विद्यालयमा काँकरभिट्टा प्रहरीको चेतनामूलक कार्यक्रम

1 month अगाडी

मेचीनगर । विद्यार्थीहरुलाई विद्यालयस्तरदेखि नै विभिन्न आपराधिक गतिविधि तथा लागुऔषध दुव्र्यसन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले शुक्रबार आदर्श माध्यमिक विद्यालय मेचीनगरमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय र प्रहरी साझेदारी अभियान अन्तर्गत लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा शाखा कार्यालयले स्कूल सम्पर्क कार्यक्रम आयोजना गरेको हो । लागूऔषध नियन्त्रण तथा दुव्र्यसन सम्बन्धी जनचेतनासहित साइवर क्राइम, ट्राफिक नियम सम्बन्धी कक्षा ११ र १२ का ९० जना विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कोमल ठाकुर, लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा शाखाका प्रहरी नायव निरीक्षक किशोरकुमार श्रेष्ठले लागूऔषध भनेको के हो ? लागूऔषध तथा मादक पदार्थको दुव्र्यसनबाट बच्ने उपायहरु, यसका असरहरु तथा कानुनी परिणाम लगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए ।

कसैले लागुऔषधको प्रयोग गर्न लागेको थाहा पाएर शुरु अवस्थामा रोक्न सके, कुनै साथीभाइले खाने निम्तो दिएमा तुरुन्त ठाउँ छाडेर हिड्ने, नशा प्रयोग नगर्ने साथीभाइको संगतलगायतका सकारात्मक गतिविधिमा हिंड्न सके लागूऔषधको दुव्र्यसनबाट बच्ने सकिने प्रहरी निरीक्षक ठाकुरले बताए ।

यदि साहित्य, संगीत, कला र खेलकुद, नृत्यजस्ता सिर्जनशील कार्यमा आफूहरु व्यस्त भए, ध्यान, योग वा अन्य कुनै अध्यात्मिक आस्थासँग आवद्ध रहे तथा नकरात्मक प्रस्तावहरुलाई सदैव नाईं भन्न सक्ने क्षमताको विकास गर्नसके पनि यसबाट बेलैमा बच्न सकिने सहभागी विद्यार्थीहरुलाई जानकारी गराइएको छ ।

प्रहरी निरीक्षक ठाकुरले घरमा बाबुआमा वा कुनै पनि सदस्यले मादक पदार्थ वा लागूऔषध सेवन गर्ने गरेका छन् भने त्यसको अनुशरण नगर्नसमेत आग्रह गरेका छन् ।
प्रहरी निरीक्षक ठाकुरले लागूऔषध सम्बन्धी दण्ड सजायका बारेमा जानकारी समेत गराएका थिए । लागूऔषधको मात्रा र प्रयोजन अनुसार ३ महिनादेखि जन्मकैद तथा ३ हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म वा दुवै दण्ड जरिवाना पनि हुन सक्ने बताए ।

मदिरा ऐन २०३१ बमोजिम कानुनी व्यवस्थाका बारेमा प्रहरी अधिकारीहरुले सहभागी विद्यार्थीहरुलाई जानकारी दिँदै मदिरा उत्पादन तथा बिक्री वितरणमा बन्देज अनुसार कसैले पनि प्लाष्टिकको पोकामा मदिरा राखेर मदिराको उत्पादन विक्री वितरण गर्न नहुने, कसैले पनि १८ वर्ष उमेर पूरा नगरेका व्यक्तिलाई मदिरा बिक्री वितरण गर्न नपाउने व्यवस्था रहेको प्रष्ट पारे ।

दण्ड सजायमा ऐन विपरीत काम गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था रहेको, सो ऐन विपरीत कुनै काम गर्ने उद्योग वा त्यस्तो काम गर्न दुरुत्साहन गर्ने वा सो काममा सहयोग गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको बताइएको छ ।

          December 14, 2018 4:59 pm | समाचार,समाज
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...