हरिबोधिनी एकादशीको शास्त्रीय महत्व

4 weeks अगाडी

यसपालि ०७५ साल मङ्सिर ३ गते सोमबार हरिबोधिनी एकादशीको महान् पर्व परेको छ ।

यसलाई अर्को शब्दमा प्रबोधिनी एकादशी वा ठूलो एकादशी  पनि भनेर पुकारिन्छ । वर्षभरमा जम्मा चौबीसवटा एकादशी पर्व पर्छन् तर मलमासको बेला भने दुई एकाशी अझ थपिन्छन् । हरेक एकादशीको आआफ्नै नाम र चिनारी छन् ।

हुन त हाम्रा सबै तिथि र बारहरू पर्व वा उत्सवका याम हुन् ।
एकादशीको जन्म स् यसबारे एउटा रोचक मिथक छ ।

परापूर्व कालमा ब्रह्माको वंशमा ‘तालजङ्घ’ नाम गरेको डरलाग्दो असुर जन्मियो । उसको छोरा ‘मुर’ चन्द्रावती  नामको नगरमा बस्दथ्यो ।

‘मुर दानव’ सारै पराक्रमी भएकाले आफ्नो वीरताबाट  तीनै लोकमा प्रसिद्ध हुन गयो ।

एक पटक उसले स्वर्गमा बस्ने देवताहरूलाई युद्धमा परास्त गरी त्यहाँबाट लखेट्यो ।

यतिसम्म एकछत्र पार्यो कि अग्नि, चन्द्र, सूर्य, वायु र वरुणजस्तालाई पनि पदच्युत गरी अर्कै व्यवस्था लागू गर्यो । मुर दानवको यो अत्याचारबाट मुक्त हुन देवगण शिवजीकहाँ सल्लाह गर्न गए ।

शिवजीले देवगणलाई क्षीर सागरमा शयन गरिरहनुभएका विष्णुको स्तुति गर्न सुझाव दिए । भगवान् विष्णुलाई स्तुतिमार्फत प्रसन्न गराएपछि उनी जागा भए ।

जागेका विष्णुले सबै देवताहरूलाई लिएर चन्द्रावती नगरमा जानुभयो । दानवहरूलाई युद्धमार्फत संहार गरेर भगवान् विष्णुलगत्तै बदरिका–श्रमको  सिंहावती  गुफामा  गएर  सुत्नुभयो । यता मुर  नामक  दैत्य विष्णुको पिछा गर्दै गुफाभित्र पुग्यो ।

सुतेका विष्णुलाई मार्न तम्सियो । तत्काल विष्णुको शरीरबाट अत्यन्त रूपवती एवम् दिव्य अस्त्रशस्त्रले युक्त कुमारी प्रकट भइन् ।

भगवान्को तेजको अंशबाट जन्मिएकी ती कन्याले मुर दानवलाई युद्धको हाँक दिइन् । तर लड्दालड्दै मुर खरानीको रासमा परिणत भयो ।

त्यसपछि विष्णु  बिउँझिनु भयो । कन्याको वीरताबाट प्रभावित हुँदै विष्णुले वर माग्न अनुरोध गरे ।

ती गुणवतीले पनि प्रभु साँच्चै प्रसन्न हुनुहुन्छ भने हजुरको कृपाले सबै तीर्थमा मुख्य, विघ्नबाधा नाश गर्ने, सबै प्रकारका सिद्धि दिने देव बन्न सकूम् भनिन् ।
विष्णुले पनि वरदान दिए । तिनै रूपवती कन्या एकादशीको नामले संसार प्रसिद्ध भइन् ।

एकादशीका नाम निम्न छन् ः उत्पन्ना, मोक्षा, सफला, पुत्रदा, षट्तिला, जया, विजया, आमलकी, पापमोचनी, कामदा, बरुथिनी, मोहिनी, अपरा, निर्जला, योगिनी, हरिशयनी, कामिका, पुत्रदा, अजा, पद्मा, इन्दिरा, पापाङ्कुशा, रमा, हरिप्रबोधिनी, कमला, कामदा हुन् ।

यतिखेर चर्चा गर्न लागेको एकादशी प्रबोधिनी एकादशी हो । असार शुक्ल एकादशीका दिनदेखि  क्षीरसागरमा सुतेका विष्णु  चार  महिनापछि यसै एकादशीका दिन निन्द्राबाट ब्यूँझन्छन् । विष्णुभक्तहरू यो  चतुर्मासको व्रत गर्छन् । चतुर्मासमा विवाह, ब्रतबन्ध र अन्य माङ्गलिक काम गर्न हुँदैन ।

यसको मूल कारण चाहिँ यो समय बर्खाको हुँदा बिच्छी, सर्प, नदीखोला, बाढीपहिरो र हिंस्रक जनावरहरूले दुःख दिन्छ भनेरै हो । प्राकृतिक विपत्तिमा मान्छेहरू पर्न नपरोस् भन्ने चाहना नै यसको अन्तर आसय हो ।

भनिको छ तावत् गर्जन्ति तीर्थानि, गङ्गाभागीरथी क्षितौ ।

यावन् नायाति पापघ्नी, कार्तिके हरिबोधिनी ।।

अर्थात् पृथ्वीमा जहाँसम्म पापलाई नाश गर्ने कार्तिक शुक्लको हरिबोधनी एकादशी आउन्नन् त्यहाँसम्म गङ्गा भागीरथी आदि तीर्थहरू गर्जन्छन् ।

यो भनाइले हरिबोधनी एकादशीको महाशक्तिलाई नमन गरेको बुझिन्छ । कृष्ण भगवान्ले युधिष्ठिरलाई भन्दैछन्– कार्तिक महिनाको शुक्लपक्षको प्रबोधिनी एकादशीमा भगवान् विष्णु जागा हुन्छन् ।

यस दिनलाई देवोत्थान पनि भनिन्छ । यो एकादशीको व्रतले हजार अश्वमेध यज्ञ र सात सय राजसूय गरे बराबर हुन्छ । भक्तिपूर्वक उपवास गर्नाले ऐश्वर्य, सम्पत्ति, उत्तम बुद्धि, राज्य तथा सुख पाउन सकिन्छ ।

कार्तिक महिनामा भगवान् जनार्दनलाई तुलसी पत्र, पूmल अर्पण गरी भक्तिपूर्वक पूज्नाले र तुलसीको हरेक दिन दर्शन, स्पर्शन, ध्यान, नाम कीर्तन, स्तवन, अर्पण, सेचन, नित्य पूजन गरेमा त्यस्तालाई कोटीसहस्र युगसम्म पुण्य प्राप्त हुन्छ ।

यही एकादशीमा घरआगनमा मण्डप बनाएर तुलसीको विवाह  गर्ने चलन छ । यो  कार्यक्रममा  नवग्रह तथा  मातृकाको पूजा गरिन्छ । सेतो रङ, पूmलको माला र पछ्यौरा वा सलहरूले तुलसीलाई सिँगार्ने चलन छ । भव्य मण्डप बनाएर विष्णुको प्रतीकको रूपमा निगालाको लिङ्गा गाडिन्छ । हाम्रो धर्ममा तुलसीको महिमा यसरी गाइएको छ । ‘तुल–सी त्वं जगत् माता तुलसी त्वं जगत् पिता’ यसरी तुलसीलाई संसारकै आमा र बा भनेर सम्मान बर्साइएको पाउँछौं । त्यसैले तुलसीको मठ भएको घर तीर्थ वा देवालयसमान हुन्छ । कार्तिक महिनाभरि सबै देवदेवी तुलसीमा निवास गर्छन् । तुलसीको सुगन्धले दशै दिशा पवित्र हुन्छ ।

त्यस्तो घरमा यमदूतहरू पस्न सक्दैनन् । गरुड पुराणले त यतिसम्म किटान गरिदिएको छ कि कार्तिक महिनामा एउटा तुलसी पत्र विष्णुलाई अर्पण गर्दा दश हजार गोदान गरे सरह फल प्राप्त हुन्छ ।

सत्यभामाले गरेको तुला दानमा सबै सम्पत्ति राख्दा पनि कृष्ण नै ओजनदार हुँदा रुक्मिणीले तुलामा तुलसी पत्ता राखिदिने सङ्केत गरेर यसको गरिमालाई महिमामण्डित बनाएको  रोचक कथा हामी सबैलाई थाहा भएकै कुरा हो ।

विज्ञानको आँखामा तुलसी बहुमुखी महौषधि हो । यसको पात, डाँठ वा पूmलको रसले रुघाखोकी, औलो  भगाउँछ  भने  यसको रस जिउमा लगाएर सुत्दा लामखुट्टेको टोकाइबाट मुक्ति पाइन्छ । पञ्चामृत वा चरणामृतमा तुलसी पात राखेछि कुनै पनि कीटाणु पर्न सक्दैनन् ।

परे पनि त्यस्ता पेय पदार्थ अपेय बन्दैनन् । सर्प, बिच्छीजस्ता विषधरहरू तुलसीको अगाडि एकछिन पनि टिक्न सक्दैनन् । तुलसी पत्र नचढाई शालिग्रामको पूजा हुन सक्दैन । तुलसीको बास्नाले  श्वासप्रश्वासका बिरामीलाई सन्चो दिन्छ । मर्न लागेका प्राणीहरूलाई तुलसी जल दिन सके मुक्त हुन्छन् ।

त्यसै गरी मरेको लास पोल्दा तुलसीको दाउरा थोरै मात्रामा प्रयोग गर्दा पनि वातावरण दुर्गन्धित बन्दैन । तुलसीसित सङ्क्रामक रोगलाई निरोध गर्ने अद्भूत तागत छ । हाम्रा ऋषिमुनिहरूले त्यसै हचुवाको भरमा पूजा गर्न लगाएका हैनन् भनेर बुझ्नु नयाँ पुस्ताको जिज्ञासु कर्तव्य हो ।

‘हरि’को लाक्षणिक अर्थ विवेक हो । न्याय अन्याय, ठीक बेठीक, गुण अवगुण, उचित अनुचित छुट्याउने क्षमता नै विवेक वा हरि हो । त्यस्तो  परमार्थ ९परोपकारी० भाव जागा हुने वा ब्यूझने शुभ मुहूर्त भएरै यो दिनलाई ‘हरिप्रबोधिनी’ एकादशी भनेर पुकारिएको हो ।

उहिल्यै कालनेमि नाम गरेका दैत्यले आफ्नी छोरी वृन्दालाई जालन्धर नामक दानवसित बिहे गरिदिए छन् । समुद्र मन्थन गरेको बेला महादेवको पसिनाबाट जालन्धरको जन्म भएको थियो । त्यति बेला महादेवको कुनै कुरामा स्वर्गका राजा इन्द्रले अपमान गरेका थिए । त्यसै भएर जालन्धरले आपूm समुद्रबाट जन्मिएको हुँदा महासागरबाट उत्पन्न भएका १४ रत्न इन्द्रसित माग्यो । अनि इन्द्रले दिन आनाकानी गरेछि उसले ब्रह्माको घोर तपस्या गर्यो । ब्रह्मा प्रसन्न भएर जालन्धरलाई वर दिए ।  जबसम्म तिम्रो स्त्री तिमीलाई छोडेर कुनै परपुरुषसित सम्बन्ध राख्दिनन् तब तिम्रो मृत्यु असम्भव छ । त्यसपछि जालन्धर सुरिएर इन्द्रलोकमा आक्रमण गरी अमरावतीमा विजयको झण्डा फहरायो ।

सबै देवताहरूको भागदौड मच्चियो । विष्णु भगवान् ज्यान बचाउन वैकुण्ठलोक पुगी लुक्नु भयो । आफ्नी परम प्रिया लक्ष्मीलाई सबै हाल बताउँदै उपायबारे लक्ष्मीसित अनुरोध गरे । लक्ष्मीले विष्णुसित वृन्दाको सती बलबारे बताइन् । सतीशिरोमणि वृन्दाको सतीत्व नष्ट गर्न देवगण असफल भएपछि स्वयम् विष्णु भगवान् जालन्धरको रूप लिएर गई सतीत्व हरण गरे ।

लगत्तै इन्द्रले जालन्धरको टाउको काटेर वृन्दाको आगनमा खसालिदिए । यो थाहा भएछि वृन्दाले विष्णुलाई श्राप दिइन् । विष्णु कालो ढुङ्गा बने ।

त्यसै बेलादेखि विष्णु शालिग्राम बने भने वृन्दा तुलसी भइन् । त्यसैले विष्णुमार्गीहरू तुलसी रूपी वृन्दाको विवाह बर्सेनि गर्छन् । हरि जागा हुने र मानव मनमष्तिष्क जाग्रत गराउने यो पर्व थुप्रै गुरु गर्व बोकेको पर्व हो ।

अस्तु ।

          November 19, 2018 10:37 am | साहित्य
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...