सुनको थाल बोकेर भिक्षा माग्दै हिंडिरहेका छौं हामी नेपाली

3 months अगाडी

नेपाल जेसीज यहाँका १८ देखि ४० वर्षसम्मका यूवामा सकारात्मक सोचको विकास गराई उनीहरुको नेतृत्व र व्यक्तित्व विकासमा समर्पित रहेको संस्था हो । नेपालमा यसको स्थापना सन् १९६४ भयो र हाल देशभरि यसका १५० भन्दा बढी शाखाहरु छन् ।

गत भदौं २२ र २३ गते नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सुरुङ्गा जेसीजको आतिथ्यमा झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा सम्पन्न भयो । नेपाल जेसीजका चार वटा क्षेत्र र राष्ट्रिय सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्षले तय गरेको नारामा जेसी युवालाई मन्तब्यका लागि प्रतिस्पर्धात्मक रुपमा भाग लिन आव्हान गरिन्छ र प्रोत्साहन स्वरुप पुरस्कार दिइन्छ । यस वर्षका राष्ट्रिय अध्यक्ष श्रीधर बत्स्यालले तय गरेको नारा ‘Yes we shine by raising responsibility’ भन्ने रहेको छ ।

मैले यसलाई यस्तो अर्थ लगाएँ । ‘हो, हामी चम्कन्छौ जिम्मेवारी बोध गर्दै’ अर्थात् यो राष्ट्र निर्माणमा हामी सम्पूर्ण नेपालीले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु पर्दछ । नेपाल सरकार, स्थानीय सरकार, कानून ब्यवसायी, होटल ब्यवसायी, पर्यटन ब्यवसायी, विद्यार्थी, कर्मचारी, किसान सबैले आप्mनो जिम्मेवारी इमान्दरीपूर्वक पूरा गरे हामी चम्कन कति पनि समय लाग्दैन । अथवा यो राष्ट्र चम्कन (निर्माण हुन) समय लाग्ने छैन ।

जेसीजको उक्त सम्मेलनमा नेपालको कम्युनिष्ट आन्दोलनमा विद्यावारिधी गरेका तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी र नेपाली कांग्रेसबाट डा. पुरञ्जन आचार्यलाई सुरुङ्गा जेसीजले मुख्य वक्ताका रुपमा निम्त्याएको रहेछ । म पनि संयोगवस पूर्व जेसीजको नाताले त्यहाँ पुग्ने मौका पाएँ र उहाँहरुको भनाई सुन्ने मौका पाएँ । उहाँहरु दुवैजनाको मन्तव्यको सार पनि त्यही थियो । हामीले हाम्रो मुलुकप्रतिको जिम्मेवारी पूरा गरे मुलुक समृद्ध हुन्छ, चम्कन्छ ।

आज पनि हामीसँग प्रशस्त खेतीयोग्य जमिन छन् । एउटै परिवारको स्वामित्वमा सयौं विगाहा उब्जाउयोग्य जमिन छ । तर सोही घरका युवा बरालिएर हिंड्छन भने तिनका बाबु जागिरको खोजीमा भौंतारिरहेका भेटिन्छन् । सबै मिलेर आफ्नो खेतीयोग्य जमिनमा नगदेबाली उब्जाउन लागि पर्दैनन् । बरु विदेश पलायन हुन्छन् र विदेशबाट कमाएको रकम पनि उत्पादनशिल क्षेत्रमा नलागई विलासी सामान खरिद गरी ऐयासी बन्ने प्रवृत्ति छ ।

विदेश जानेक्रमले गर्दा परिवारजनमा विकृति आएको छ । हामी जिम्मेवार बने आत्मनिर्भर बन्दै जाने र ब्यावसायिक बन्दै जाने सम्भावनाहरु प्रशस्त छ । अर्थात, हामी सुनको थाल बोकेर भिक्षा माग्दै हिंडिरहेका छौं । हामीसँग विश्वको सर्वाेच्च शिखर सगरमाथाका साथै ८००० मिटरभन्दा अग्ला आधादर्जन भन्दा बढी हिमालहरु छन् । जसले हामीलाई चम्काउँछ अर्थात् यहाँ प्रशस्त पर्यटकहरु हिमाल चढ्न तथा हेर्न आउँछन् । जसको लागि हामी नेपालीहरु, यहाँका पर्यटन व्यवसायीहरु, होटल व्यवसायीहरु जिम्मेवार बन्नै पर्छ । सरकारले शान्ति, सुरक्षाको प्रत्याभूति दिनै पर्छ ।

हामीसँग गौतम बुद्धको जन्मस्थल लुम्बिनी छ । त्यहाँ अब अन्तर्राष्ट्रिय विमानस्थल बने लगत्तै विश्वभरका बौद्ध धर्मावलम्बीहरुको आगमन उल्लेख्य रुपमा बढ्ने छ । तर विहान आएर दर्शन गरी त्यही दिन फर्कने सम्भावना बढी हुन सक्छ । ती पर्यटकहरुलाई २–४ दिन नेपाल मै घुम्ने फिर्ने वातावरण बनाउन सक्नु पर्छ । जसको लागि त्यहाँका पर्यटक व्यवसायीहरु, होटल ब्यवसायीहरु, स्थानीय सरकार, केन्द्र सरकार जिम्मेवार बन्नै पर्छ ।

त्रिभुवन विमानस्थल नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हो । तर यो विश्वको अति जोखिमपूर्ण विमानस्थलको सूची भित्र पर्दछ । जसले गर्दा पर्यटकको संख्या कम हुने नै भयो । तर अब बन्न लागेको निजगढको अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ–काठमाडौं द्रुतमार्ग भएमा पर्यटकको संख्या धेरै बढ्न सक्ने निश्चित छ । यसमा पनि हामी जिम्मेवार बन्नु पर्दछ । आज हाम्रा युवा सबै विदेशिएका छन् । अमेरिका, युरोपजस्ता देश गएका युवासँग आशा गर्नु नै बेकार छ । उनीहरुले कमाएको मुद्रा नेपालमा भित्राउँदैनन् ।

तर खाडी मुलुकमा गएको युवाबाट उनीहरुले आफ्नो घर चलाउन पठाएको रकम बाहेक अरु रकम हरेक महिनामा नेपाल सरकारले जिम्मा लिई विद्युत उत्पादनको क्षेत्रमा लगानी गर्न वातावरण मिलाएमा एउटा युवा १० वर्ष विदेशमा काम गरेर नेपाल फर्किए पछि उसले फेरि कमाउन कै लागि विदेशिनु पर्ने अवस्था पक्कै रहँदैन । यहीँ उ विद्युत कम्पनीको मालिक बनेर बसीबसी आफ्नो लगानीको प्रतिफलले परिवारसहित रहेर गुजारा चालउन सक्छ ।

त्यस्तै गरी नेपालमा पर्यटकलाई लोभ्याउने धेरै रमणीय स्थलहरु, पूराना मठ मन्दिरहरु, विभिन्न प्रकारका जडिबुटीहरु साथै अन्य पर्यटकीय सम्भावनाहरु भएका स्थान पनि प्रशस्त छन् । जसको पहिचान गरी ती जडिबुटीको खेती तथा निकासी गर्ने वातावरण सरकारले बनाउन जरुरी छ । नेपालका सबै नदीहरु हिमालबाट दक्षिण बग्ने हुँदा सबै पानी खान योग्य छन् । पानी कै उद्योगका लागि पनि विदेशी आकर्षण हुने सम्भावना प्रचुर छ । अबका दिनमा भारतमा खानेपानीको अभाव हुँंदैछ भन्ने सुनिँदैछ । भारतले त नेपालको खानेपानी सिधै पाइपलाइनबाट लान सक्ने भौगोलिक बनावटै छ । जसको लागि सम्पूर्ण नेपालीले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक कार्य गर्ने हो भने प्रशस्त आय आर्जन गर्न सकिन्छ । नेपाल विजुली उत्पादनको सम्भावनाको हिसाबले हेर्ने हो भने विश्वमै दोस्रो स्थानमा आउँछ । यहाँको विजुली निकाल्ने र भारत तथा अन्य छिमेकी मुलुकमा बिक्री गर्ने वातावरण मिलाउने हो भने हामी चम्कन्छौं र देश चम्कन्छ ।

यस क्रममा मलाई एउटा घटनाको याद आउँछ । वि.स. २०५१ को मध्यावधि आम निर्वाचन पछि नेपालमा एमालेको अल्पमतको एकमना सरकार बन्यो । त्यसभन्दा अघि नेपाली कांग्रेस नेतृत्वको सरकारका पालामा विश्व वैंकले अरुण तेस्रो जलविद्युत आयोजनामा लगानी गर्ने पक्कापक्की भएको थियो । जहाँ ४०२ मेगावाट क्षमताको विद्युत उत्पादन हुने निश्चित थियो । जुन विजुली आधा भारतलाई बेच्ने र आधा नेपालमा (त्यसताका नेपालको आवश्यकता अनुसार २०१ मेघावाट मात्र थियो) खपत गर्ने भनिएकोमा भारतले लिन मानेन । तर पनि विश्व बैंकले सम्पूर्ण क्षमताको लागि पूर्वाधार तयार पार्दै विजुली मात्र आधा उत्पादन गर्ने सम्झौताको तयारी अवस्थामा पुगेको बेला त्यसताकाको सरकारले विभिन्न झमेला निकालेकोले उक्त सम्झौता विश्व वैंकले रद्ध गरेको थियो ।

त्यसै बेला विराटनगरदेखि हिलेसम्म कयौ होटलहरुका लागि घरहरु बन्ने क्रम थिए । त्यति बेला म पनि अध्ययनका क्रममा विराटनगरमा नै बस्दै थिएँ । त्यति धेरै होटल खोल्नुको तात्पर्य बुझ्दा नेपालमा प्रसस्त विजुली हुने हुँदा करिब ३०० वटा विदेशी कम्पनीहरुले विभिन्न उद्योग संचालन गर्नका लागि नेपाल सरकारसँग अनुमतिसमेत लिइसकेका थिए भन्ने पत्रपत्रिका र पुस्तकहरुमा पनि पढ्न पाइन्थ्यो । त्यसताका मेरो दिमागमा यस्तो कुरा खेलेको थियोः २०१ मेघावाट विजुली उत्पादन पछिको ४०२ मेघावाट पावहरहाउस प्रत्यक्ष, विराटनगरदेखि अरुण तेस्रोसम्मको होटलहरुमा, त्यस बाटोमा चल्ने यातायातका साधनहरुमा, यहाँ खुल्ने करिब ३०० वटा वैदेशिक उद्योगहरुमा कति युवाले रोजगारी पाउन सक्छन् होला ! आफैं अनुमान लगाउन सकिन्छ ।

साथै राष्ट्रले पनि पक्कै खर्बौं ररुपैयाँ आम्दानी गर्न सक्ने थियो । त्यसताकाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि चुनावमा नगएर राजिनामा दिइ मार्ग प्रशस्त गरिदिएको भए कांग्रेसकै नेतृत्वको अर्काे सरकार बन्ने थियो भने अरुण तेस्रो पनि उम्कने थिएन होला । सायद माओवादी जन्मने पनि थिएन होला । त्यस पछाडि २०५६ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले दुर्गा सुवेदी मार्फत् माओवादीसँग वार्ता अगाडि बढाउन पाएको भए सात वर्ष अगाडि नै माओवादीको द्वन्द समाप्त भई २०६२÷०६३ सम्ममा मुलुकले अर्कै कोल्टे फेरिसकेको हुने थियो । तर यत्रा धेरै सम्भावनाहरु बोकेको हाम्रो देश हामी अल्मलिएका कारण पछाडि छ, हामी विचलित छौं, हराएका छौं र गैर जिम्मेवारी छौं ।

अब बितेका कुरा कोट्याउनु केही फाइदा छैन । ती सबै बिर्सिंएर नयाँ एवम् सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा जिम्मेवारीका साथ लागेमा देश बन्न केही पनि समय लाग्दैन । यो देश चम्कन्छ हामी चम्कन्छौं । ‘हो, हामी चम्कन्छौं, जिम्मेवारी बोध गर्दै’ भन्ने जेसीजको राष्ट्रिय अध्यक्षको यस नारालाई सफल पार्ने जिम्मेवारीको हामी युवाकै काँधमा छ । राज्यले यसलाई गम्भिरता पूर्वक बुझोस् ।

(लेखक दाहाल मनकामना कलेज बिर्तामोडका सहायक क्याम्पस प्रमुख तथा वीरता जेसीजका भूतपूर्व अध्यक्ष हुन् ।)

          September 29, 2018 8:43 pm | टप,विचार/ब्लग
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...