बिर्तामोड बनाउने मार्गचित्र

2 months अगाडी

आज नेपालले संघीय लोकतान्त्रिक संविधान पाएको छ । यो नयाँ संविधान धेरै ठूलो र लामो सङ्घर्षबाट प्राप्त संविधानसभाले बनाएको हो । जसले नेपाललाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा रूपान्तरण गर्यो । आजको स्थानीय सरकार आफैंमा धेरै शक्तिशाली छ । त्यस्तै स्थानीय गाउँ वा नगर प्रमुख र वडा प्रमुखसँग धेरै अधिकार प्राप्त हुनका साथै ठूलो चुनौती र जिम्मेवारी पनि थपिएको छ ।

नेपालका यिनै स्थानीय सरकारमध्येको एक झापाको बिर्तामोड नगरपलिका हो । बिर्तामोड तीन दशकभन्दा अगाडिदेखि नै झापाको मात्र नभएर मेची अञ्चलकै व्यापारिक केन्द्रको रूपमा रहेको छ । जसको कारण यहाँको बसोबास गर्ने व्यक्तिहरूको बाक्लो उपस्थिति हँदै गयो । कुनै पूर्वाधार पूरा नगरी जताततै घरहरू बन्दै गए । बाटो छैन, ढल छैन, सार्वजनिक शौचालयहरू छैनन् । केही भएका बाटाहरू पनि धेरै साँघुरा छन् । अर्थात् बिर्तामोड पूरै अस्तव्यस्त छ ।

यी सबै समस्याहरु बिर्तामोडलाई समयमै नगरपालिकामा रुपान्तरण नगरेरै भएका हुन् । यदि २० वर्ष अगाडि नै नगरपालिकामा रुपान्तरण गरिएको भए आज यस्तो अवस्था पक्कै हुने थिएन । तर, अब ढिलै भए पनि नगरपालिका बनेको छ । त्यसमा पनि पूर्ण अधिकारसहितको नगरपालिका । अब हामी यहाँका सम्पूर्ण जनप्रतिनिधिहरू, राजनीतिक दलहरू, व्यापारीहरू, संघ–संस्थालगायत सम्पूर्ण जनता जिम्मेवार बनी नगरको विकासमा लाग्नुपर्दछ ।

अब नगरपालिकाले गर्ने सम्पूर्ण विकास निर्माणको काम आफैं गरे तापनि उपभोक्ता समिति बनाई निगरानी गर्न लगाउनु पर्दछ । जसको लागि बिर्तामोड नगरका १० वटै वडामा एक स्थायी उपभोक्ता समिति निर्माण गर्नु पर्दछ र कुनै पनि वडाभित्र गर्ने समाजिक कार्यका लागि यही उपभोक्ता समितिले निगरानी गर्ने वा सम्बन्धित ठाउँकै लागि वडाध्यक्षको रोहवरमा त्यही उपभोक्ता समितिले अर्को उपभोक्ता बनाई कार्य गर्ने गराउने वातावरण बनाउनु पर्दछ । जसले गर्दा आफ्नो ठाउँको विकासमा मेरै नेतृत्व र मेरै लगानी भन्ने कुराको बोध गराएर कार्य गर्ने हो भने कार्य दिगो, छिटो र सस्तोमा गर्न सकिन्छ ।

सन्दर्भ गत स्थानीय तह चुनावको हो । बिर्तामोडका १० वडामध्ये ४ जना वडाध्यक्ष नेपाली काङ्ग्रेस र १ राष्ट्रिय प्रजातान्त्रिक पार्टी र बाँकी प्रमुख र उपप्रमुखसहित ५ वटा वडाध्यक्ष तत्कालीन एमालेले जित हात पार्यो । यो पङ्तिकारको बसोबास रहेको ४ नं. वडामा काङ्ग्रेसका कुलप्रसाद सङ्ग्रौला वडाध्यक्ष बन्नुभयो । मैले उहाँले जित्ने बित्तिकै भनेँ, दाइ तपाईंले अरु एमालेका नगर प्रमुखलगायत वडाध्यक्षहरूलाई कसरी मनाउनु हुन्छ । त्यो तपाईंको कुरा हो तर तपाईं निम्न प्रकारका ४ वटा कार्य गर्नुहोस् भनेको थिएँ । आज पनि म तिनै चार विषयलाई यहाँ उठान गरिरहेको छु ।

पहिलो : तपाईँहरू निर्वाचित १० वडाध्यक्ष, नगर प्रमुख र उपप्रमुखका साथै ८–१० जना विभिन्न क्षेत्रका विज्ञहरू २ दिनका लागि श्रीअन्तु वा भेडेटार (ठाउँ नै तोकेर) गएर फोन स्वीच अफ गरेर बस्नुहोस् र यो नगरलाई अबका १० वर्षपछि कस्तो बनाउने, जसको लागि आफ्नो ५ वर्षे कार्यकालमा के–के गर्ने, त्यसको प्राप्तिको लागि यो १ वर्ष के गर्ने, दोस्रो वर्ष केके गर्ने, भनी बोर्डबाट पास गरेर आउनुहोस् अनि आफ्नो कार्यको सुरुआत गर्नुहोस् भनेको थिएँ । त्यो उहाँहरुले सुरु गर्नु भएन ।

दोस्रो :  मैले सुनेको कुरा पटना सहरको सम्पूर्ण सडक बत्ती ढलबाट बायोग्यास बनाई सोही ग्यासबाट मात्र बल्छ । अब सोच्नुहोस् यहाँ एउटा घरको लागि आवश्यक सेप्टी टयाङ्की बनाउन १ लाखभन्दा बढी खर्च लाग्छ तर नगरपालिकाले पायक पर्ने गरी ठाउँ–ठाउँमा जग्गा खरिद गरेर त्यहाँसम्म पुग्ने ढलको व्यवस्था गर्ने र हरेका घरको शौचालयको निकास सिधै ढलमा जोडेर ग्यास उत्पादन गरे हरेक घरले नक्सापास गर्दा नगरपालिकालाई राम्रो रकम तिर्न राजी हुन्छन् । जसले गर्दा वातावरणमा स्वच्छता, उर्जा उत्पादनमा नगरले उक्त ग्यास बेचेर मनग्य आम्दानी गर्न सक्दछ । त्यसको पहल कदमी चाल्नुहोस् भनेँ, तर त्यो गरिएन ।

तेस्रो : तपाई बिर्तामोडमा एउटा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम, सभाहल, एउटा कभर्ड हल, एउटा चिल्ड्रेन पार्क बनाउने सोच बनाउनु होस् । मलाई थाहा छ, त्यो अहिले नै सम्भव छैन तर आज तपाईँले सोचमात्र बनाएमा जग्गा सित्तै पाइन्छ तर पछि नगरपालिका त्यो कार्य गर्न सक्षम होला त्यति बेला जग्गा पाउने छैन । नगर पालिकाले त्यो सोच बनाएको पनि मैले पाएको छैन ।

चौथो : बिर्तामोड नगरपालिकाभित्र कतिवटा सहकारी संस्थाहरू छन् । तपाईलगायत नगर प्रमुखलाई त्यसको जानकारी हुनु पर्यो । राज्यले राज्य निर्माणको तीन खम्बामा पहिलो सार्वजनिक, दोस्रो निजी र तेस्रो सहकारी भनी तीन खम्बे नीति पास गरेको छ । विश्व इतिहासमा समृद्ध मुलुकहरू सहकारीकै माध्यमबाट बनेका कुरा देखिएका छन् । तपाईहरूको सरोकारवाला जनता र ती सहकारीका लक्षित सदस्यहरू एकै हुन् । दुवैको उद्देश्य यहाँस्थित जनता वा सदस्यको जीवनस्तरमा वृद्धि ल्याउने हो । उनीहरूलाई एकीकरण गर्नमा प्रोत्साहन गरी छरिएको पूँजीलाई एकीकृत गरी उत्पादन क्षेत्रमा लगानी गर्ने र गरिरहेकालाई अझ मजबुद बनाउनको लागि हातेमालो गर्नुहोस् भनेँ । त्यो कार्यको पनि सुरुआत भएको छैन ।

स्थानीय स्तरमा स्थानीय सरकारले गर्ने कार्य भनेकै स्थानीय व्यक्तिहरूको स्वास्थ्य, शिक्षा सडकको पहँच, स्वच्छ खानेपानी, हराभरा वातावरणका साथै तिनै जनतालाई हरेक क्षेत्रमा पुर्याउने सेवा सुविधा नै हो । सहकारीले पनि आफ्ना सदस्यलाई तिनै सेवा सुविधाहरू पुर्याउन कोसिस गरिरहेका हुन्छन् । अर्थात् दुवैको लक्षित समुदाय एउटै हो । उनीहरूको जीवनस्तरमा वृद्धि गर्दै आयमूलक व्यवसायमा रूपान्तरित गरी आम्दानीको स्रोत बढाउँदै समग्र मुलुकको समृद्धिका लागि जिम्मेवार बनाउनु हो ।

तर अब कति पनि ढिलाई नगरी यहाँका सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरू, संघसंस्था वित्तीय संस्था, सहकारी संस्था, राजनीतिक दल, व्यापारी, कर्मचारी र आमजनता जिम्मेवार बनी बिर्तामोडलाई भौतिक पूर्वाधारले पूर्ण र सुन्दर नगरपालिका बनाउन आ–आफ्नो जिम्मेवारीका साथ महाअभियानमा सरिक बनौं ।

          October 13, 2018 10:36 am | टप,विचार/ब्लग
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...