के एक नम्बर प्रदेशले आफ्नै विश्वविद्यालय बनाउला ? सम्भाव्यता अध्ययन सुरु

4 weeks अगाडी

बिर्तामोड । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेश विश्वविद्यालय सम्भाव्यता अध्ययन सुरु गरेको छ । मन्त्रालयले गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलको पुष ६ गते बसेको बैठक र यसले निर्धारण गरेको कार्यतालिका अनुसार आजदेखि सरोकारवालाहरुसँग दृष्टिकोण संकलनको सुरुवात गरेको हो ।

कार्यदलले आज बिर्तामोडको कोहेड कलेजमा झापाका विभिन्न राजनीतिक दलको नेतृत्व, सांसदहरु, पूर्वमन्त्री, स्थानीय तहका जनप्रतिनिधिहरु, प्राध्यापक, विद्यार्थी संगठन तथा स्ववियूको प्रतिनिधित्वमा दृष्टिकोण संकलन सुरु गरेको हो । कार्यदलको संयोजकमा प्रा. डा. महेशराज दाहाल तथा सदस्यहरु डा. देवी क्षेत्री दुलाल, पितकुमार श्रेष्ठ, उमानाथ ओली, उमानाथ रिजाल, रुपेश खतिवडा, उद्धव शर्मा, रमेश रोका र सदस्य सचिवमा सूर्य सुवेदी रहेका छन् ।

प्रदेश सरकारको वार्षिक कार्यक्रम अन्तरगत सम्भाव्यता अध्ययन कार्यदल गठन गरिएको हो । प्रा. डा. दाहालको संयोजकत्वमा गठित कार्यदलले झापा, इलाम, सुनसरी र धनकुटा लगायत स्थानमा सरोकारवालाहरुको भेला गरी छलफल गर्ने कार्ययोजना बनाएको सदस्य उमानाथ ओलीले बताए ।

सहभागी आमन्त्रितहरुलाई भेलाको औचित्यबारे अवगत गराउँदै ओलीले हाल सञ्चालनमा रहेका विश्वविद्यालय, तिनका आंगिक वा सम्बन्धनप्राप्त कलेजहरुको अध्ययन अध्यापनको शैलीमा रुपान्तरण गर्न आवश्यक रहेको महसुस गरेर नयाँ खुल्ने विश्वविद्यालयको समग्र विषयबस्तुहरुबारे बुझ्न यस्तो भेला आयोजना गरिएको बताए ।

हिजोको व्यथा दोहोरिन नदिनका लागि अब खुल्ने शिक्षालयहरु दक्ष जनशक्ति उत्पादन गर्न सक्ने किसिमका बनुुन् र त्यसका लागि कार्यदललाई आजैबाट यस्तो हुनुपर्छ भनी सुझाव दिन सदस्य ओलीले आग्रह गरे । भेलामा पूर्व संस्कृति मन्त्री खगेन्द्र प्रसाईसहित प्रदेशसभा सदस्यहरु बसन्त बानियाँ, हिरा थापा, जसमाया गजमेर, झलकसिंह दर्लामी, पूर्णसिंह राजवंशी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, भद्रपुरका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललगायत थिए ।

यस्तै सहकारी अभियन्ता रामचन्द्र उप्रेती, विभिन्न क्याम्पसका प्रमुखहरु एवम् अध्यक्षलगायत शिक्षा क्षेत्रमा सरोकार राख्ने व्यक्तिहरुले प्रदेश विश्वविद्यालयको आवश्यकताका सन्दर्भमा आफ्ना धारणा राखेका थिए । कार्यदलका संयोजक प्रा. डा. दाहालले प्रदेश विश्वविद्यालयको अवधारणा तथा यसका कार्यविधि र कार्यदिशासहित प्रकाश पारेका थिए । प्रा. डा. दाहालले सहभागीहरुमाझ विश्वविद्यालयको आवश्यकता पुष्ट्याईं, उपयुक्त मापदण्ड र ढाँचा, विश्वविद्यालय रहने स्थान, संगठनात्मक स्वरुप, संकाय, अध्ययन संस्थानहरु एवम् वित्तीय पक्षको बारेमा सहभागीहरुबाट आफ्ना धारणा मागेका थिए ।

          December 27, 2018 4:29 pm | टप,प्रदेश,समाचार
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...