आफ्नै स्वामीबाट बलात्कृत हुनुको पीडा

2 weeks अगाडी

तीस वर्षको झर्झराउँदो उमेरमा सिन्दुरले सिउँदो सजाउँदै म उनको घरमा भित्रिएको थिएँ । आकाश पूरै देखिने घरभित्र सबै दिवारहरु खुल्ला थिए । त्यही घरको इज्जत राख्नु आफ्नो परम कर्तव्य ठानेर भित्ताहरु टालटुल पारेँ । सालभर खान पुग्ने अन्नसमेत घरमा थिएन । तर पनि गुनासो नगरी कहिले आधा पेट खाएर त कहिले भोकै बसेर त्यही घर र परिवारका सदस्यहरुको भरणपोषणमा सधैँ मैले समय खर्चिरहेँ ।

त्यस घरमा प्रवेश गरेको एक महिना नपुग्दैदेखि आफूले विवाह दर्ताको लागि श्रीमान समक्ष अनुरोध गर्न सुरु गरेँ । तर विवाह दर्ता गरी आफू ढुक्कले स्थायी श्रीमती भएर बस्ने अवसर प्राप्त भएन मलाई । पटक–पटक अनेकौँ किसिमका विभेदहरु आफ्नै श्रीमानबाट भएपछि कुनै समयमा मलाई यो घरबाट निकालिन्छ होला भन्ने शंका मेरो मनमा आइरह्यो । तर आफ्नो धर्म निर्वाह गर्न शिवायः मैले केही गर्न सकिन । किनकी यो अन्यायमा केवल म एकजना मात्र थिइँन, देशैभर पच्चिसौं हजार मजस्तै अन्याय खेपिरहेका थिए ।

यौवनमा राम्रो लगाउँ र मिठो खाऊँ भन्ने उमेरमा पाखुरीमा बल र मस्तिष्कमा सोच्ने शक्ति भएकै उमेरमा त्यस घरमा प्रवेश गरी चौघेरामा बाँधिएको मैले न त स्वामीजीबाट न्याय पाएँ, न त कामेच्छा पूर्ति गर्न नै ! जबसम्म मेरो उर्वर उमेर रह्यो, त्यसबेलासम्म मैले स्वामीजीसँग सहवास गर्न पनि पाइँन । इच्छालाई आफ्नै मनभित्र दबाएर त्यही घरको सेवामा म समर्पित भइरहेँ । ३० वर्षमा त्यस घरमा भित्रिएको मैले ४८ वर्ष हुँदासम्म सहवासको अनुभूति नै गर्न नपाई मेरो मासिक धर्म बन्द भयो । विवाहको १८ वर्षपछि मेरो मासिकश्राव बन्द भएपछि स्वामीजी मसँग सहवास गर्न इच्छुक भएर आउनु भयो ।

जतिबेला मेरो शरीरबाट योनीरस आउनै बन्द भइसकेको थियो र मलाई सहबासमा कुनै इच्छा नै हुन छाडेको थियो र पीडाबोध हुन थालेको थियो । यसरी १८ वर्षपछि मैले आफ्नै स्वामीबाट बलात्कृत हुनुको पीडासँगै मलाई अर्को समस्या आइलाग्यो, बच्चा जन्माई दिनु पर्ने । प्राकृतिक नियमको विपरित मासिकश्राव बन्द भएपछि आफ्नो मातृत्व शक्ति गुमाई सकेपछि म २०–२२ वर्षका तरुनीले झैँ बच्चा जन्माउन सक्दिनथेँ । त्यही बच्चा जन्माउन नसक्ने कारण मैले पारपाचुके गरी त्यो घर छोड्नुपर्ने भयो । १८ वर्षसम्म टालटुल गरेर जोगाएको घर आखिर मैलै छाड्नु पथ्र्यो वा म त्यस घरबाट निकालिने नै भएँ । न्यायको ढोका ढक्ढक्याउन अदालत जाने निर्णय गरेँ ।

नेपालको कानुनमा मैले बच्चा पाउन नसके स्वामीले दोस्रो पत्नी विवाह गर्न सक्ने लेखिएको रहेछ । तर स्वामीले समयमै सहवास गर्नुपर्ने कुरा उल्लेख रहेनछ । जतिबेलामा म यौवनको प्यासमा छट्पटाइरहेकी थिएँ, त्यसबेला मैले चर्मस्पर्श गर्न समेत पाइनँ । तर, आज मसँग जोश, जाँगर, शक्ति, वुद्धि, आफन्त सबै टाढिएको अवसरमा घरबाट निकालिएकी छु ।

कानूनीरुपमा असक्षम घोषित गरी घरबाट लखेटिएकी छु । मेरो सारा उर्जा यही घरमा सिध्याएर यही घरबाट मेरो आफ्नै स्वामीबाट लखेटिएकी छु । म केवल अहिले मेरो स्वामीको इज्जत, प्रतिष्ठा, मान, मर्यादा बढाउनका लागि मैले गरेका दुःखहरु सम्झेर बस्नु शिवायः केही गर्न सकेकी छैन ।

द्रष्टब्यः पात्रहरु –  म : अस्थायी शिक्षक र स्वामी : नेपाल सरकार ।।

          January 9, 2019 8:46 pm | साहित्य
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...