प्रधानमन्त्री ओलीसँग विभिन्न देशका नेताहरुको शिष्टाचार भेट

2 weeks अगाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कम्बोडिया र पलाउका पूर्वराष्ट्रपति तथा पाकिस्तानका पूर्वप्रधानमन्त्रीले आज शिष्टाचार भेट गरेका छन् ।

एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन काठमाडौं आएका पूर्वसरकार प्रमुखसँग आज भएको भेटमा नेपालको शान्ति प्रक्रिया र सरकारले अघि सारेका समृद्धिका योजनाहरुबारे छलफल भएको जनाइएको छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँग भएको भेटमा सार्कलाई प्रभावकारी बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल सार्कको नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताएका थिए । “नेपाल चाँडो सम्मेलन गरेर नेतृत्व हस्तान्तरण गर्न चाहान्छ,” प्रधानमन्त्रीले सार्कप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भनेका छन्, “सार्कलाई प्रभावकारी बनाउन हाम्रो प्रयत्न सदैव रहन्छ ।”
गिलानीसँग दक्षिण एसियाका देशको पारस्परिक व्यापार र लगानीको आदानप्रदान बढाउने बारे पनि छलफल भएको अधिकारीले जानकारी दिए । गिलानीले नेपालले लिइरहेको प्रगति र स्थायित्वको बाटोबारे जानकारी भएको भन्दै प्रशंसा गरेका थिए ।

यस्तै कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्राना अरंगोले पनि प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् । भेटमा पूर्वराष्ट्रपति अरंगोले नेपालको शान्ति प्रक्रियाको सफल प्रयासबाट आफ्नो मुलुक पनि प्रभावित भएको बताएका थिए । प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका मूलभूत कामहरु सकिएको उल्लेख गर्दै बाँकी कामहरु पनि छिट्टै पूरा गर्ने अरंगोलाई जानकारी दिएका प्रेस संयोजक अधिकारीले बताए ।

प्रधानमन्त्रीले कोलम्बियासँग कुटनीतिक सम्बन्ध लामो भएको स्मरण गर्दै व्यापार–वाणिज्य क्षेत्रबाट सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी, प्रधानमन्त्री ओलीसँग पलाउका पूर्वराष्ट्रपति जोनसन टोरीवियङले पनि आजै शिष्टाचार भेट गरेका छन् ।

          December 2, 2018 7:50 pm | राजनीति
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...