२०८१ वैशाख ४, मङ्गलवार , ०४:३०:४७ बजे

Sajhamanch
'

युवापंक्ति राजनीतिमा आएसँगै मुलुकले नेतृत्व परिवर्तन खोजेको कांग्रेस नेता शिवाकोटीको धारणा

शुक्रवार, मंसिर १६, २०७९

बिर्तामोड । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले संगठनमा केही विचलन देखिएकाले पुनर्संरचना जरुरी रहेको धारणा राखेका छन् ।

नेपाली कांग्रेस झापा जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न गाउँ–नगर सभापति एवं वडा सभापतिहरुसँगको निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै शिवाकोटीले यस्तो धारणा राखेका हुन् ।

निर्वाचनमा प्राप्त मत परिणाम र युवापंक्ति राजनीतिमा आएसँगै मुलुकले नेतृत्व परिवर्तन खोजेको बताउँदै नेता शिवाकोटीले अबको पाँच वर्षमा पुरानो नेतृत्व आफैं पाखा लाग्ने स्थिति रहेको पनि धारणा राखेका छन् । यसपटक पुरानो र नयाँको संयोजनमा नै सरकार गठन हुने सम्भावना बढी देखिएको तर अबका दिनहरु सहज नभएको उनको भनाई छ ।

निर्वाचन परिचालनमा नेपाली कांग्रेसका सबै तहका नेता कार्यकर्ताहरुल् खेलेको सक्रिय भूमिकाप्रति धन्यवाद ज्ञापन गर्दै नेता शिवाकोटीले संविधानमा रहेको समानुपातिक ब्यवस्थाका कारण कुनै पनि दलको बहुमत नआउने स्थिति रहेको जिकिर गरे ।

संविधानसभाको सदस्यसमेत रहेका शिवाकोटीले गठबन्धन बिना यसपटक कुनै पनि दलका लागि सरकार गठन असम्भव रहेको धारणा राखे ।

सो कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले मतदाताको आकर्षण लोकतान्त्रिक पार्टीप्रति देखिएको बताउँदै आगामी निर्वाचनलाई लक्षित गरेर कार्ययोजना तय गरी संगठन विस्तार र परिचालनमा ध्यान दिनुपर्ने बताए ।

यस्तै, झापा क्षेत्र नं २ का क्षेत्रीय सभापति खगेन्द्र मैनालीले पराजयले आफू विचलित नभएको बताउँदै नयाँ सिराबाट संगठन परिचालनमा पाँच वर्षे कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अधिकांश वडा सभापतिहरुले पार्टीको समानुपातिक उम्मेद्वार चयनमा देखिएको परिवारवाद, समानुपातिक उम्मेद्वारहरुको निस्क्रियता, स्पष्ट एजेण्डाको कमी, पुरानै नेतृत्वको पुनरागमन आदि कारणले पार्टीको समानुपातिक मत खस्किएको धारणा राखेका थिए ।

सम्बन्धित खबर