बन्दी बीपीसँग वीरेन्द्रको वार्ता

3 weeks अगाडी

बीपी कोइरालाको स्वास्थ्य बिग्रँदै थियो । नियमित उपचारमा संलग्न डा मृगेन्द्रराज पाण्डेले कांग्रेस नेता शंकर घिमिरेका भाइ डा मधु घिमिरेलाई भने, “बीपीको स्वास्थ्य एकदमै बिग्रिएको छ । जुनसुकै बेला ज्यान जान सक्छ । म कोसिस गरिरहेकै छु । पार्टीका तर्फबाट के हुन सक्छ गर्न लगाऊ ।”

यस प्रसंगमा डा मधु घिमिरेले लेखेका छन्, ‘बिहान ४ बजे टेलिफोनको घन्टी आयो । हस्पिटलमा कुनै इमर्जेन्सी केस आयो होला भन्ने लाग्यो मलाई । फोन उठाएँ । ए मधु घिमिरे उठ्यौ ? फोन मेरा गुरु डा मृगेन्द्रराज पाण्डेको थियो । उहाँले ए बाबु, तिमी बिहान छ–सात बजेअगाडि खुसुक्क मेरो घरमा आऊ त, एउटा काम छ भन्नुभयो । हतारहतार साइकल चढेर छ बजेअघि नै पुगेँ ।’

डा पाण्डेले चेला डा मधुलाई भने, “हेर अस्तिको दिन म बीपीलाई हेर्न गएको थिएँ । बीपीले १०–१५ मिनेटसम्म एउटा आँखाले केही देखेन, कालै भयो, त्यसपछि फेरि देखेँ भन्नुभयो । मैले क्यारोटिड आर्टरीमा चेक गरेको त्यहाँ त्रुटि छ । तँलाई यत्ति इन्फर्मेसन दिन बोलाएको हुँ, मैले आफ्नो तर्फबाट जे गर्ने हो गरिहाल्छु । तँ कांग्रेसको कार्यकर्ता होस्, नेताको त्यो गति छ । तँलाई यत्ति भन्न बोलाएको हुँ, ल अब गइहाल ।”

डा मधु सरासर घर गए र क्यारोटिड आर्टरीबारे खोजी गर्न थाले । उनलाई थाहा थियो, दिमागमा रगत पुर्‍याउने मूल नसा क्यारोटिड आर्टरी नै ब्लक भयो भने बिरामीलाई कुनै पनि बेला पक्षाघात हुन सक्छ । बीपीको नसा बन्द हुने अवस्थामा छ । बन्द भयो भने केके असर गर्न सक्छ ? डा मधु नोट बनाएर हतारहतार दाजु शंकरको कमलपोखरीस्थित निवासतर्फ हान्निए । दाजुलाई ब्रिफ गरे ।

परिवारलाई पहिला जानकारी दिनुपर्छ भनेर बीपीका साढुभाइ कानुनविद् गणेशराज शर्माकहाँ पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिए । डा घिमिरे भन्छन्, “गणेशराजजीले भन्नुभयो– प्रधानमन्त्री डा तुलसी गिरीले प्रयास गरिरहेकै छन् । बनिरहेको वातावरण बिगार्न र दुनियाँको ध्यान अन्यत्रै मोड्न फेरि यो के खेल हुँदैछ ? मैले बीपीको स्वास्थ्य अवस्थाबारे तयार पारेको कागज फालिदिनुभयो । हामीलाई एकदमै नरमाइलो लाग्यो । उहाँले फालेको चिट उठाएर हामी सीधै सूर्यबाबुकहाँ गयौँ ।”

सूर्यप्रसाद उपाध्यायले सोधे, “बीपीको रोग यही हो त पक्का भन्न सक्छस् ?” उपाध्यायले डा मृगेन्द्रराज पाण्डेलाई आफैँ फोन गरी बीपीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । अनि, डा मधुलाई उनले तयार पारेको रिपोर्टको ५० प्रति लिथो बनाउन लगाए ।

अमेरिका, बेलायत, भारतलगायत काठमाडौँस्थित शक्तिशाली मुलुकका दूतावासहरुमा बीपीको स्वास्थ्यसम्बन्धी रिपोर्ट पुर्‍याइयो । त्यो दिनको घटना डा मधु स्मरण गर्छन्, “सूर्यबाबुले कहाँ गएर कसको नाममा खामबन्दी पत्र दिने सबै बताइदिनुभयो । पहिला म भारतीय र बेलायती दूतावास गएँ । धेरै दूतावास चहारेर बेलुका लखतरान भएर घर फर्किएँ।” अनि, बीपीको परिवारमा खबर दिन सम्पर्कसूत्रको खोजी सुरु भयो । डा मधुले सुरुमा बीपीपुत्र प्रकाशलाई दिल्लीमा फोन सम्पर्क गर्ने प्रयास गरे । सम्भव भएन । बीपीका भतिजा डा शेखर वीर अस्पतालमै कार्यरत थिए । एक दिन आईसीयू कक्षको ढोका लगाएर डा पाण्डेले उनलाई बीपीको स्वास्थ्य गम्भीर भएको भन्दै कुनै उपायद्वारा तत्काल उपचारका लागि पठाउनुपर्ने बताए । शेखरमार्फत भारत प्रवासमा रहेका गिरिजासम्म कुरो पुग्यो । त्यतिन्जेल काठमाडौँस्थित भारतीय दूतावासमार्फत प्रधानमन्त्री मोरारजी देसाईसम्म बीपीको अवस्था जटिल रहेको सूचना पुगिसकेको थियो । डा मधुले भने, “मैले बनाएको त्यही रिपोर्टका साथ गिरिजाबाबु दिल्ली पुग्नुभएछ । गिरिजाबाबु र प्रधानमन्त्री देसाईको हातमा एउटै कागज रहेछ ।”

त्यसको भोलिपल्ट राती बेलायती प्रधानमन्त्री जेम्स केलानले राजा वीरेन्द्रलाई फोन गरी ‘बीपी बिरामी भएको समाचार आएको छ, उहाँको स्वास्थ्यबारे हामी चिन्तित छौँ’ भनेको सूचना दूतावासमार्फत सूर्यप्रसाद उपाध्यायसम्म पुगेको थियो । अनि मात्र राजा वीरेन्द्रलाई बीपीको स्वास्थ्य अत्यन्त जटिल रहेको थाहा भयो । संसारभरबाट दबाब बढ्दै थियो । अमेरिकी राष्ट्रपति जिमी कार्टर, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष बिली ब्रान्टले पनि बीपीको रिहाइका लागि आग्रह गरे ।

०३४ जेठ १६ गते डा पाण्डेले फेरि एक घन्टा लगाएर बीपीको जाँच गरे । “व्यायाम नगर्नुहोला । चिसो पानीमा ननुहाउनुहोला । कमजोरी बढाउने काम नगर्नुहोला, पटकपटक केही न केही खाइरहनुहोला” उनले दिएको सुझाव यस्तो थियो ।

उता, डा पाण्डेले बीपीको स्वास्थ्यबारे बढाइचढाइ गरे भनेर प्रधानमन्त्री डा तुलसी गिरी उनीसँग क्रुद्ध थिए । आफैँ चिकित्सक रहेका प्रधानमन्त्री डा गिरीले पाण्डेलाई सिंहदरबारमा बोलाएर भने, “बीपीको स्वास्थ्यबारे खुब बढाइचढाइ गरिरहनुभएको छ हैन ? एकबाट दुई, अनि दुईबाट चार बनाइसक्नुभयो होइन ? भन्नुस्, बीपीलाई थप उपचारका लागि कहाँ पठाउनुपर्‍यो ? जसलोक अस्पताल ?”

त्यो बेला बीपीका परम मित्र जयप्रकाशनारायण जसलोक अस्पतालमा भर्ना भएका थिए । डा पाण्डेले बुझिहाले । उनी बीपीलाई थुन्ने राजालाई यथार्थ बताएर आफ्नो मन हलुंगो पार्न चाहन्थे ।

लामो प्रयासपछि ०३४ को जेठ अन्तिम साता डा पाण्डेले राजाको दर्शनभेट पाए । अघिपछि भेट्नेभन्दा भिन्न बैठक कक्षमा लगियो उनलाई । राजा, प्रमुख सचिव रञ्जनराज खनाल र एडीसी मात्र थिए । राजाले भने, “ल भन त डाक्टर तिम्रो बिरामीको अवस्था के छ ?” डा पाण्डेले त्यस दिनको घटना सुनाउँछन्, “राजालाई मृगेन्द्रराजले राजनीति गरे भनेर कुरा लगाइएको थियो जस्तो लाग्छ । सरकार बीपीको रोग डरलाग्दो छ । तत्काल सुविधासम्पन्न अस्पतालमा उपचार भएन भने कुनै पनि बेला बीपीको ज्यान जान सक्छ ।” राजा वीरेन्द्रले कुतूहलपूर्वक सोधे, “होइन ए डाक्टर, आधुनिक साधन नै नभईकन तिमी बीपीलाई यति कडा रोग छ भनी लेख्छौ ? यही एउटा स्टेथेस्कोपको भरमा यति कडा रोग छ भनेर कसरी थाहा पायौ हँ ?”

राजा फटाफट एकपछि अर्को प्रश्न सोधिरहेका थिए । त्यो भेटबारे डा पाण्डे यसरी सुनाउँछन्–

राजा : तिमीसँग के सामान थियो र ? तिमी कति प्रतिशत स्योर छौ ?

डा पाण्डे :  सरकार मलाई विश्वास छ ।

राजा : तिमीलाई कति विश्वास छ ?

डा पाण्डे : सरकार ९८ प्रतिशत ।

डा पाण्डेले राजालाई भने, “सरकारको जिजुमुमा र मुमामा पनि यसैखाले विशेष समस्या थिए । मैले डायग्नोसिस गरेको हो कि होइन सरकार र ? मलाई विश्वास गरिबक्सियोस्, मेरो यही धारणा छ । बीपीको रोग धेरै नै कडा छ, चुप लागेर बस्ने बेला छैन ।” राजालाई विश्वास दिलाउन डा पाण्डेलाई एक घन्टा लाग्यो ।

राजा र डा पाण्डेबीच कुरा चलिरहँदा राती नै बीपीलाई दरबार ल्याउन प्रमुख निजी सचिव रञ्जनराज खनाललाई राजा वीरेन्द्रले हुकुम दिए । सचिव खनाल पुग्नुभन्दा १५ मिनेटअघि नै प्रहरी महानिरीक्षक खड्गजित बराल बीपीलाई राखिएको प्रहरी तालिम केन्द्र पुगे । राजाका सचिव खनाल भेट्न आउँदै गरेको जानकारी दिए । बीपीले भनेका छन्, “राजाका प्रमुख निजी सचिव खनाल ल्यान्डरोभर मोटर लिएर आए । मलाई तयार हुन भने । आधा घन्टाभित्रै तयार भएर म उनको मोटरको अगाडिको सिटमा बसेर दरबार गएँ ।” खनाल आफैँले मोटर चलाएर बीपीलाई सोझै राजाकहाँ पुर्‍याए ।

नारायणहिटी दरबारभित्र सुन्दर ढंगमा सजाइएको एउटा सानो कोठामा बीपीलाई राखियो, जहाँ डा पाण्डे पनि थिए । उनी सम्झन्छन्, “म दरबारमै छु । बीपी मयलपोस सुरुवाल, कोट लगाएर मक्ख पर्दै आउनुभयो । मलाई देखेर भन्नुभयो– ओहो डाक्टरसाप तपाईं पनि ?” राजासँग राजनीतिक कुरा गर्ने मनसाय थियो, बीपीको ।

बीपी लेख्छन्, ‘एकछिनमा राजाका मिलिटरी सेक्रेटरी आए, स्यालुट गरे र मलाई त्यो भव्य कोठामा लिएर गए, जुन कोठाको ठूलो टेबलपछाडिको मेचमा राजा थिए । कोठामा अरु कोही थिएनन् ।’ राजाको कोठामा बीपीलाई पुर्‍याएपछि सैनिक सचिव बाहिरिए । राजाले अगाडिको सोफा देखाउँदै बस्न इसारा गरे । बिरामी बीपीको आवाज राजाले सुन्न सकेनन् । भद्रताका कारण राजाको मधुरो आवाज बीपीले पनि सुन्न सकेनन् । बीपीले भनेका छन्, ‘त्यो स्थितिको अन्त्य गर्न राजा नजिकैको सिंगल सोफामा बसे । अनि, बल्ल हामी एकअर्काको कुरा सुन्न सक्ने भयौँ ।’

बीपी : सरकार, म आज बडो प्रस्ट कुरा गर्न आएको छु ।

राजा : बीपी, तिमीलाई आफू कति बिरामी छु भन्ने थाहा छैन होला । तिम्रो स्वास्थ्य एकदमै खराब छ ।

बीपी : सरकार मेरो स्वास्थ्यभन्दा देशको स्वास्थ्य झन् खराब छ ।

राजा : मैले तिमीलाई स्वास्थ्यको कुरा गर्न बोलाएको हो । राजनीतिक कुरा तिमी स्वस्थ भएपछि गरौँला ।

बीपी : सरकार देशको राजनीतिक समस्या मुख्य कुरा हो । मेरो व्यक्तिगत स्वास्थ्यका कारण यो गम्भीर समस्यालाई पर सार्न उचित हुँदैन होला ।

राजा : बीपी तिमीलाई आफ्नो स्वास्थ्यको वास्तविक अवस्था थाहा छैन क्यार । ल यो डाक्टरको रिपोर्ट पढ ।

राजाले एउटा सफा कागजमा टाइप गरेको रिपोर्ट बीपीको हातमा राखिदिए । धेरै टेक्निकल कुराहरु थिए त्यसमा । अन्त्यमा लेखिएको थियो, “एट एनी मोमेन्ट ही क्यान कोल्याप्स ।”

रिपोर्ट पढ्दै गर्दा सहयोगी बोलाउन राजाले बजाएको कलबेलको आवाज बीपीको कानमा ठोक्कियो । ढोकाको पर्दामा सचिव खनाल देखिए । उनलाई राजाले भने, “डाक्टरलाई भित्र पठाऊ ।” डा पाण्डे आए । उनी सुनाउँछन्, “राजाबाट हुकुम भयो, यिनी आफ्नो स्वास्थ्यबारे बडो लापरबाह रहेछन् । यिनलाई सम्झाऊ । ल डाक्टर बीपीलाई के रोग छ बताइदेऊ ।” पटकपटक स्वास्थ्य जाँच गरे पनि बिरामीलाई ‘सक’ हुन सक्छ भनेर त्यसअघि उनले बीपीलाई रोगबारे बताएका थिएनन् । राजाको आदेशपछि यथार्थ कुरा भनिदिए । डा पाण्डे भन्छन्, “आफूलाई त्यति गम्भीर रोग लागेको थाहा पाएपछि धेरै बिरामी सीधै फेन्ट हुन सक्छन् । तर, बीपीको अनुहारमा मैले कुनै परिवर्तन देखिनँ ।”

बीपीकै शब्दमा, अत्यन्तै दक्ष डा पाण्डे भारतमै भएको भए पनि विशिष्ट चिकित्सक हुन सक्थे । त्यसपछि राजाले खनाल र डा पाण्डेलाई बाहिर जान इसारा गरे । अनि, राजा र बीपीबीच डेढ घन्टा कुरा भयो ।

बीपी : सरकार म प्रस्ट कुरा गर्न आएको छु । मलाई यो उमेरमा डर र लोभ केही छैन । सरकारबाट पाउनुपर्ने जति दुस्ख पाइसकेँ, अब योभन्दा बढी पाउने ठाउँसमेत छैन ।

राजा : बीपी तिम्रो स्वास्थ्य निकै खराब रहेछ । यो राजनीतिक कुरा गर्ने बेला होइन । त्यो त तिमी निको भएर आएपछि गर्न सकिन्छ ।

बीपी : सरकार मेरो स्वास्थ्यभन्दा देशको स्वास्थ्य झन् खराब छ । मेरो व्यक्तिगत स्वास्थ्यका कारणले यो गम्भीर समस्यालाई पर सार्नु उचित नहोला । सरकारलाई खुसी पारुँ र केही पाऊँ भने पनि सरकारबाट बक्सिने सबभन्दा ठूलो पद प्रधानमन्त्री हो, त्यो म भइसकेँ । मलाई त्यसको लोभ पनि छैन । सरकार मैले जति प्रस्ट कुरा गरेको छु, सरकारसँग भेट्ने अरुले पनि यसरी प्रस्ट गर्छन्, सरकार ?

राजा : अँ, कोही त प्रस्ट भन्छन् । तर, धेरैले भन्दैनन् ।

बीपी : एकपटक स्वर्गवासी महाराज महेन्द्रबाट हुकुम भएको थियो– बीपी, तपाईंहरुले राजनीतिमा गल्ती गर्नुभयो भने जेल जानुहुन्छ र निक्लँदा हिरो भएर निक्लिनुहुन्छ । तर, मैले गल्ती गरेँ भने म कहिल्यै निक्लन्नँ । मैले त्यतिबेला सरकारसँग भनेको थिएँ– सरकार म असफल भएँ भने मेरो विराटनगरमा खेती छ । त्यहीँ गएर बस्छु । तर, सरकार कहाँसवारी हुन्छ नि ?

राजा : तिमीलाई याद छ, तिमी नेपालको महाराजाधिराजसँग कुरा गर्दै छौ ? (उत्तेजित हुँदै आफ्नो सोफाबाट जुरुक्क उठेर राजाले भने । उनको चेहरा रक्तिम थियो ।)

बीपी : मलाई पूराका पूरा अनुभूति छ सरकार । म श्री ५ महाराजाधिराजसँग कुरा गर्दै छु । “सरकारलाई पनि यो अनुभव हुनुपर्छ कि सरकार नेपालको एक राजनीतिज्ञसँग कुरा गरिबक्सँदै छ ।”

त्यसपछि राजा पुन: सोफामा बसे । र, फेरि उही शैलीमा कुरा भयो–

राजा : उपचारका लागि कहाँ जाने ?

बीपी : दिल्ली, बम्बै वा भेलोर ।

राजा : डाक्टरको प्रतिवेदनअनुसार तिम्रो शल्यक्रिया भारतमा सम्भव छैन । तिम्रो जीवन नेपालका लागि अमूल्य छ । यो उपचार अमेरिकाको ह्युस्टनस्थित अस्पतालमा सम्भव छ । भरसक भोलि नै जानु उचित होला ।

बीपी : म यति छिट्टै जान सक्दिनँ सरकार । किनभने, खर्चको व्यवस्था गर्न मलाई समय लाग्छ । ०१७ सालमा मेरो दुई लाखजति रकम सरकारले जफत गरेको छ । त्यो पैसा फिर्ता भयो भने म जान सक्छु ।

राजा : त्यो पैसा फिर्ता गर्न एक साता वा त्योभन्दा पनि बढी लाग्न सक्छ । त्यति पर्खने अवस्था छैन । यात्रा र उपचारमा लाग्ने खर्चको व्यवस्था म गरिदिन्छु । तिमी भोलि नै जाने तयारी गर । तिमी अहिले तत्काल यहीँबाट रिहा भएर सीधै घर जान पनि सक्छौ ।

बीपी : “सरकार मैले जेलमा रहेका गणेशमान सिंहलगायतका साथी र नातेदारसँग पनि भेट्नुपर्छ । भोलि नै जाने कुरा अलि सम्भव हुँदैन सरकार । शिविरमा फर्किएर गणेशमानजीलाई भेट्छु । आजको रात त्यहीँ बस्छु । अर्को दिन मलाई मुक्त गरियोस् ।”

राजा : “हुन्छ । तिमी तयारी गर, पैसाको चिन्ता नगर, त्यसको व्यवस्था हुनेछ ।” बीपी भने राजासँग त्यसै दिन राजनीतिक विषयमा कुरा गर्न चाहन्थे । तर, उनको बिग्रँदो स्वास्थ्यका कारण राजा भन्न थाले, “तिमी फर्केपछि पनि राजनीतिक विषयमा कुरा गर्न पर्याप्त समय रहन्छ । तिमी आफ्नो स्वास्थ्यलाई बेवास्ता नगर । तिम्रो जीवन ज्यादै बहुमूल्य छ ।”

त्यही भेटमा बीपीले देश जोगाउन राजतन्त्र र प्रजातान्त्रिक शक्तिबीचको एकतामा जोड दिए । प्रजातन्त्रको विकासका लागि संस्थाहरुको निर्माण, जनअधिकारको पुनस्स्थापना र विकासका काम एकै चरणमा अघि बढाउनुपर्ने सुझाव उनको थियो । बीपीले भनेका छन्, “राजा मात्र सक्रिय भएर पुग्दैन, व्यवस्था नै यस्तो हुनुपर्छ, जसमा जनता उत्प्रेरित होऊन् । राजा सहमत होइबक्सियो ।”

राजा र बीपीबीच खुलेर कुरा भयो । बीपीले भनेका छन्, “मैले आफूलाई राजावादी हुँ भन्ने गरेको छु । न म चाटुकार भएर भनेको हुँ, न त कसैको डरधाकमा परेर । राजाबाट मउपर हुन सक्नेसम्मको खराबी भइसकेको छ । त्यसैले निर्भय छु, राजासँग डराउनुपर्ने केही छैन । प्रलोभनको त कुरै भएन । राजाले मलाई के पुरस्कार, के उपहार दिन सकिबक्सन्छ र ? प्रधानमन्त्री पद ? त्यसरी दिएको प्रधानमन्त्रित्व स्वीकार्न म तयार छैन । पदको प्रलोभन अथवा फेरि जेल पर्ने खतरा या कुनै अझ ठूलो विपत्ति आइपर्ने डरले म राजाको पक्षमा भएको होइन । मैले राजाकै कारण अनेक किसिमका दुस्ख भोगेको छु ।”

राष्ट्रको रक्षा गरी देश बनाउन र प्रजातान्त्रिक राजनीतिक प्रणाली कायम गर्नसमेत राजाको सहयोग चाहिन्छ भन्ने कुरामा उनले जोड दिए । राजासँगै भिड्नुपर्दा प्रजातन्त्रवादीको शक्ति समाप्त हुने र देश पनि बर्बाद हुने आफ्नो बुझाइ राजासमक्ष राखे । वार्तालापकै क्रममा बीपीले राजासाग भने, “राष्ट्रप्रेम नभए राजाको सिंहासन रहँदैन ।”

त्यो बेला आफूले राजा महेन्द्रलाई भनेको कुरा सम्झाउँदै उनले वीरेन्द्रलाई भनेका थिए, “त्यसैले सरकार यो देशले स्वाधीनता गुमाएर भारत या चीनको अंग भयो भने पनि मेरो खेतीपाती र विराटनगरको घर रहने नै छ । चाहे विराटनगर भारतमा होस् वा चीनमा । म भारतीय वा चिनियाँ संसद्को सदस्यका लागि मतदान गर्ने हुन सक्छु । म त्यहाँ अवश्य हुनेछु । तर, देश भएन भने सरकारको के हुन्छ ? सिंहासनको स्थायित्वप्रतिको मौसुफको स्वार्थले गर्दा मुलुकको स्थायित्वप्रति मौसुफ मभन्दा बढी चिन्तित हुनुपर्छ ।”

डेढ घन्टा लामो वार्तालाप सकेर प्रसन्न मुद्रामा बीपी दरबारबाट फर्किंदा राती १२ नाघिसकेको थियो ।

दरबारबाट बीपी बाहिरिएपछि राजाले फेरि डा पाण्डेलाई बैठक कक्षमा बोलाएर भने, “डाक्टर बीपीलाई उपचारका लागि कहाँ पठाउनुपर्छ ? कहाँ राम्रो हुन्छ ? निर्णय गर्ने अधिकार उनलाई नै दिए हुन्छ ।” प्रमुख निजी सचिव खनाल, डा पाण्डे र एडीसीबाहेक त्यो रात बीपीसँग राजाले भेटेको कुरा कसैलाई थाहा थिएन । उनको अमेरिका भ्रमणको सबै तयारी मिलाउन राजाले मुख्यसचिव खनाललाई आदेश दिए । डा पाण्डे सम्झिन्छन्, “राजाबाट हुकुम भयो– यो कुरा प्रधानमन्त्रीलाई पनि जानकारी गराइदिनू ।” त्यो दिनको घटनाक्रमबारे खनाल सुनाउँछन्, “बीपी तिमीले सोचेभन्दा ठूलो रोग रहेछ । त्यसैले तिमीलाई संसारकै सुविधासम्पन्न अस्पतालमा उपचार गराउने व्यवस्था गरिनेछ । सबै खर्च सरकारले बेहोर्नेछ ।”

भोलिपल्ट बीपीको यात्राका लागि औपचारिकता पूरा गर्न राष्ट्र बैंक र परराष्ट्र मन्त्रालयका अधिकारी उनी थुनामा रहेको प्रहरी तालिम केन्द्र महाराजगन्जमै पुगे । यात्रुचेक र पासपोर्ट–भिसाको सबै प्रक्रिया त्यहीँ पूरा गरियो । ती सबै कागजपत्रमा बीपीपत्नी सुशीलाले हस्ताक्षर गरिन् । पाँच हजारको यात्रु चेक र हवाई टिकट गरी नौ हजार डलर सरकारले उनलाई उपलब्ध गरायो । अरु नपुग पैसा अमेरिकास्थित नेपाली दूतावासमार्फत तिर्ने आदेश भयो । बीपीले भनेका छन्, “त्यो पटकको उपचारमा १३ देखि १४ हजार डलर खर्च भयो ।”

– बीपीको विद्रोहबाट

          November 23, 2018 8:42 pm | छापाबाट,साहित्य
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...