सूर्योदय सहकारीको १५औं साधारणसभाः अर्को वर्ष नाफामा लैजाने

3 weeks अगाडी

बिर्तामोड । झण्डै १२ वर्ष कागजमा मात्र सिमित रहेर गत वैशाखमा नयाँ व्यवस्थापनले जिम्मा लिएपछि सक्रिय बनेको बिर्तामोड ३ को सूर्योदय दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड झापाको १५औ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

दर्ता वर्षको गणनाबाट १५औं वार्षिक साधारणसभा भनिए पनि स्थापनाको तेस्रो वर्ष पूरा नहुँदै तत्कालीन शेयरधनीको आपसी तानातानले संस्था निस्क्रिय बनेकोले सो पछि झोलामा कागजपत्र राखेर सिमित रहेको जानकारहरु बताउँछन् । दुग्ध सहकारी भए पनि यसले सो सम्बन्धी काम नगरी बन्द भएको बताइएको छ ।

दुग्ध उत्पादक सहकारी संस्थाको रुपमा दर्ता गरिको भए पनि बचत तथा ऋणको समेत कारोबार गर्ने स्वीकृति पाएको साधारणसभामा वितरित प्रतिवेदनमा उल्लेख छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले गमलामा रोपिएको फूलमा पानी हालेर संस्थाको १५औं वार्षिक साधारणसभाको उद्घाटन गरिदिएका हुन् ।

साधारणसभाको उद्घाटन पछि आफ्नो मन्तब्यमा सहायक प्रजिअ पोखरेलले सहकारी संस्थालाई सिङ्गो राज्यको परिकल्पना गर्न सकिने, यसका शेयर सदस्यलाई जनता अनि सञ्चालकहरुलाई सरकारको रुपमा बुझ्न सकिने बताउँदै संस्थाको विनियम यसको संविधानजस्तै रहेको प्रष्ट पारे ।

उनले सहकारीलाई एउटा व्यावसायिक प्रतिष्ठान स्वीकार गर्न सुझाउँदै यसले कृतिम व्यक्तिको जस्तै कानूनी हैसियत राख्ने भएकाले यसको प्रवद्र्धनका लागि व्यावसायिक योजनाहरु बनाएर काम गर्नुपर्ने अथ्र्याए ।

नेपालमा सहकारी अभियान सुरु भएको ६ दशक पूरा भएपनि यसले पखेटा चलाएको अवधि तीन दशक पनि नभएको भन्दै डिभिजन सहकारी कार्यालय भद्रपुरका पूर्व अधिकृतसमेत रहेका पोखरेलले सहकारीमा अघोषित प्रतिष्पर्धा भइरहेको प्रष्ट पारे । सहकारितामा प्रतिष्पर्धा बिजनेसमा नभई क्वालिटीमा हुनुपर्ने सुझाउँदै पोखरेलले आकर्षक नारा दिने, विज्ञापन गर्ने परिपाटी कानूनतः दण्डनीय रहेको पनि बताए ।

उनले सूर्योदय सहकारीले बचतको स्वीकृति पाएकोमा कार्यप्रगतिको लागि हौसला दिंदै लामो समय झोलामा बाँधिएको संस्था अब झोला फुकाएर कार्य गर्ने अवस्थामा आएकाले सफलताको शुभकामना पनि भने ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष खगेन्द्रप्रसाद ढुंगानाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा ४२३ जना शेयर सदस्य रहेको तथा एक करोड ४१ लाख रुपैयाँ शेयर पूँजी रहेको सुनाए ।

त्यस्तै निक्षेप तर्फ ४४ लाख ११ हजार रुपैयाँ, कर्जा लगानी ९३ लाख ३४ हजार रुपैयाँ रहेको तथा संस्थामा एक लाख ३६ हजार रुपैयाँ मौज्दात रहेको संस्थाका अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

सूर्योदय सहकारीले चालू आर्थिक वर्षदेखि संस्थागत विकासका लागि विभिन्न कार्यक्रमहरु अघि सारेकाले आउँदो वार्षिक साधारणसभामा उल्लेखनीय प्रगतिसहितको प्रतिवेदन आउने अध्यक्ष ढुङ्गानाले विश्वास पनि दिलाए ।

साधारणसभाको उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका बिर्तामोड शाखा प्रबन्धक सबिना बस्नेत, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, एक्सल डेभलपमेन्ट र्बैकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेललगायलले मन्तब्य राखेका थिए ।

          November 26, 2018 5:02 pm | सहकारी
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...