । जनता पुनः तिनै पुराना काम नलाग्ने व्यभिचारी, दुराचारी, भ्रष्टचारी नेता कार्यकर्तालाई मत दिएर जिताउँछन् । अनि पुनः आफैले मत दिएको नेताप्रतिको व्यवहार देखेर उही आक्रोश, असन्तोष र गुनासो गर्न थालिहाल्छन् । अतः मैले जाने बुझेको यो समस्या वा विकृति राजनीतिको मुलकारण पनि यही हो र यसका निम्ति मुल दोषी आम मतदाता सर्वसाधारण जनता हुन् भन्ने मेरो निश्कर्ष छ ।

आम नेपाली मतदाता सोझा सादा गरीब दुखी किसान मजदुरहरु छन् । जो विभिन्न दलमा विभाजित छन् । अमुक राजनीतिक दलसँग अनुबन्धित छन् । हत्तपत्त दल त्याग गर्नु वा नयाँ दलको उम्मेद्वार अथवा विपक्षी दलको उम्मेदवारलाई एक मत दिंदैनन् । दलले जे जस्ता मान्छेलाई उम्मेदवार बनाउँछ, इच्छा नभए पनि उसैलाई मतदान गर्न जनता बाध्य छन् । नेपालमा नो भोट सिस्टम कार्यान्वयनमा नआएर हो वा दलप्रतिको मोहले हो आफूलाई मन नपरेको वा विगतमा जिम्मेवारी पाउँदा पनि काम नगरेको मान्छेलाई पुनः उम्मेदवार बनाएर चुनावमा पठाउँदा जनता मतदान गर्न बाध्य छ । कार्यकर्ताले लोभ्याउँदा नेताका फोस्रा आश्वासन र झुटा प्रतिवद्धतामा विश्वास गर्छन् । तिनका चिप्ला कुरामा भुलिन्छन् । उनका भाषण, राशन र आश्वासनबाट मख्ख पार्दै बारम्बार उनै पुराना काम नलाग्ने थोत्रा बुढा, छली, जाली, झेली नेताहरुलाई मत दिन्छन् । फेरि जिताउँछन् ।

अहिलेसम्म भएको यही हो, न त दलले नयाँ नयाँ युवा, पढेलेखेका सक्षम, स्वस्थ, सबल सक्रिय व्यक्तिलाई चुनावमा टिकट दिन्छन् । न त जनताले नै त्यस्ता बासी बुढा अस्वस्थ्य पुराना भ्रष्टचारी जाली झेली ठग नेतालाई मत नदिएर विद्रोह गर्दछन् । फलतः उही पुरानै खराब पात्र केन्द्रमा दोहोरिएर निर्वाचन हुन्छ । सांसद बन्छन्, सरकारमा पुग्छन् । अनि पुरानै स्वभाव दोहोर्याउन थालिहाल्छन् । जनतालाई कुनै गन्तिमन्ती गर्दैनन् ।

तिनका आशा आकांक्षा भुलेर राजनीतिमा महल ठड्याएर सुख भोगमा लिप्त हुन्छन् । उसलाई विश्वास छ कि अर्कोपटक पनि म नै उम्मेद्वार बन्छु, जनताले मत दिइहाल्छन् । यही विश्वासका कारण उ मनपरी गर्न थाल्छ । अनि कसरी सुध्रिन्छ हाम्रो राजनीति र हाम्रा नेताहरु !? जनता वा मतदाताले आफूलाई मन नपरेका, राम्रो काम नगर्ने, ठग, जाली झेली गर्ने, भ्रष्टाचारी, दुराचारी कार्यकर्तालाई फेरि फेरि मत नदिएर, निर्वाचनमा हराएर बरु दल नै त्यागेर विपक्षीको राम्रो उम्मेदवारलाई मत दिएर विद्रोह गरेर देखाउन सकेमा वर्तमान राजनीति र यसका विकृति विसङ्गतिमा धेरै सुधार आउँछ ।

व्यवस्था दोषी होइन, दोषी व्यक्ति हो । नेता, कार्यकर्ता नै दोषी र बदमास हुन् । आफ्नो दलको उम्मेदवार होइन, जुन उम्मेदवार सक्षम छ निस्कलङ्क छ, स्वच्छ छविको छ, पढे लेखेको जवान छ, योग्य र स्पष्ट दृष्टिकोण भएको छ, उसैलाई मतदान गरेर जिताउने हो भने दल र तिनका नेता पनि जनताका सामु झक्नु पर्दछ । जनताले दलका सामन्ती नेता मालिकलाई मत दिनु हुँदैन । जो जनताको सेवक छ, जनतासँगै छ, जसप्रति विश्वास छ, चिने जानेको छ, विगत राम्रो छ त्यस्तालाई मात्र मत दिनुपर्छ । दल जुनसुकै होस्, राम्रो योग्य उम्मेदवारलाई जिताउन सके धेरै हदसम्म राजनीति र तिनका दललाई चेतना हुन्छ र सुधारिन बाध्य हुन्छन् ।

अबको निर्वाचनमा आफूले विश्वास राखेको दलले जो उम्मेदवार दिन्छ मन नपरे विरोध वा विद्रोह गर्नपर्छ र सुनवाई नभए मत नै दिनु हुँदैन । ६० वर्ष नाघेका जतिसुकै ठूलो नेता भए पनि अब तिनलाई हराउनु पर्छ । पुराना विचारका पुराना अनुहारका नपढेका स्वच्छ छवि नभएका भ्रष्टाचारी, असक्षम, विचार दृष्टिकोण बिनाका धेरै धन सम्पत्ती भएर दुख नभोगेको नेतालाई अबको निर्वाचनमा जुनसुकै दलको भए पनि मत दिनु हुँदैन । तिनको विरोध वा प्रतिरोध वा विद्रोह गनुपर्छ । यसकारण जनता सचेत हुनैपर्छ । आजसम्मका दोषी प्रथमतः मतदाता नै हौं । अनि मात्र नेता हुन् । अतः जनता वा मतदाता नै सुध्रिन वा सप्रिन आवश्यक छ ।

          September 7, 2020 8:59 am | विचार/ब्लग,समाज
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...