बिर्तामोड महोत्सवः कलाले भीड बढायो

2 weeks अगाडी

बिर्तामोड । कलाले पनि योजनाअनुसारका कार्यक्रम सफलता नजिक पुर्याउँदो रहेछ भन्ने उदाहरण बनेको छ ‘बिर्तामोड महोत्सव–२०७५’ ।

बिर्तामोड महोत्सवमा कलाकार आएको दिन र नआएको दिनको विश्लेषण गर्दा कलाले नै कुनै पनि कार्यक्रमलाई सफल बनाउन मद्दत गरेको पाइएको छ । पछिल्लो समयमा कुनैपनि कार्यक्रम सफल पार्न कलाका ‘पारखी’ वा कलाकारको महत्वपूर्ण भूमिका रहने बिर्तामोडको महोत्सवले छर्लङ्ग पारेको छ ।

त्यसमा पनि नाम चलेका चर्चित कलाकारहरु, गायक–गायिका तथा नृत्यकारको आगमनले दर्शकको भीड बढ्ने गरेको समितिका महासचिव तथा महोत्सव आयोजक संयोजक बद्री महतले बताए । संयुक्त युवा परिवार झापाले पुष १३ देखि २५ गतेसम्म सञ्चालन गरेकोे महोत्सवमा खेल–तमासा भएपनि नाम चलेका राष्ट्रिय कलाकार हुँदाको दिनको रौनक नै फरक पर्ने महतको भनाई छ ।

नयाँ वर्षको सन्दर्भ या मेला–महोत्सवमा ! चर्चित गायक तथा नृत्यका ‘पारखी’ को बढ्दो प्रयोगले तथा सांगीतिक क्षेत्रलाई मानिसले धेरै रुचि राखेकै कारण आगन्तुको भीड बढेको युवा परिवारका अध्यक्ष प्रदीपकुमार श्रेष्ठको भनाई छ ।

असाहय विद्यार्थीको शैक्षिक उन्नयन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा क्रमशः आगन्तुकको भीड बढ्दै गएकोे छ । राष्ट्रिय कलाकार आउने भनी सञ्चारक्षेत्र र गाउँ–बजारमा गरिएको प्रचारप्रसारले पनि महोत्सवमा रौनक बढाएको आयोजकको बुझाई छ ।

१४ गतेदेखि कमेडियन कलाकार डेनिट शंकरले आफ्नो प्रस्तुतिमा निकै दर्शकको मन जित्न सफल भए । सोही कार्यक्रमको स्टेजमा पुष १७ गते ताराप्रकाश लिम्बू्ले ५ वटा गीतबाट आफ्ना ‘फेन’को समय लिन सफल भए । आयोजकले कलाकार आउने भनी बाहिरी प्रचार नै नगरेको दिन पुष १८ गते आस्था राउतले निकै युगल जोडीलाई नचाइन् । ‘खै त मलाई झुम्कै बुलाकी, ‘तीन मोहरको धागोले, ‘म रुँदा सँगै रुने, ‘बिर्सिदेउ हिजो के–के भो लगायतका गीतमा कम्मर नमच्चाउने आगन्तुक प्रायः कमै थिए ।

त्यस्तै पुष १९ गते कमल खत्रीले ‘भूलेर नजानु तिमी, ‘माया लुकी लुकी, ‘उडायो हावाले, नाच फिरिरी लगायतका आधुनिक चर्चित गीत प्रस्तुत गरेका थिए । पछिल्लो क्षेत्रमा ‘हट’ गायिकाको रुपमा उदाएकी गायिका ज्योति मगरले २१ गते देखाएको आफ्नो प्रस्तुतिले महोत्सवमा दर्शक उर्लिएका थिए ।

२२ गते तृष्णा गुरुङले ‘माया पिरती, ‘रेल्लैमा लगायतका गीतले र २३ गते राजेशपायल राईले ‘घरबारै रैछौ मायालु, ‘मरेका आउँदैनन फर्की, ‘बैंसले हो किलगायतका चर्चित गीतले महोत्सव परिषरमा भित्रिनेको संख्याले भरिएको थियो । आज पुष २४ गते आधुनिक ‘पप’ गायक भिटेनको प्रस्तुति रहेको छ ।

पहिले मनोरञ्जनका लागि खेलिने लिङ्गे पिङ्ग मात्रै हुन्थ्यो । पिङ्ग खेल्ने जो कोहीले रमाइलोसँगै आनन्दको महसुस गर्न पाउँथे । पछि काठको पिरा भएको खुट्टाले चलाउने रोटेपिङ आयो, बिर्तामोड महोत्सवका ठेकेदार गणेश राउतले भने, ‘त्यसपछि मनोरञ्जन लिनका लागि त्यसमा पनि मानिसको चाप निकै बढ्यो । काठले बनेका औजारमा समस्या आयो । पुरै काठले बनेको पिङ्गमा ६ वटा मात्रै पिरा हुन्थ्यो । मानिसको चाप बढेपछि काठको पिङ्ग कमजोर हुने र पछि फलामको औजारले पिङ्गलाई व्यवस्थित गरियो । अहिले फलामे पिङ्ग साथै १५ प्रकारका खेलौनाले आगन्तुकलाई भरपुर मनोरञ्जन दिदैं आएको छ ।’

समय विकासक्रमसँगै १० वर्षयता मनोरञ्जन प्रदान गर्न कलाका ‘पारखी’ को प्रयोग बढ्दै गएको छ । जुनसुकै ठाउँमा आयोजना हुुने समारोह, मेला, महोत्सव स्थानीय तथा राष्ट्रिय कलाकार बिना सफल नहुने ठेकेदार राउतको भनाई छ ।

– प्रकाश उप्रेती

          January 8, 2019 2:42 pm | टप,लोकप्रिय,संगीत,समाचार,समाज
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...