२०८० असोज १६, मङ्गलवार , ०६:३१:३६ बजे

Sajhamanch
'

बच्चाहरुसँग कस्तो व्यवहार गर्ने ?

बिहिवार, फागुन २२, २०७६

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको नमूना कृषि फर्ममा लहरेबालीका बारेमा एक दिन तालिम राखिएको थियो । त्यो कार्यक्रममा भाग लिन एकजना महिला आफ्नो ५/६ वर्षे छोरीसहित उपस्थित थिइन् । सानी छोरी ख्याउटे छिन् । उमेर अनुसार उनको शरीरको विकास र वृद्धि नभएको प्रष्टै देखिन्थ्यो । मध्यान्नमा उनले छोरीलाई निकै परको पसलमा पुगेर एउटा चाउचाउ किनिदिइन् र पाकेट खोलेर छोरीलाई दिइन् । नानी रमाएर चाउचाउ खाँदै थिइन् ।

आमाछोरी नै मेरो छेउमा आइपुगे । मैले ती महिलालाई चाउचाउ नानीहरुलाई दिनु राम्रो होइन भनेर सम्झाएँ । उनले नानीले अरुथोक खान मान्दिन भनेर सजिलो जवाफ फर्काइन् । मैले बच्चालाई सम्झाउनु पर्छ । यस्तो खानाले बच्चाको स्वास्थ खराब गर्छ भनें । उनले सुनिन् तर कुनै प्रतिक्रिया जनाइनन् । सो तालिममा दिउँसोको खाजा खाने समय भएको थियो । पकाएको चना, चिउरा र मुरई (भुजा)को खाजा थियो । नानीलाई यो खाजा मन पर्ने कुरै भएन । उनले फकाएर खुवाउने प्रयास पनि गरिनन् । फेरि पसलमा गएर एउटा चिजबल्स किनिदिइन् । नानीले त्यही खाइन् । नानीहरुलाई फकाउन यस्ता जङ्कफुड किनिदिने चलन शहरमा मात्रै होइन गाउँघरमा समेत व्यापक बनेको छ । यस्ता जङ्कफुड उत्पादक कम्पनीले यस्तै बालबालिकालाई लक्षित गरेर विज्ञापन गर्छन् । बच्चालाई मनपर्ने स्वादमा बनाउँछन् । तर यस्ता खानामा बालबालिकाको स्वास्थ्यमा अलिकति पनि ध्यान दिएको पाइँदैन ।

                   लेखक उप्रेती

घरमा बालबालिका फुल्याउने, फकाउने साधन भएको छ मोवाइल । यसले बच्चामा कस्तो असर पर्छ भन्ने जान्न ठूलो ज्ञाता हुनुपर्दैन । बच्चा एकोहोरो हुने, अरुसँग धेरै नबोल्ने, भनेको नमान्ने, झर्किने, खेल्न उफ्रिन मन नगर्ने हुँदै जान्छन् । खेल्ने उफ्रने नगरे पछि शारीरिक विकासमा अवरोध हुने, भोक कम लाग्ने हुन्छ । खाने कुरामा पनि चाउचाउ, बिस्कुट, चिजबल्स, कुरकुरे, तयारी जुस, चक्लेट, चिनीका घोल (कोक, फेण्टा, डियो आदि) पुरियामा बन्द नुनिला, गुलिया प्याकेटका खानाहरु जिब्रो फड्कार्दै खाने भएपछि हाम्रा बालबालिकाको अवस्था के होला ? यस्ता बस्तु स्वास्थका लागि उपयुक्त हुँदै होइनन् । यस्ता खानामा शरीरलाई चाहिने पोषणतत्व अत्यन्त न्यून हुने र पच्न धेरै समय लाग्ने गर्छ । जसको कारण शरीरको विकास ठीकसँग हुँदैन, हुन पाउँदैन ।

स्कूल जाने उमेर पाँच वर्ष पुगेपछि हो । तर हामी दुई कारणले बच्चालाई चाँडै स्कूल भर्ना गरिदिन्छौं । पहिलो नानीलाई स्कूल पठाएर हामीलाई फुर्सद निकाल्नु छ र दोस्रो बच्चालाई सानैमा धेरै कुरा सिकाउने हतारो छ । आफ्नो बच्चा अरुकोभन्दा ट्यालेण्ट, स्मार्ट भएको हेर्न मन छ । ट्यालेण्ट र स्मार्टको मापन बनेको छ विद्यालयले दिने मार्कसिट र सर्टिफिकट । स्कूलले लिने परीक्षामा विद्यार्थीले स्कूलमा सिकेका सिमित कुराको उत्तर दिए पुग्छ । त्यति कारणले नै वास्तवमा कुनै बच्चा स्मार्ट वा ट्यालेण्ट हुनै सक्दैन ।

अहिलेका धेरै बालबालिकामा शारीरिक एवम् मानसिक स्वास्थ समस्या देखिने गरेको छ । यसको पहिलो कारण खाना हो भने दोस्रो कारण खेलकुदमा संलग्न नहुनु र श्रमबाट टाडिनु हो । तेस्रो कारण परिवारमा बसेर पनि एक्लोपनको अनुभूति हो । हामी अभिभावक आफ्ना नानीहरुसँग खुलेर सबै कुरा गर्दैनौं । सोधेका सबै कुराको जवाफ सही तरिकाले दिँदैनौं । बच्चाले जिद्दि गरेको भनेर या त हकार्छौं, कुट्छौं वा नोक्सान नै हुने भए पनि मानी दिन्छौं । जस्तै चाउचाउ, चिजबल्स, कुरकुरे, नुनिला, गुलिया प्याकेटका खानेकुरा किनिदिन सजिलै तयार हुन्छौं । यसको पहिलो कारण यसबाट बच्चालाई कति नोक्सानी हुन्छ भन्ने हामीलाई जानकारी छैन । यसलाई सामान्य खानेकुरा मान्छौं, आवश्यक ठान्छौं । यसको खराबी कति छ भनेर थाहा पाएका छैनौं ।

दोस्रो कारण यो खराब हो भन्ने थाहा भए पनि बच्चाले जिद्दि गर्छ, मान्दैन भनेर किनिदिन्छौं । जिद्दि गरेपछि किनदिन थालेपछि बच्चाले के थाहा पाउँछ भने जिद्दि गर्नुपर्छ अनि पाइन्छ भन्ने थाहा पाउँछ र उसले यो जिद्दिपना बढाउँदै लान्छ । यसले दुवैलाई तनाव हुन्छ । बच्चाले डिमाण्ड गरेर जिद्दि गरेपछि किनिदिनु र समस्या समाधान गर्नु सजिलो उपाय हो । तर यसले पैसा र स्वास्थ्यको बर्बादी गर्छ र तनाव बढाउँछ । तर यो सजिलो बाटोको सट्टा अलि कठिन, समय लाग्ने तर सही बाटो रोज्नु बुद्धिमानी हुन्छ । बच्चालाई यो खराव वस्तु हो, खानु हुँदैन, खाए पनि एकदमै थोरै खानुपर्छ, बाँडेर खानुपर्छ, कहिलेकाहीँ मात्रै खानुपर्छ, अरुले नबुझेर खाएका हुन् । तिमी ज्ञानी हुनुपर्छ र अरुलाई पनि सम्झाउनु पर्छ भनेर पटकपटक सम्झाएमा र फकाएर भनिदिँदा बच्चामा विस्तारै यसको सकारात्मक असर पर्छ । बिरामी भएको बच्चालाई उदाहरण बनाएर सम्झाउन सकिन्छ । तर भन्ने वित्तिकै बच्चाले मानिहाल्नु पर्छ भन्ने ठान्नु हुँदैन । पटकपटकको प्रयासबाट बच्चाको सोचाई र बानीमा परिवर्तन गर्न सकिन्छ ।

बच्चालाई कुलत (जङ्कफुड खाने पिउने, मोवाइलमा रम्ने, टिभी हेरिरहने, एकोहोरो हुने, झर्किने, कम बोल्ने आदि)बाट टाडा राख्न आमाबाबुले बच्चाहरुका लागि धेरै समय दिनुपर्छ । बच्चाहरु नै भेला पारेर खेल्न दिनुपर्छ । आफूले पनि बच्चासँग खेलिदिनु पर्छ । बच्चाले सोधेका हरेक कुराको जवाफ सत्यसत्य दिनुपर्छ । बच्चाका जिज्ञासालाई बेवास्ता पटक्कै गर्नुहुँदैन । सँगै बसेर खानुपर्छ, खुवाउनु पर्छ । राम्रो र नराम्रो के हो मायालु र नम्र तरिकाले सम्झाउनु पर्छ । यसोगर्दा बच्चालाई कुलतबाट जोगाउन सकिन्छ । बच्चालाई उसको साथीको अगाडि कहिल्यै गाली गर्नु हुँदैन । कुट्नु त झन् हुँदैहुँदैन र उ खराब छ भनेर सुनाउनु पनि हुँदैन । टेर्दै टेर्दैन, मान्दै मान्दैन भनेर अरुलाई सुनाउनु हुँदैन । यस्ता कुराको गहिरो र नकारात्मक प्रभाव बच्चामा पर्नेगर्छ । आफ्नो बच्चालाई अरुको बच्चासँग दाँजेर उ त्यो कस्तो राम्रो छ, असल छ, जान्ने छ । तँ खराब भइस् भनेर भन्नु हुँदैन । बच्चाले हरेक कुरा आफ्ना आमाबाबु वा अभिभावकलाई निर्धक्क भन्न सक्ने अवस्था हुनुपर्छ । बच्चाको कुरा सुनेर हामी उनीहरुलाई गाली गर्ने, हकार्ने, कुट्ने वा सजाय दिने गर्न थाल्यौं भने बच्चाले नराम्रो त के राम्रो कुरा पनि भन्न हच्किने गर्छन् । यसबाट बच्चा र आमाबाबुको सामिप्यता घट्न जान्छ । बच्चाले आपूmलाई लागेका कुरा भन्ने, शेयर गर्ने, दुखःसुखका कुरा साट्ने ठाउँको अभाव देख्न थाल्छ र गलत संगत एवम् कुलतमा तानिने सम्भावना बढी हुन्छ ।

उमेर अनुसार बच्चालाई आँटिलो बनाउँदै लैजान जरुरी हुन्छ । उसलाई नयाँनयाँ काम गर्न दिउँ, नयाँ अनुभव गर्न दिउँ । उसले खेल्दै सिक्दै आनन्द लिन सक्छन् । जस्तै बच्चाले आमाले भान्सामा काम गरेको देखेर काम गर्न चाहन्छन् तर हामी उनीहरुलाई यो अवसर नै दिँदैनौं । बरु भन्ने गर्छौं सक्नेले सघाउने होइनन् नसक्नेले काम बढाउँछन् । पर जा तँ सक्दैनस् । बिगार्छस्, नगर आदि भनेर निरुत्साहित गर्छौं । बच्चालाई उसले सक्ने काम गर्न प्रोत्साहित गरौं र काम गरेकोमा धन्यवाद, स्यावास् दिऊँ । मेरो नानी बाबु कस्तो राम्रो, कति धेरै काम गर्न सक्ने भयो भनेर प्रोत्साहन गर्न सकिन्छ । बच्चालाई आँट बढाउन उसलाई काम लगाउँ, नयाँनयाँ काम सिकाउँ, एक्लै गर्न, साथीसँग मिलेर गर्न, छिमेकीका नानीहरुसँग मिलेर खेल्न, अलि परसम्म गएर खेल्न, नयाँ साथी बनाउन, नयाँ साथीका बारेमा जानकारी दिने गरौं ।

बच्चालाई एक्लै अलि टाडासम्म तर आफ्नो नियन्त्रण र नजरमा रहने गरी हिँड्न सक्ने बनाउँ, सिकाउँ । कतिपय बाबुआमाहरु आफ्ना बच्चाहरुलाई यतिधेरै माया गर्छन् कि उनले गर्नसक्ने, गर्न चाहेको काम गर्न दिँदैनन्, काम गर्न रोक्छन् । नजरबाट अलिकति पनि पर हुन दिँदैनन् बरु डर देखाउँछन् र मनोबल कमजोर बनाउँछन् । अरु बच्चासँग खेलेको, ठूला मानिसको कुरा सुनेको, अरुसँग बोलेको त्यति निको मान्दैनन् । बच्चालाई स्कूलले सिकाएको सिमित कुराले उसको जीवन चल्दैन भन्ने कुरा अभिभावकले थाहा पाउनुपर्छ र स्कूल बाहिरका धेरै कुरामा सिक्ने अवसर र वातावरण दिनुपर्छ । बच्चाको साधारण काम जस्तै आफ्ना लुगा मिलाएर राख्ने, लुगा आफैं लगाउने, जुत्ता मोजा ठीक ठाउँमा राख्ने, आफ्नो स्थान सफा गर्ने, स्कूल व्याग, किताब कापी, कलम, पेन्सिल, खेलौना सबै मिलाएर राख्न प्रेरित गर्ने र असल बानीका अभ्यास सिकाउने गर्नुपर्छ । हकारेर गराउने बानीले बच्चामा समेत तनाव गराउँछ । उसले आफ्ना लागि नभई अरुका लागि गरेको अनुभूत गर्नेगर्छ ।

एकदिन सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाले स्कूलमा पुगरे शिक्षक शिक्षिकासँग बच्चालाई सम्झादिनु पर्यो भनेर गुहारेको कुरा सुनाएका थिए । बच्चाले घरमा पुग्ने बित्तिकै ब्याग एकातिर, जुत्ता मोजा खोलेर अर्कातिर र कपडा खोलेर भुइँमा फाल्ने गरेको कारण उनीहरु हैरान भएछन् । जति सम्झाए पनि नमान्ने कारणले स्कूलमा गएर घरमा गएपछि के गर्ने सम्झाइदिनु पर्यो भनेछन् । किनकी बच्चाको बुझाइमा स्कूलमा मिस र सरले भनेको मान्नुपर्छ भन्ने हुन्छ । बाआमालाई त घुक्र्याउने, दङ्याउने हो भन्ने बुझेका हुन्छन् । बच्चालाई सानैदेखि परिवारको महत्व, छिमेकी, साथी, समाज, स्कूल, शिक्षक शिक्षिका आदिका बारेमा बताउनु पर्छ । सिकाउनु पर्छ । जनावरको महत्व बुझाएर माया गर्न सिकाउनु पर्छ । बोट बिरुवाको जानकारी दिएर यसले हाम्रो खाना दिएको छ भनेर बुझाउनु पर्छ । यसले बच्चादेखि नै पशुपंक्षी, बोट बिरुवाप्रति सकारात्मक भाव पैदा गराउन सकिन्छ । बच्चाले नजानेर गरेको गल्तीमा पनि हामी बेस्सरी गाली गर्छौैं । यो सरासर गलत काम हो । गल्ती भएपछि बच्चा डराउँछन् । त्यो समयमा उसलाई माया र क्षमाको चरित्र हुनुपर्छ तर हामी उल्टो गाली गर्छौं । बच्चा टाडिन्छ । कहिले काहिँ त हामीले गरेको गल्तीको दोष पनि बच्चालाई लगाइदिन्छौं । जस्तै हामीले पानी खाएर भुइँमा ग्लास राखेका हुन्छौं, बच्चाले देख्दैन लात्तीले लागेर ग्लास फुट्छ, गाली बच्चालाई मात्रै । गल्ती त हामीले पनि गरेको हो नि !

बच्चालाई कति उफ्रेको ? कति चकचक गरेको ? कति हल्ला गरेको ? एकछिन चुपलागेर बस्न सक्दैनस् ? भनेर गाली गर्छौं । तर बच्चाको प्रकृतिक अवस्था नै चञ्चले हो । यो अवस्था मानिसको बच्चाको मात्रै होइन, पशुपंक्षीमा पनि यो लागू हुन्छ । उमेर जति बढ्दै जान्छ मानिस, जनावर सबै शान्त हुँदै जान्छन् । बुढ्यौलीमा सबै शान्त । कम चलायमान । तर बच्चालाई चलायमान, जिज्ञासु, चञ्चले जस्ता स्वभावबाट विमुख गराउनु अप्राकृतिक कुरा हो । त्यो नियन्त्रित हुन सक्दैन । बरु व्यवस्थित गर्न कोशिस गर्नुपर्छ ।

सम्बन्धित खबर